नवनियुक्त रजिस्ट्रार भण्डारीबाट पदभार ग्रहण

समाधान संवाददाता २०७८ वैशाख ८ गते १६:५१

समाधान संवाददाता, पोखरा ।

पोखरा विश्वविद्यालयका नवनियुक्त रजिष्ट्रार सह–प्राध्यापक डा. दीपकबहादुर भण्डारीले उपकुलपति प्रा.डा. प्रेमनारायण अर्यालको उपस्थितिमा मंगलबार रजिस्ट्रारको पदभार ग्रहण गरेका छन् । उनलाई आइतबार प्रधानमन्त्री एवम् पोखरा विश्वविद्यलयका कुलपति केपी शर्मा ओलीले पोखरा विश्वविद्यालय ऐन २०५३ बमोजिम रजिष्ट्रार पदमा ४ वर्षका लागि नियुक्ति गरेका थिए ।

लेखनाथमा अवस्थित पोखरा विश्वविद्यालयको सभाकक्षमा नवनियुक्त रजिष्ट्रार भण्डारीलाई स्वागत गर्दै विश्वविद्यालयका उपकुलपति प्राडा प्रेमनारायण अर्यालले धेरै समयको प्रतिक्षापछि विश्वविद्यालयले पूर्णकालीन रजिष्ट्रार प्राप्त गरेको उल्लेख गरे । उपकुलपतिले विश्वविद्यालयभित्रैबाट रजिष्ट्रार नियुक्ति हुनु एउटा सकारात्मक पक्ष भएको विचार राखे ।

Advertisement

विश्वविद्यालयलाई कसरी अगाडि लैजाने भन्ने विषयमा शिक्षक तथा कर्मचारीले देखाएको निरन्तर चिन्तनको प्रशंसा गर्दै उपकुलपति अर्यालले सबैमा सकारात्मक सोच र आपसी सहयोग भएमा विश्वविद्यालयको भविष्य उज्ज्वल रहेको पनि बताए ।

कार्यक्रममा बोल्दै विश्वविद्यालयका नवनियुक्त रजिष्ट्रार डा. दीपकबहादुर भण्डारीले विश्वविद्यालयलाई अउँदा दिनमा कसरी अगाडि लैजाने भन्ने विषयमा आफूले बिजनेस डेभलपमेन्ट प्लान बनाई अगाडि बढ्ने सुनाए । ‘म्यानेजमेन्ट कस्तो हुनुपर्छ, शिक्षा कस्तो हुनुपर्छ भन्ने कुरा देखेको छु, बुझेको छु,’ रजिष्ट्रार भण्डारीले भने, ‘त्यसै अनुरूप अगाडि बढ्ने प्रतिबद्धता गर्छु ।’

Advertisement

भण्डारीले पोखरा विश्वविद्यालयसित धेरै राम्रा शैक्षिक कार्यक्रम रहेको तर भौतिक पूर्वाधार पर्याप्त नभएकोले अपेक्षित प्रगति हासिल गर्न नसकेको उल्लेख गरे । ‘त्यसैले भौतिक पूर्वाधार निर्माण पहिलो प्राथमिकता हुन्छ,’ उनले भने ।

विश्वविद्यालयमा धेरै चुनौति रहेको स्वीकार गर्दै उनले असम्भव भन्ने केही नभएको तर सबैमा सकारात्मक सोचको खाँचो रहेको औल्याए । विश्वविद्यालय बनाउने हो भने म भए सबै ठिक अरू भए सबै बेठिक भन्ने सोँच परिवर्तन गर्नुपर्नेमा उनले जोड दिए । ‘हामी जति छौं, सबैको क्षमता चिनेको छु, देखेको छु, तर काम गर्ने वातावरण छैन,’ उनले भने, ‘सबै शिक्षक, कर्मचारी मिलेर वातावरण बनाउनुपर्छ ।’ सही व्यक्ति, सही ठाउँ, पुरस्कार दण्डको व्यवस्थालाई आफूले कडाइका साथ लागु गरेर देखाउने भण्डारीले बताए ।

स्वागत कार्यक्रममा पोखरा विश्वविद्यालय सेवा आयोगका अध्यक्ष सहप्राध्यापक रघुनाथ अधिकारी, निवर्तमान रजिस्ट्रारको जिम्मेवारी लिनुभएका स्कूल अफ हेल्थ एन्ड एलाइड साइन्सेजका प्रा.डा. विष्णुराज तिवारी, व्यवस्थापन संकायका डीन प्रा. हरिबहादुर खड्का, मानविकी तथा सामाजिकशास्त्र संकायेको डीनको जिम्मेवारीमा रहनुभएका सहप्राध्यापक डा. अजय थापा, स्कूल अफ डेभलपमेन्ट एण्ड सोसल इन्जिनियरिङका स्कूल निर्देशक डा. रामप्रसाद अर्याल, पोखरा विश्वविद्यालय प्राध्यापक संघका सभापति उपप्राध्यापक हेमराज पाण्डे, कर्मचारी संघका सभापति उपप्रशासक शिवराज पण्डितले विश्वविद्यालयको वर्तमान अवस्था, चुनौती र अवसरका बारेमा आ–आफ्नो विचार व्यक्त गरेका थिए ।

नवनियुक्त रजिष्टार भण्डारीले त्रिभुवन विश्वविद्यालयबाट एमबिएसमा स्नातकोत्तर र बित्तीय अर्थशास्त्रमा यू.के.बाट विद्यावारिधि गरेका छन् । विगत ११ वर्षदेखि उनले पोखरा विश्वविद्यालय स्कूल अफ बिजनेशमा सहप्राध्यापक पदमा कार्यरत रहँदै आएका छन् भने उनले पोखरा विश्वविद्यालयको विषम परिस्थितिमा नौ महिना रजिष्ट्रार भएर कार्यानुभव समेत लिएका छन् । उनले व्यवस्थापन संकायमा डीन र सहायक डीनको पदमा रहेर पनि कार्य गरिसकेका छन् । विश्ववद्यालयका पदाधिकारी, शिक्षक तथा कर्मचारी उपस्थिति रहेको उक्त कार्यक्रमको सञ्चालन सहप्रशासक तारादेवी सापकोटाले गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया