पोखराका विद्यालयले वार्षिक परीक्षा वैशाखभित्रै सक्नुपर्ने

समाधान संवाददाता २०७८ वैशाख ८ गते २१:१७
sdr

समाधान संवाददाता, पोखरा

कोरोनाको जोखिम बढेपछि सरकारले विद्यालय बन्द गरे पनि पोखरा महानगरपालिकाले वार्षिक परीक्षा भने नरोक्ने निर्णय गरेको छ ।

नगरपालिकाको शिक्षा महाशाखाले स्वास्थ्य मापदण्ड पालना गरेर वार्षिक परीक्षा सञ्चालन गर्न सबै विद्यालयलाई निर्देश गरेको छ । नगरपालिकाको शिक्षा समितिले ५ वैशाखमा गरेको निर्णय अनुसार नै सबै परीक्षा हुने भएको छ ।

Advertisement

१० वैशाखपछि वैशाख मसान्तसम्म सबै विद्यालयको वार्षिक परीक्षा गर्ने निर्णय भएको महानगरको शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले जानकारी दिए । बढी भीडभाड हुन नदिन आवश्यकता अनुसार २ वा ३ सिफ्टमा परीक्षा गरिने उनले बताए ।

कक्षा ८ को नगरस्तरीय परीक्षा भने पूर्वनिर्धारित ३ जेठमै गर्ने निर्णय पनि बैठकले गरेको छ । ‘तर, कोरोनाको जोखिम बढ्दै गए कार्यतालिका समितिको निर्णयअनुसार फेरबदल हुनेछ,’ निर्देशनमा भनिएको छ ।

Advertisement

जेठ महिनालाई नतिजा प्रकाशन र आगामी शैक्षिक सत्र सञ्चालन सम्बन्धि कार्ययोजनामा खर्चिने निर्णय भएको छ । परीक्षाअघि भौतिक कक्षा सञ्चालनमा रोक लगाइएको छ । कक्षा सञ्चालन गर्न परे अनलाइन माध्यम प्रयोग गर्न सकिने महाशाखा प्रमुख आचार्यले बताए ।

तपाईको प्रतिक्रिया