मेयरको निर्देशन – फेवा किनारको पर्खाल भत्काइदिनू

समाधान संवाददाता, पोखरा
फेवातालको मापदण्डमा पर्ने गरी लगाइएको रिटेनिङ पर्खाल भत्काइने भएको छ । मेयर मानबहादुर जिसीले प्रशासनसँग सहकार्य गरेर पोखरा १८ खपौंदीमा बनाइएको पर्खाल भत्काउन महानगरको विपद व्यवस्थापन तथा निरीक्षण महाशाखा प्रमुख वरिष्ठ कानुन अधिकृत नारायण शर्मालाई बुधबार निर्देशन दिएका छन् ।
सौन्दर्यकरणको नाममा ताल नै मिचेर पर्खाल लगाइएकोबारे ध्यानाकर्षण गराउन नागरिक समाज कास्कीको टोलीलेबुधबार मेयर जिसीलाई भेटेको थियो । मेयर जिसीले आफूहरुले सम्बन्धित जग्गाधनीको ध्यानाकर्षण गराए पनि अटेर गरेकाले अब पर्खाल भत्काइने बताए ।
‘पहिला पनि डोजर चलाएको हो । म आफैं गएर सामान जफत गरेरल्याएको छु,’ मेयर जिसीले प्रमुख शर्मालाई निर्देशन दिँदै भने, ‘जिल्ला प्रशासनसँग समन्वय गरेर जेसिबी लगेर भत्काइदिनू ।’
महाशाखा प्रमुख शर्माले प्रक्रिया पु-याएर १/२ दिनमै पर्खाल भत्काइने बताए । बाँध मर्मतका लागि पानी घटेको मौकामा पोखरा–१८ खपौंदीस्थित फेवाताल किनारमा रिटेनिङ पर्खाल लगाउने काम जारी छ । अहिले काम भइरहेको ठाउँ त्यही हो, जहाँ मेयर मानबहादुर जिसी, उपमेयर मन्जुदेवी गुरुङसहितको टोलीले २८ मंसिरमा डोजर चलाएको थियो ।
८ जना व्यक्तिले संरचना बनाइरहेको पाएपछि महानगरको टोली २७ र २८ मंसिरमा खपौंदी क्षेत्र पुगेको थियो । संरचना नबनाउने भन्दै कागज नै गराइएकोथियो । कागजी सम्झौता पालना नगरेपछि महानगरले २८ मंसिरमा १५ ट्रिप ढुंगा, केही थान त्रिपाल र जाली जफत गरेको थियो ।
कुनै संरचना नबनाउने सर्त भए पनि स्थानीय होटल व्यवसायीले अहिले करिब २ फिट अग्लो डेढ सय मिटर लामो पर्खाल लगाइसकेका छन् । नागरिक समाजसँग बुधबार भएको भेटमा मेयर जिसीले मापदण्ड पनि छिट्टै टुंग्याइने बताए । महानगरले फेवातालको मापदण्ड नतोक्दा फेवाताल मिचेर संरचना बनाउने काम रोकिएको छैन ।
फेवाताल किनारबाट ६५ मिटर दुरीसम्म कुनै संरचना बनाउन पाइँदैन । त्यसरी बनाइएका संरचनामा बेलाबखत पोखरा महानगरले डोजर चलाउँछ । एकपटक डोजर लगाइसकेको ठाउँमा स्थानीयले फेरि संरचना बनाएका हुन् । नागरिक समाजको दबाबपछि मेयर जिसीले फेवाताल मिच्न बनाइएको पर्खाल भत्काउन निर्देश गरेका हुन् ।
फेवातालको नक्सांकन र सीमांकन ३ महिना पहिल्यै सकेको चार किल्ला निर्धारण, नक्सांकन तथा सीमांकन समितिले अहिले दूषित जग्गा पहिचान गरिरहेका बेला ताल किनारमा व्यवसायीले पर्खाल लगाएका हुन् ।
फेवातालको चार किल्ला पूर्वमा ड्यामसाइड, पश्चिममा मोरेबगर, उत्तरमा खपौंदी–चंखपुरबीचको दम्किलो र दक्षिणमा चिसापानी रानीवन कायम गरिएको छ ।
अब महानगरपालिकाले ४ किल्लाबाट कति मिटरसम्म कुनै संरचना बनाउन नपाइने हो भन्ने मापदण्ड तोक्दैछ । मापदण्ड तोक्न सर्वाेच्च अदालतले महानगरपालिकालाई आदेश गरेको थियो ।








पोखराबाट भारतीय सहरमा सिधा उडान भर्न मुख्यमन्त्रीको आग्रह
जलविद्युत् आयोजनाले गाउँ धुलाम्मे : हरियाली वनपाखा र बगैंचाभरि धुलो, स्थानीयलाई सास्ती
राजनीतिक स्थिरता नभए मुलुकमा संकट निम्तने मुख्यमन्त्री पाण्डेको चेतावनी
चुनाव आउन ७६ दिन बाँकी : समानुपातिक सिटको प्रतिशत हेरफेर गर्न अध्यादेश सिफारिस
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया