मुक्तिनाथ मन्दिर वैशाख मसान्तसम्म बन्द

समाधान संवाददाता २०७८ वैशाख ९ गते १३:४३

सुन्दरकुमार थकाली, जोमसोम

प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ मन्दिर शनिबारदेखि बन्द हुने भएको छ । कोभिड—१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) मुस्ताङको बुधबार बसेको बैठकले वारागुङ मुक्तिक्षेत्र—१ मा अवस्थित साे मन्दिर वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको हो ।

कोभिड—१९ को जोखिम बढ्नसक्ने सम्भावना भएकाले मुक्तिनाथ मन्दिरसहित जिल्लाका मठ मन्दिर, गुम्बा र चर्च लगायत धार्मिक स्थलमा गरिने नियमित नृत्य पूजा, ध्यान र प्रार्थनाबाहेक अन्य गतिविधि सञ्चालन बन्द गर्ने निर्णय भएको मुस्ताङका निमित्त प्रमुख जिल्ला अधिकारी जगदी अर्यालले जानकारी दिए ।

Advertisement

गण्डकी प्रदेशका सांसद महेन्द्रबहादुर थकालीको विशेष उपस्थितिमा जिल्ला स्वास्थ्य कार्यालय, अन्नपूर्ण संरक्षणक्षेत्र आयोजना (एक्याप), जिसस मुस्ताङ, जिल्ला अस्पताल जोमसोम, तीनवटै सुरक्षा निकायका प्रमुख र पत्रकार लगायतको उपस्थिति बैठकले ४ बुँदे निर्णय गरेको छ ।

यसअघि चैत्र १२ गते बसेको सिसिएमसीको बैठकबमोजिम म्याग्दी र मुस्ताङको सीमावर्ती क्षेत्र घासा र जोमसोम विमानस्थलमा सञ्चालन भएको हेल्थ डेस्कलाई पुनः निरन्तरता दिने निर्णय गरेको छ ।

Advertisement

सोही बैठकको निर्णय अनुसार मुस्ताङका ५ वटै स्थानीय तहमा क्वारेन्टाइन र आइसोलेसन कक्ष उपलब्ध गराउन ५ वटै स्थानीय तहसँग समन्वय गर्ने जनाइएको छ ।

सिसिएमसी मुस्ताङले नेपाल सरकार मन्त्रिपरिषदको बैठक गत वैशाख ६ गते कोभिड—१९ रोकथाम तथा नियन्त्रणका लागि गरिएको निर्णयलाई तत्काल कार्यान्वयनका लागि जिल्लाका स्थानीय तहमा लेखी पठाउने जनाइएको छ ।

समितिले नेपाल सरकारले निर्देशन गरेको कोभिड—१९ माहामारीको जोखिम नियन्त्रणका लागि अपनाइने सम्पूर्ण जनस्वास्थ्यका मापदण्ड कार्यान्वयनमा ल्याइने बताइएको छ ।

समितिले दुरदराजको जिल्ला मुस्ताङमा टाढा–टाढाबाट दर्शनका लागि मुक्तिनाथ आएका तीर्थालुको समस्या र कोभिडको उच्च जोखिम बढ्ने सम्भावनालाई मध्यनजर गर्दै शनिबारदेखि जिल्लाका सबै धार्मिक स्थलको औपचारिक कर्म बन्द गरिएको हो ।

पछिल्लो समय नेपालमा कोभिड—१९ को दोस्रो लहर भयावह रुपमा फैलिए पनि चैते दसैं औंसीदेखि रामनवमीसम्म हजारौंको संख्यामा श्रद्धालु भक्तजन मुस्ताङ आइरहेका छन् ।

मुक्तिनाथमा चैते दसैं औंसीदेखि रामनवमीसम्म करिब ५० हजार धार्मिक पर्यटक मुस्ताङ भित्रिएको अनुमान गरिएको छ । छिमेकी देश भारत लगायत नेपालका विभिन्न जिल्लाबाट धार्मिक पर्यटक मुस्ताङ भित्रिएपछि मुस्ताङमा कोभिडको जोखिम बढेको हो ।

यसअघि जिल्ला सीसीएमसी, मुक्तिनाथ विकास समिति, स्थानीय तह र स्थानीयबासी बीच मुक्तिनाथमा कोभिड—१९ रोकथाम तथा नियन्त्रणका लागि गरिएको स्वास्थ्य सुरक्षा मापदण्ड पालना नहुँदा समस्या थपिएको हो ।

म्याग्दी र मुस्ताङको सीमानाकाको घासा प्रहरी चेकपोष्टमा समेत कोरोना रोकथामका लागि कुनै पहल नहुँदा कोरोनामुक्त मुस्ताङमा कोभिडको जोखिम बढेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया