सय वर्षे इतिहासलाई निरन्तरता दिँदै कालिका मन्दिरमा पूजा

समाधान संवाददाता २०७८ वैशाख १० गते ७:५१

समाधान संवाददाता, पोखरा

पोखरा महानगरपालिका वडा नं ३२ कालिका नगरस्थित ऐतिहासिक धार्मिक पर्यटकीय तीर्थस्थल कालिका मन्दिरमा सय वर्ष अघिको इतिहासलाई निरन्तरता दिँदै चैते दसैं विशेष पूजा गरिएको छ ।

सय वर्षअघि समाजसेवी भीमबहादुर बस्नेतको सक्रियतामा स्थानीयवासीको सुख, शान्ति र समृद्धिको कामना सहित स्थापित मन्दिरलाई त्यस यता समाजका हरेक व्यक्ति, संघ संस्था एवम् समूहको साझा प्रयासमा व्यवस्थित गर्दै पूजाआजालाई निरन्तरता दिँदै आइएको छ ।

Advertisement

मन्दिरमा प्रत्येक वर्षको आश्विन शुक्ल पक्ष(बडा दसैं) का साथै चैते दसैंमा विशेष पूजाआजा गर्ने गरिएको स्थानीय बुद्धिजीवी विष्णुबहादुर बस्नेतले जानकारी दिए ।

सय वर्षदेखिको इतिहास र परम्परालाई निरन्तरता दिदै यस वर्ष पनि चैते दसैंका अवसरमा मन्दिरमा विशेष पूजाआजा गरिएको बताउँदै उनले उक्त पूजामा पोखरा–३२ सहित आसपासका भक्तजनहरू उपस्थिति रहेको जानकारी दिए ।

Advertisement

मनोकामना पूरा हुने जनविश्वासका कारण कालिका मन्दिरको आस्था र विश्वास दिनानुदिन बढीरहेको बताउँदै उनले यसको समग्र विकासका लागि स्थानीय संघ संस्था, क्लब, आमा समूह एवम् स्थानीय तहको साझा प्रयास आवश्यक हुने बताए ।

पृथ्वी राजमार्ग अन्तर्गत लामेआहालबाट करिब तीन सय मिटर उचाइमा रहेको कालिका मन्दिरलाई यस क्षेत्रको आकर्षक धार्मिक पर्यटकीय गन्तव्य बनाउन सकिने स्थानीयवासी बताउँछन् ।

प्रगतिशील सामुदायिक वन क्षेत्र अन्तर्गत उत्तरी भेगमा रहेको यस मन्दिरमा मनले चिताएको पुग्ने विश्वासका कारण पछिल्ला वर्षमा भाकल पूजासहित आउनेको क्रम पनि बढ्दै गएको छ ।

तपाईको प्रतिक्रिया