काभ्रेभीरमा मोटरसाइकल खस्दा चालकको घटनास्थलमै मृत्यु

सुन्दरकुमार थकाली, जोमसोम ।
हिमाली जिल्ला मुस्ताङ र म्याग्दीको सीमाना काभ्रेभीरमा शुक्रबार मोटरसाईकल दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।
मुस्ताङको पवित्र धार्मिक स्थल मुक्तिनाथ दर्शनका लागि मुस्ताङतर्फ आउदै गरेको ग १८ प १५९७ नंम्बरको मोटरसाईकल सडकबाट अनियन्त्रित भई १५० मिटर तल कालिगण्डकी खोंचमा खस्दा कास्की जिल्ला पोखरा महानगर पालिका—७ हेम्जा बस्ने अन्दाजी वर्ष ३८ का शिवहरी पौडेलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक आशिष अधिकारीका अनुसार मुस्ताङतर्फ आउँदै गरेको उक्त मोटरसाईकल गुडिरहेको अवस्थामै अन्दाजी दिउँसो साँढे एक बजे अनियन्त्रित भई दुर्घटना भएको जनाईएको छ । मुस्ताङ आउँदै गरेको उक्त मोटरसाईकलमा चालक एकजना मात्र सवार रहेको बुझिन आएको छ ।
मुस्ताङ र म्याग्दीको अत्यन्तै जोखिमयुक्त प्रवेशद्धारा काभ्रेभीर सडकमा मोटरसाईकल दुर्घटना भएको खबर प्राप्त गरेपछि जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायव उपरिक्षक नविकृष्ण भण्डारीसहितको प्रहरी टोली घटनास्थलमा पुगेको थियो । यस्तै , दुर्घटनपछि घाँसा स्वास्थ्य चौकीको टोली सो स्थानमा पुगेको थियो ।
अहिले प्रहरीले दुर्घटनामा परी मृत्यु भएका पौडेलको शवको कानुनी प्रक्रियाका लागि मुचुल्का उठाउने काम भईरहेको जनाईएको छ ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङले दुर्घटनापरी मृत्यु भएका पौडेलको दुर्घटना सम्वन्धि आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ ।
तपाईको प्रतिक्रिया