बागलुङका अधिकांश स्थानीय सरकार दमकलविहीन

समाधान संवाददाता २०७८ वैशाख १० गते १७:४९

खेमराज गौतम, गलकोट

गत मंसिर १६ गते बागलुङ बजारको अस्मिता कपास उद्योगमा आगलागी भयो।

आगलागी हुनासाथ बजारको दमकललाई खबर गरियो। तर आगो दन्किरह्यो, दमकल भने आएन। आगलागीबाट कपास उद्योग पूरै जलेर लाखौंको क्षति भयो।

Advertisement

त्यसबखत नगरपालिकाको दमकल बिग्रिएर आउन नसकेको नगरपालिकाले जानकारी दियो। दश स्थानीय तह भएको बागलुङमा एकमात्रै दमकल हुँदा समस्या भएको छ।

गत चैतमा मात्रै बागलुङ बजारमा तीन ठूला आगलागीका घटना भए। बजारको ग्रिल एण्ड चिल रेष्टुराँमा आगलागी हुदा १२ लाखको क्षति भयो भने सिर्जना फर्निचरमा आगलागी हुँदा छिमकको दुई घरमा समेत क्षति पुर्‍यायो।

Advertisement

फर्निचरमा लागेको आगलागी नियन्त्रणमा लिन नगरपालिकाको दमकलले नसकेपछि पर्वतको कुस्मा नगरपालिका र म्याग्दीको बेनी नगरपालिकाको दमकलसमेत झिकाइयो।

त्यसलगत्तै बागलुङ बजारको मुख्य चोकमा रहेको श्रेष्ठ हार्डवयरमा आगलागी हुँदा रु ३० लाख बढीको क्षति भयो।

हार्डवयर पसलको आगलागी नियन्त्रणमा समेत नगरपालिकाको दमकलको पानीले नपुग्दा पुनःपानी ल्याउन जानुपर्ने अवस्था आएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिए।

गलकोट, ढोरपाटन, जैमिनी नगरपालिका, काठेखोला, ताराखोला, निसिखोला, तमानखोला, बढीगाड र बरेङ गाउँपालिकामा दमकल छैनन्।

पछिल्लो समय बागलुङमा आगलागीका घटना बढ्दै गए पनि स्थानीय तहले दमकल खरिदमा चासो दिएका छैनन्।

जिल्लाको दोस्रो ठूलो सहरका रूपमा रहेको ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिवाङ, गलकोट बजार, खर्बाङ, कुस्मिशेरा, अक्षेते र बरेङ बजारमा आगलागी भएमा आगलागी नियन्त्रणमामा निकै समस्या छ।

स्थानीय सरकारले विकास निर्माणका लागि डोजर खरीद गर्नु राम्रो भए पनि एम्बुलेन्स र दमकल अपरिहार्य भएको अधिकारकर्मी राम शर्माले बताए।

‘सडक बन्द हुँदा डोजर चाहिन्छ, अहिले विकास निर्माण गर्न डोजर नचाहिने कुरै भएन तर स्थानीय तहको ध्यान दमकल, एम्बुलेन्स जस्ता अत्यावश्यक सवारी खरिद गर्नुपर्दछ’, शर्माले भने, ‘हैन भने स्थानीय सरकारको दायित्वभित्र रहेको जनताको जीउधनको सुरक्षाको जिम्मा कसले लिने रु’

आगलागी नियन्त्रणका लागि अत्यन्तै आवश्यक रहेको दमकल बजेट विनियोजन गरेर स्थानीय तहले खरीद गर्दा ठूलो जनधनको क्षति हुनबाट रोक्न सकिने जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुङ्गानाले बताए।

दमकल भएको बागलुङ नगरपालिकामा पनि जनशक्तिलगायतका कारण तत्काल आगलागी नियन्त्रणमा समस्या देखिने गरेको छ। बागलुङमा चार नगरपालिका र छ गाउँपालिकाका मुख्य बजार क्षेत्रमा दमकल पुग्नसक्ने सडक सञ्जाल छ।

अहिलेसम्म दमकलको आवश्यकता महशुस नभएको काठेखोला गाउँपालिकाले जनाएको छ।

स्रोत र साधनको अभावसँगै गाउँपालिकाभर दमकल पुग्ने सडक नभएका कारण खरिद गर्ने योजना नरहेको काठेखोला गाउँपालिकाका अध्यक्ष अम्मरबहादुर थापाले बताए।

अन्य स्थानीय तहमा आगलागी हुँदा बागलुङ नगरपालिकाको दमकल गुहार्नुपर्ने अवस्था छ।

आगलागीका घटनामा अन्य स्थानीय तहलाई समेत सहयोग गर्दै आएको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताए। रासस

तपाईको प्रतिक्रिया