साढे ४ महिनासम्म बेवारिस विप्लव समूहका नेताको शव

समाधान संवाददाता २०७८ वैशाख ११ गते १३:०७

कारागारमा रहेका व्यक्तिको बिरामी परेर कसरी ज्यान गयो भन्ने यथार्थ नबुझी शव बुझ्न नसकिने परिवारको मागमा बेवास्ता

अमृत सुवेदी, पोखरा

पछिल्लो वर्ष पुसअघिका धेरैजसो महिना म्याग्दीका जगेन्द्र पुनले न घर भन्न पाए न निर्धक्क हिँडडुल गर्न ।

प्रहरी हिरासत र कारागारका चिसा छिँडीमै उनले जीवनको उत्तराद्र्ध बिताउनुप¥यो ।

नेत्रविक्रम चन्द नेतृत्वको तत्कालीन प्रतिवन्धित माओवादीमा लागेको भन्दै उनी प्रहरीबाट ८ पटकसम्म पक्राउ पर्ने र छुट्ने क्रम चलिरह्यो ।

यतिसम्मकै अदालतले धरौटीमा छोड्न आदेश दिन्थ्यो तर जगेन्द्रसँग बुझाउने पैसा हुँदैनथ्यो ।

जसका कारण उनको जग्गासमेत रोक्का हुँदा परिवारलेसमेत दुख र सास्ती खेपिरहेको थियो ।

जगेन्द्रले भोगेको जीवनको चिन्ताकै कारण गएको कात्तिकमा उनकीश्रीमतीको मृत्यु भइसकेको वेदना परिवारसँग थियो ।

त्यसको २ महिनापछि जगेन्द्रको परिवारलाई अर्को वज्रपात प¥यो । अदालतले छाड्न आदेश दिएलगत्तै जगेन्द्र ९ औंपटक पक्राउ परी जिल्ला कारागार पर्वतमा थिए ।

विभिन्न मुद्दामा पक्राउ पर्दै–छुट्दै आएका जगेन्द्र अभद्र मुद्दामा दोषी ठहर भएका जगेन्द्र कारगारमै ढले । ५४ वर्षीय जगेन्द्रलाई उच्च रक्तचापले हानेपछि मंसिर २४ गते अस्पताल ल्याइपु¥याइयो ।

तर, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको भेन्टिलेटरले पनि जगेन्द्रलाई बचाउन सकेन ।

कारागारमै ढलेका जगेन्द्रको उपचारमा परिवार र कारगारबीच पनि समयमै समन्वय हुन पाएन । कात्तिक २९ गते जगेन्द्रले भेन्टिलेटरमा ज्यान गुमाए ।

प्रतिबन्धित समूहमा लागेको आरोपमा हुर्मत खेपेका जगेन्द्र कारागारबाट घर फर्किन त पाएनन्, मरेपछि पनि उनको शव वेवारिस नै बन्यो ।

जगेन्द्रको मृत्यु भएको अहिले साढे ४ महिना बितिसकेको छ तर उनको देह पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको शवगृहमै छ ।

जुन पार्टीमा लागेर जगेन्द्रले हुर्मत खेपे, जेल–नेल हुँदै मृत्युवरण नै गरे, अहिले त्यो पार्टी शान्ति प्रक्रियामा आइसकेको छ ।

फागुन २१ गते विप्लव समूह प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारसँग सम्झौता गरेर शान्तिपूर्ण राजनीतिमा फर्किइसकेको छ । तर, त्यही समूहका तत्कालीन म्याग्दी जिल्ला जनसरकार प्रमुख जगेन्द्र भने शवगृहमै अलपत्र छन् ।

कारागारमै ढलेका जगेन्द्रको उपचारमा ढिलाइ गरिएको, अस्पताल ल्याउनुपर्नेमा कारागार सार्ने प्रक्रियामा लागेर हेलचक्याइँ गरिएको र नियत राखेरै ज्यान गएको भन्दै उनको परिवारले शव बुझ्न मानेनन् ।

घटनाको अनुसन्धान गरेर न्याय दिलाउन माग गर्दै जगेन्द्र परिवारले मानव अधिकार आयोज, इन्सेक लगायतको संस्था पनि गुहा¥यो ।

घटनाको यथार्थ सार्वजनिक भएपछि मात्रै शव बुझ्ने भनेर म्याग्दी गएका परिवार अहिलेसम्म पनि पोखरा फर्किनन् । जगेन्द्रको मृत्युबारे न राज्यले जिम्मेवारी लियो न परिवारले नै शव बुझे ।

‘थुनामै रहेका जगेन्द्रको उपचारका लागि कारागार पर्वत र कास्की समन्वय गर्नुपर्ने भएकाले विभागकै समन्वयमा हामीले बुझेका थियौंं,’ कास्की कारागारका जेलर केशव लामिछानेले भने, ‘अप्रेसन गर्न जिम्मा लिने मान्छे नै भएनन्, त्यो बेला । बिरामीको अवस्था गम्भीर भएपछि भेन्टिलेटरमै राख्नुप¥यो तर बचाउन सकिएको थिएन ।’

मानव अधिकार आयोग, इन्सेक लगायत संस्थालाई जवाफ पनि लेखेर पठाइएको र अब परिवारले शव नबुझ्ने भए राज्यले नै अन्त्येष्टि गर्ने भनेपछि परिवार सम्पर्कमा आइपुगेको जेलर लामिछानेले बताए ।

सरकारको नियन्त्रणमा रहेका व्यक्ति बिरामी परेर ज्यान गुमाउनुपर्ने अवस्था कसरी आयो त्यसको यथार्थ बताएपछिमात्रै शव बुझ्ने माग आफूहरुले राख्दा राज्यबाटै बेवास्ता गरिएको जेठा छोरा जेठा छोरो तेजेन्द्रको आरोप छ ।

‘कुन बेला बिरामी परेर कतिबेला अस्पताल ल्याइएको हो । सुरुमा ढल्दाको अवस्था र अस्पतालसम्म आइपु¥याउँदाको यथार्थ बताइदिनुस् भन्ने हाम्रो माग थियो,’ तेजेन्द्रले भने, ‘उपाचारमा ल्याउनुपर्ने व्यक्तिलाई कारागारतिर दौडाइएको थियो । तर, राज्यले कुनै सुनुवाइ गरेन ।’

राजनीतिक प्रतिशोधकै कारण बुबाको ज्यान गएको र परिवारसँग धेरै पछिसम्म जोडिने विषय भएको तर बेवास्ता गरिएको उनको भनाइ छ । ‘कि यो हो भन्नुप¥यो । कि दोषीमाथि कारबाही हुनुप¥यो । तर, राज्यबाट कुनै पनि रेस्पोन्स नै भएन,’ तेजेन्द्रले भने ।गृहमन्त्री रामबहादुर थापाले यो विषयलाई राज्य व्यवस्था तथा सुशासन समितिमा पनि उठाएको कास्की जिल्ला कारागारले जनाएको छ ।

यो विषय जिल्ला र प्रदेशभन्दा पनि संघीय सरकारले हेर्नुपर्ने विषय भएको उसको भनाइ छ ।

जगेन्द्रको मृत्युपछि गत पुस ३० गते नै पर्वत जिल्ला काराकारमा लगत कट्टा गर्न सिफारिस गरिएको जेलर लामिछानेले जानकारी दिए । धरौटी तिर्न नसकेर रोक्का भएको जमिन पनि फुकुवा त भइसकेको छ तर परिवारले जगेन्द्रको मृत्युको कारण थाहा नपाउँदा शव उठाउन नसकेको गुनासो छ ।

म्याग्दी मालिका गाउँपालिका वडा नम्बर ३ अधिभारामा ९ फागुन २०७६ मा जगेन्द्र पक्राउ परेका थिए । जगेन्द्रलाई अभद्र मुद्दामा घरमा सुतिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो ।

उनलाई चैत १८ गते १८ हजार रुपैयाँ धरौटीमा रिहा गरियो तर त्यसको लगत्तै गौ–वध मुद्दामा पक्राउ गरिएको परिवारले बताएको छ ।

सो मुद्दामा ५४ हजार धरौटी तिरेर १८ असोज २०७७ मा जगेन्द्रलाई रिहाई गर्ने फैसला भयो । फेरि अभद्र मुद्दामा पक्राउ गरी जगेन्द्रलाई थुनामा राखिएको र १ लाख १८ हजार धरौतीमा रिहाइ गर्ने फैसला भएकोे परिवारको भनाइ छ ।

धरौटी तिर्ने रकमसमेत नभएपछि जगेन्द्रको नाममा रहेको जग्गा जिल्ला प्रशासन कार्यालय म्याग्दीको पत्रानुसार मालपोतमा जग्गा रोक्का गरी उनलाई रिहा गरिएको थियो ।

अभद्र मुद्दामा पक्राउ परेका जगेन्द्रलाई जिल्ला अदालत पर्वतले ५४ हजार रुपैयाँ धरौटीमा रिहा गर्ने फैसला गरेको र धरौटी तिर्न नसकेपछि थुनामा राख्ने आदेश भएको परिवारले बताएको छ ।

अदालतले छाड्ने आदेश दिएर पनि धरौटी तिर्न नसक्दा फेरि जेल चलान भएका जगेन्द्रले घर फर्कनै नपाईमृत्युवरण गरे ।

जिल्ला कारागार कास्कीले शव बुझ्न बोलाएपछि जगेन्द्रका छोरासहित परिवार फेरि पोखरा आइपुगेका छन् ।

तर, उनीहरुले यथार्थ जानकारी नपाएसम्म शव नबुझ्ने बताइरहेको भए पनि छलफलपछि शनिबार सहमति जुट्ने कास्की जेलर लामिछाने जानकारी दिए ।

जगेन्द्रका ४ छोरा छन् । राज्यले जवाफ दिन्छ कि निमुखालाई दबाउँछ त्यो पर्खेर बसेको उनीहरुले बताएका छन् ।

तपाईको प्रतिक्रिया