गण्डकीमा सत्ता संकटः आज ४ दलकाे बैठक बस्दै, के गर्ला जनमाेर्चा

समाधान संवाददाता २०७८ वैशाख ११ गते १९:५४

समाधान संवाददाता, पाेखरा ।

गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्विसुब्बा गुरुङ विरुद्द दर्ता भएकाे अविश्वासकाे प्रस्तावमाथि छलफल गर्न बैशाख १३ गतेबाट गण्डकी प्रदेश सभाकाे विशेष अधिवेशन बस्दैछ ।

नेकपा एमाले बाहेकका सबै दल एकै ठाउमा बसेमा मात्रै गुरुङ सरकार विस्थापन गर्न सकिने भएकाले अझै पनि के हुुन्छ भन्ने कुरामा दुवै पक्ष ढुक्क हुन सकेका छैनन् ।

Advertisement

अविश्वासकाे प्रस्तावका नेतृत्व गरेकाे कांग्रेसले अन्य दलहरुसंग छलफल जारी राखेकाे छ ।

यसैबीच नेपाली कांग्रेस कै आयाेजनामा आज आइतबार चार दलकाे बैठक राखिएकाे छ । कांग्रेस सभासद कुमार खड्काले साेही बैठकबाट सबै पिक्चर क्लियर हुने बताए । ४ दलकाे बैठक आयाेजना गरिएकाे कुराकाे माआेवादी संसदीय दलका नेेता हरिबहादुर चुमानले पनि पुष्टि गरेका छन् ।

Advertisement

तर याे बैठकमा जनमाेर्चा सहभागी हुने नहुने अझै टुङ्गाे छैन् । शनिबार साँझ समाधानलाई छाेटाे प्रतिक्रिया दिने क्रममा जनमाेर्चाका संसदीय दलका नेता कृष्णबहादुर थापाले हामी बैठकमा किन सहभागी हुनु पराे भन्दै उल्टै प्रश्न गरे । उनले आफूहरु सत्ता परिवर्तन भएपनि मन्त्री नहुने भएकाले बैठकमा सहभागी हुनु र नहुनुकाे अर्थ नरहेकाे बताए ।

जनमाेर्चाकाे स्थानीय नेता कांग्रेसकाे नेतृत्वमा बन्ने सरकारलाई समर्थन गर्ने पक्षमा नभएपनि केन्द्रीय नेतृत्व गुरुङ सरकारकाे विपक्षमा प्रष्ट देखिएकाे छ । यसैले उनीहरुले केन्द्रीय नेतृत्वकाे निर्देशन ताेड्न सक्ने अवस्था नभएकाे बताइन्छ ।

३ सांसद भएकाे जनमाेर्चा निर्णायक छ । एमालेकाे पक्षमा २८ सांसद भएकाे गण्डकी प्रदेश सभामा कांग्रेस, माअाेवादी र जसपा गरी २८ सांसद छन् ।

यसअघि पर्सी साेमबारदेखि सुरु हुने विशेष अधिवेशन कसरी अघि बढाउने भन्ने बारेमा छलफल गर्न आइतबार नै कार्य व्यवस्था परामर्श समितिकाे बैठक आयाेजना गरिएकाे छ । याे समितिमा सबै दलकाे प्रतिनिधित्व छ ।

यही बैठकले अविश्वास प्रस्ताव कसरी अघि बढाउने र छलफल तथा मतदानकाे कार्यतालिका ताेक्न सक्ने बताइएकाे छ ।

तपाईको प्रतिक्रिया