४ महिनापछि उठ्यो विप्लव नेताको शव

समाधान संवाददाता २०७८ वैशाख १२ गते २२:०५

समाधान संवाददाता, पोखरा

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका तत्कालीन म्याग्दी जनसरकार प्रमुख जगेन्द्र पुनको शव साढे ४ महिनापछि बल्ल परिवारले बुझेको छ ।

मंसिर २४ गतेजिल्ला कारागार पर्वतमा उच्च रक्तचापले ढलेका जगेन्द्रको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मंसिर २९ गते मृत्यु भएको थियो ।

Advertisement

विप्लव नेतृत्वको नेकपामा आवद्ध जगेन्द्रलाई विभिन्न आरोपमा प्रहरीले पटकपटक पक्राउ गरेको थियो । उनी अदालतले छाड्न आदेश दिए पनि त्यसलगत्तै प्रहरीबाट पक्राउ पर्दै आएका थिए । जगेन्द्र कारागारमै ढलेपछि कुनियत राखेर उपचारमा ढिलाइ गरिएको र राज्यकै कारण ज्यान गएको भन्दै परिवारले शव बुझ्न मानेको थिएन ।

नेकपा शान्तिपूर्ण राजनीतिमा फर्किइसकेकाले आफ्ना माग सरकारसँग राख्ने र अहिले शव बुझेर अन्त्येष्टि गरिएको उनका छोरा तेजेन्द्रले जानकारी दिए । आफ्ना मागबारे राज्यबाट कुनै सुनुवाइ नभएको र मृत्युको कारण जानकारी पनि नपाएको उनको गुनासो छ ।

Advertisement

‘कुन समयमा ढल्नुभयो, कति बेला अस्पताल पु¥याइयो ? बिरामीलाई कहाँ कहाँ डुलाइयो भन्नेसम्म पनि जानकारी पाएनौं,’ तेजेन्द्रले भने, ‘राज्यकै कमजोरीका कारण बुवाको मृत्यु भएको हाम्रो ठम्याइ हो । सरकारले वास्ता नगरेपछि शव बुझेर अन्त्येष्टि गरेका छौं ।’ राज्यले परिवारलाई पछि माग सम्बोधन गर्ने आश्वासन भने दिएको उनले सुनाए ।

जगेन्द्रका परिवारको विषय संघीय सरकारसँग सम्बन्धित भएकाले यहाँबाट त्यस्तो कुनै सम्झौता नभएको कास्की कारागार प्रमुख काजीमान सुनाले जानकारी दिए । ‘शव बुझ्न आउनुस्, तपाईंहरुको माग सरकारसँग हो भनेर पत्र पठाएपछि उहाँहरु आउनुभएको हो,’ सुनारले भने, ‘परिवारले शव बुझेर पोस्टमार्टम गरेपछि आफन्तले अन्त्येष्टि गरेका छन् ।’

सुनियोजित रुपमा राज्यका कारणबाट जगेन्द्रको मृत्यु भएको भन्दै परिवारले शव बुझ्न नमानेपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको शव गृहमै शव थन्किएको थियो । साढे ४ महिनापछि परिवारले शव बुझेर पोखराको रामघाटमा अन्त्येष्टि गरिएको छोरा जितेन्द्रले बताए ।

पर्वत कारागारमा ढलेपछि अस्पतालमा भन्टिलेटरमा राखेर उपचारका क्रममा उनको मृत्यु भएको थियो । पक्राउ पर्दै, छुट्दै, फेरि पक्राउ पर्दै धरौटीसमेत बुझाउन नसकेपछि जगेन्द्र ७ महिनादेखि पर्वत कारागारमा थिए ।

उनी त्यो बेलासम्म ९ पटक पक्राउ परेको परिवारको भनाइ छ ।यहीबीचमा जगेन्द्रकी श्रीमतीको पनि मृत्यु भएको थियो । उनका छोराहरु बुबा पटकपटक जेल परेको पीर, चिन्ताकै कारण आमाको पनि मृत्यु भएको बताउँछन् ।

म्याग्दी मालिका गाउँपालिका वडा नम्बर ३ अधिभाराबाट ९ फागुन २०७६ मा जगेन्द्र पक्राउ परेका थिए । जगेन्द्रलाई अभद्र मुद्दामा घरमा सुतिरहेका बेला प्रहरीले पक्राउ गरेको थियो । उनलाई चैत १८ गते १८ हजार रुपैयाँ धरौटीमा रिहा गरियो तर त्यसलगत्तै गौ–वध मुद्दामा पक्राउ गरिएको थियो ।

सो मुद्दामा ५४ हजार धरौटी तिरेर १८ असोज २०७७ मा जगेन्द्रलाई रिहा गर्ने फैसला भयो । फेरि अभद्र मुद्दामा पक्राउ गरी जगेन्द्रलाई थुनामा राखिएको र १ लाख १८ हजार धरौटीमा रिहा गर्ने फैसला भएकोे परिवारको भनाइ छ । धरौटी तिर्ने रकमसमेत नभएपछि जगेन्द्रको नाममा रहेको जग्गा जिल्ला प्रशासन कार्यालय म्याग्दीको पत्रानुसार मालपोतमा रोक्का गरी उनलाई रिहा गरिएको थियो ।

अभद्र मुद्दामा पक्राउ परेका जगेन्द्रलाई जिल्ला अदालत पर्वतले ५४ हजार रुपैयाँ धरौटीमा रिहा गर्ने फैसला गरेको र धरौटी तिर्न नसकेपछि थुनामा राख्ने आदेश भएको परिवारले बताएको छ । अदालतले छाड्ने आदेश दिए पनि धरौटी तिर्न नसक्दा फेरि जेल चलान भएका जगेन्द्रले घर फर्कनै नपाईमृत्युवरण गरे । जगेन्द्रको मृत्युपछि भने रोक्का जग्गा फुकुवा भइसकेको छोरा जितेन्द्रले जानकारी दिए ।

तपाईको प्रतिक्रिया