गण्डकी सत्ता संकटः जसपाका ४ सर्त
समाधान संवाददाता, पाेखरा ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्ध अविश्वासकाे प्रस्तावमा हस्ताक्षर गरेकाे दल मध्येकाे १ जनता समाजवादी पार्टीले २ ठूला दल कांग्रेस–माओवादीसँग ४ सर्त अघि सारेकाे छ ।
आइतबार कार्य व्यवस्था परामर्श समितिकाे बैठकपछि बसेकाे अविश्वासकाे प्रस्तावमा हस्ताक्षरकर्ता ३ दलकाे बैठकमा जसपाका संसदीय दलका नेता हरिशरण आचार्यले ती सर्त राखेका हुन् ।
हामी सत्तामा जान लालायित भएर मात्रै अविश्वासकाे प्रस्तावमा हस्ताक्षर गरेका हाेइनाैं, हाम्रा आफ्ना एजेण्डा छन्– जसपा संसदीय दलका नेता आचार्यले समाधानसँग भने ।
उनले दिएकाे जानकारी अनुसार हिजाेकाे बैठकमा जसपाले निम्न ४ सर्त राखेकाे छ ।
१– उच्चस्तरीय संयन्त्र
सरकार सञ्चालन गर्न उच्चस्तरीय राजनैतिक संयन्त्र निमार्ण गर्नु पर्ने र त्यही संयन्त्रकाे गाईड लाईन अनुसार सरकार सञ्चालन हुनु पर्ने ।
२– थ्रेस हाेल्ड
साना दललाई निरुत्साही गर्न गरी संविधानमा राखिएकाे थ्रेस हाेल्ड हटाउनु पर्ने । याे यहाँबाट हटाउन सम्भव नभएपनि राजनैतिक एजेण्डा बनाउनु पर्ने ।
३– पावर शेयरिङ
अविश्वासकाे प्रस्ताव पास हुनु अघि नै मन्त्रालय बाँडफाँड टुङ्ग्याउनु पर्ने । कुन कुन मन्त्रालय क–कसले पाउने भन्ने सहमति हुनु पर्ने । मन्त्रालय संख्या अहिले अनुसार नै राख्ने कि थप्ने भन्ने सहमति पनि अविश्वासकाे प्रस्ताव पास हुनु अगावै हुनु पर्ने ।
४– राजनैतिक नियुक्ति
सरकारले गर्ने राजनैतिक नियुक्तिकाे विषय पनि पहिले नै टुङ्ग्याउनु पर्ने, पछि यसैले सत्ता गठबन्धनमा नराम्राे स्थिति सृजना गर्नु भन्दा पहिले नै सहमति गर्नु राम्राे हुने ।
तपाईको प्रतिक्रिया