विशेष अधिवेशन आजबाटः दुई दिन छलफल, बुधबार मतदान

समाधान संवाददाता २०७८ वैशाख १३ गते ८:०१

अनिष भट्टराई, पोखरा

गण्डकी प्रदेश सभाको विशेष अधिवेशन सोमबार सुरु हुँदैछ । नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले अविश्वास प्रस्ताव दर्ता गरेर विशेष अधिवेशन डाक्न समावेदन दिएका थिए ।

प्रदेश प्रमुख अमिक शेरचनले ६ गते आह्वान गरेअनुसार १३ वैशाख सोमबार विशेष अधिवेशन बस्न लागेको हो ।

Advertisement

विशेष अधिवेशनको पहिलो दिन सोमबारको बैठकमा अविश्वास प्रस्तावका प्रस्तावक तथा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले बोल्नेछन् ।

सामान्यतः अधिवेशनको सुरु दिन दलका नेताहरुले बोल्ने गरेपनि यो अधिवेशनमा भने त्यस्तो हुनेछैन । प्रस्तावकले बोलेपछि सांसदहरुले अविश्वास प्रस्तावमाथि बोल्नेछन् । पहिलो दिनको बैठकमा कति सांसदले बोल्ने भन्ने टुंगो लागेको छैन ।

Advertisement

सोमबार र मंगलबार सांसदहरुले अविश्वास प्रस्तावमाथि छलफल गर्नेछन् । सांसदहरुले बोलेपछि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जवाफ दिने र मतदानको प्रक्रिया अगाडि बढाइने कार्यव्यवस्था परामर्श समितिका सदस्य सांसद कुमार खड्काले जानकारी दिए ।

गण्डकी प्रदेश सभामा सत्तारुढ नेकपा एमालेमा २७ र १ स्वतन्त्र गरी मुख्यमन्त्रीको पक्षमा २८ सांसद छन् । विपक्षी मोर्चामा नेपाली कांग्रेसका १५, माओवादी केन्द्रका १२ (सभामुखसहित), राष्ट्रिय जनमोर्चाका ३ र जनता समाजवादी पार्टीका २ सांसदसहित ३२ सांसद छन् ।

विशेष अधिवेशन सुरु हुन लाग्दा नेपाली कांग्रेस, माओवादीले आफ्ना सांसदलाई पोखरा नछाड्न र अविश्वासको पक्षमा मतदान गर्न ह्विप जारी गरिसकेका छन् ।

आफूहरुका सांसदले फ्लोरक्रस नगर्ने बरु उल्टै सत्ताकै केही सांसदले फ्लोरक्रस गर्न सक्ने कांग्रेस सांसद कुमार खड्काको आँकलन छ ।

‘हामी सबै एकजुट नै छांैं, अहिले पदको लडाइँ होइन, व्यवस्थाको हो, बरु सत्तापक्षकै २÷३ सांसदले हामीलाई साथ दिन्छौं भन्नुभएको छ,’ खड्काले भने ।

अविश्वास प्रस्ताव पास हुनेमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल ढुक्क छन् ।

राष्ट्रिय जनमोर्चा पार्टीलाई केन्द्रले नै निर्देशन दिएबमोजिम अविश्वास प्रस्तावमा समर्थन दिनेभएपछि आफू ढुक्क भएको उनी बताउँछन् । ‘राष्ट्रिय जनमोर्चाले पनि केन्द्रकै निर्णय मानेर भोट दिनुहुन्छ, हामी ढुक्क छौं,’ उनले भने ।

राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीले अविश्वासको प्रस्तावमा मतदान गर्न निर्देशन गरिसकेका छन् । तर जनमोर्चाको गण्डकी संसदीय दलका नेता कृष्ण थापा अझै पनि गुरुङ सरकारको विरुद्धमा लाग्न तयार देखिँदैनन् ।

उनले राजनीतिक रुपले केही समय गुरुङ इतर पक्षमै लागेपनि आफ्नो साथ गुरुङ सरकारलाई नै रहेको अभिव्यक्ति दिए । ‘मसिनो सहमति नभएपनि, अविश्वासको पक्षमा मतदान गरेपनि साथ त उतै (गुरुङ सरकार) हो,’ उनले भने ।

यता मुख्यमन्त्री गुरुङले विपक्षी दलहरुसँग लगातार छलफल गर्ने प्रयास गरिरहेका छन् । जनता समाजवादी पार्टीका संसदीय दलका नेता हरिशरण आचार्य आफूहरु औपचारिक रुपमा वार्तामा नबसेपनि मुख्यमन्त्रीले सम्पर्क गर्ने प्रयास गरिरहेको दाबी गर्छन् ।

‘अब सरकार बचाउन एउटा गोटीले काम नगरेपछि अर्को खोज्ने त भइहाले, हामीलाई सम्पर्क गरिरहनुभएको छ, तर हामी बसेका छैनौं,’ उनले भने ।

लिखित सहमति गरेर जानुपर्ने जसपाको माग

गुरुङ सरकार ढाल्ने खेलमा सुरुआतबाट नै लागेको जनता समाजवादी पार्टी लिखित सहमति गरेर गएमात्रै अविश्वास प्रस्तावमा सहयोग गर्ने बताएको छ । आइतबार बसेको पार्टी कमिटी बैठकले दुई दलसँग लिखित सहमति गरेरै जान वार्ता कमिटीलाई निर्देशन दिएको छ ।

संसदीय दलका नेता आचार्य विशेष अधिवेशन सुरुहुने दिन नै लिखित सहमति बनाएर जानुपर्ने बताउँछन् ।

‘वार्ता समितिलाई पार्टीले बटमलाइन यो—यो हो भनेर भनेको छ, ती बटमलाइनमा लिखित सहमति नै गरेर जानुपर्छ, तबमात्र अविश्वासमा प्रक्रियागत रुपमा बढ्छौं,’ आचार्यले भने ।

मन्त्रालयका भागबण्डा, राजनीतिक नियुक्ति, प्रदेश सभामा जसपाको स्थान जस्ता विषयमा प्याकेज नै गराएर लिखित सम्झौता हुनुपर्ने आचार्यले बताए ।

वैशाख ६ गते प्रदेश प्रमुख अमिक शेरचनले सोमबारका लागि विशेष अधिवेशन डाकेका थिए ।

आफूविरुद्ध अविश्वास प्रस्ताव दर्ता हुने जानकारी पाएपछि प्रदेश सभाको सातौं अधिवेशन वैशाख १ गते मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अन्त्य गरिदिएका थिए ।

चौथाइ बेसी सांसदको समावेदन अनुसार १३ गतेलाई शेरचनले अधिवेशन डाकेका हुन् ।

पिसिआर परीक्षण बिनैसंसद बैठक

नेपाली कांग्रेसले आइतबार केन्द्रीय सदस्यहरुको पिसिआर परीक्षण गरेर मात्र केन्द्रीय कार्यसमिति बैठक गर्ने निर्णय गरेको छ । सोमबारका लागि बोलाइएको बैठक स्थगित गर्दै नेगेटिभ आउनेहरुलाई मात्र सामेल गर्दै १५ वैशाखमा बैठक बस्ने कांग्रेसको निर्णय छ ।

तर गण्डकी प्रदेश सभाको सोमबारको बैठक भौतिक दूरीबिना नै बस्दैछ । नदीपुरस्थित साँघुरो प्रदेश सभाभित्र संसद बैठकबस्नेछ । यही भवनमा प्रदेश सभाका छैटौं अधिवेशनमा सामाजिक दूरी कायम गर्न नसक्ने भन्दै सभागृहमा संसद बैठक राखिएको थियो ।

तर अहिले भने सामाजिक दूरीको ख्याल नगरी नदीपुरमै बस्न लागेको हो । ‘अब दूरीसूरी छैन, खोप लगाइसकेका छौं, नदीपुरमै बस्छ,’ प्रदेश सभा सचिव हरिराज पोखरलले भने ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशमा निर्देशक विनोदविन्दु शर्मा भने खोप लगाउने ९६ प्रतिशतमा कोरोना नलाग्ने र भौतिक दूरी कायम गरेर बैठक बस्नु उचित हुने बताउँछन् ।

‘दोस्रो चरणको खोप लगाउने ९६ प्रतिशतमा देखिँदैन भन्ने रिपोर्ट छ,’ उनले भने, ‘पहिला एकपटक दूरी कायम गर्न सभागृहमा गरेका थाहा थियो, अहिले कसरी बस्नुहुन्छ मलाई थाहा छैन ।’खोपको २ डोज नै लगाएकालाई पनि कोरोना संक्रमण भएको उदाहरण पोखरामै फेला परेको छ ।

तपाईको प्रतिक्रिया