‍‍‍‍‍‍‍‍‍‍‍… नत्र भने सरकारमै जान्नाैं–जसपा

समाधान संवाददाता २०७८ वैशाख १३ गते १०:४९

समाधान संवाददाता, पाेखरा ।

जनता समाजवादी पार्टीले आफ्ना माग र सर्त पुरा गर्न दवाव दिने आन्तरिक निर्णय गरेकाे छ । आजै साँझसम्म कांग्रेस–माओवादीले लिखित सहमति नगरे सरकारमै सहभागी नहुने चेतावनी समेत उसले दिएकाे छ ।

साेमबार विहान पाेखरामा उपलब्ध केन्द्रीय सदस्यसहितका अगुवा नेताहरुकाे बैठकले यस्ताे निर्णय गरेकाे हाे । याे निर्णय दुई दलका अगुवासम्म पुगिसकेकाे छ ।

Advertisement

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्ध अविश्वासकाे प्रस्तावमा हस्ताक्षर गरेकाे दल मध्येकाे १ जनता समाजवादी पार्टीले २ ठूला दल कांग्रेस–माओवादीसँग हिजै ४ सर्त अघि सारेकाे थियाे ।

आइतबार कार्य व्यवस्था परामर्श समितिकाे बैठकपछि बसेकाे ३ दलकाे बैठकमा जसपाका संसदीय दलका नेता हरिशरण आचार्यले ती सर्त राखेका हुन् ।

Advertisement

हामी सत्तामा जान लालायित भएर मात्रै अविश्वासकाे प्रस्तावमा हस्ताक्षर गरेका हाेइनाैं, हाम्रा आफ्ना एजेण्डा छन्– जसपा संसदीय दलका नेता आचार्यले समाधानसँग भनेका थिए ।

उनले हिजाेकाे बैठकमा राखेकाे सर्त नै आजकाे जसपाकाे आन्तरिक बैठकले अनुमाेदन गरेकाे छ । यसका लागि आज साँझसम्मकाे समय दिइएकाे बैठकमा सहभागी एक नेताले समाधानलाई बताए ।

जसपाका संसदीय दलका नेता आचार्यले समाधानलाई दिएकाे जानकारी अनुसार हिजाेकाे बैठकमा जसपाले निम्न ४ सर्त राखेकाे छ ।

१– उच्चस्तरीय संयन्त्र

सरकार सञ्चालन गर्न उच्चस्तरीय राजनैतिक संयन्त्र निमार्ण गर्नु पर्ने र त्यही संयन्त्रकाे गाईड लाईन अनुसार सरकार सञ्चालन हुनु पर्ने ।

२– थ्रेस हाेल्ड

साना दललाई निरुत्साही गर्न गरी संविधानमा राखिएकाे थ्रेस हाेल्ड हटाउनु पर्ने । याे यहाँबाट हटाउन सम्भव नभएपनि राजनैतिक एजेण्डा बनाउनु पर्ने ।

३– पावर शेयरिङ

अविश्वासकाे प्रस्ताव पास हुनु अघि नै मन्त्रालय बाँडफाँड टुङ्ग्याउनु पर्ने । कुन कुन मन्त्रालय क–कसले पाउने भन्ने सहमति हुनु पर्ने । मन्त्रालय संख्या अहिले अनुसार नै राख्ने कि थप्ने भन्ने सहमति पनि अविश्वासकाे प्रस्ताव पास हुनु अगावै हुनु पर्ने ।

४– राजनैतिक नियुक्ति

सरकारले गर्ने राजनैतिक नियुक्तिकाे विषय पनि पहिले नै टुङ्ग्याउनु पर्ने, पछि यसैले सत्ता गठबन्धनमा नराम्राे स्थिति सृजना गर्नु भन्दा पहिले नै सहमति गर्नु राम्राे हुने ।

उनले सरकारमा सहभागी नहुनु भनेकाे अविश्वासकाे प्रस्तावबाट पछि हटेकाे भन्ने नबुझ्न समेत आग्रह गरे ।

तपाईको प्रतिक्रिया