जसपाको मागबारे छलफल गर्न ३ दलको बैठक बस्दै

समाधान संवाददाता २०७८ वैशाख १३ गते ११:५२

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेश सभाको आजदेखि सुरु हुने विशेष अधिवेशन अगाडि ३ दलकाे बैठक बस्दैछ । आफूहरुले राखेको मागबारे छलफल गर्न बैठक बस्न लागेको जनता समाजवादी पार्टी (जसपा) संसदीय दलका नेता हरिशरण आचार्यले बताए ।

‘अहिले कार्यव्यवस्था परामर्श समितिको बैठक अघि हामी बैठक बस्छौं, हाम्रो मागहरुलाई लिखित गरेर जानुपर्छ भनेर भन्छौं,’ आचार्यले भने ।

Advertisement

गुरुङ सरकार ढाल्ने खेलमा सुरुआतबाट नै लागेको जसपाको आइतबारको प्रदेश कमिटी बैठकले लिखित सहमति गरेर गएमात्रै अविश्वास प्रस्तावमा सहयोग गर्ने बताएको थियो । मन्त्रालयका भागबण्डा, राजनीतिक नियुक्ति, प्रदेश सभामा जसपाको स्थान जस्ता विषयमा प्याकेज नै गराएर लिखित सम्झौता हुनुपर्ने आचार्यले बताए ।

नेपाली कांग्रेस पनि जसपाको माग पूरा गर्न तयार देखिन्छ । आफूहरुलाई लिखित सम्झौता गर्न कुनै अप्ठेरो नभएको कांग्रेस सांसद कुमार खड्का बताउँछन् । अहिले विपक्षी मोर्चाले राजनीतिक विषयमा मात्र छलफल गरेको र अन्य प्राविधिक कुरा भएकाले ती कुरामा पनि एकसाथ छलफल हुने उनले बताए ।

Advertisement

‘उहाँहरुको मागमा साना दलले पनि सुविधा पाउनुपर्छ भन्ने कुरा त हामीले पनि समर्थन गर्दै आएको कुरा भयो, मन्त्रालय पनि पाइहाल्नुहुन्छ,’ उनले भने, ‘राजनीतिक नियुक्तिका कुरा त सरकारमा गएपछि हुने हो, हामीलाई लिखित सम्झौता गर्न अफ्ठेरो छैन ।’

माओवादीका एक सांसदले भने वार्ता कमिटीहरुले प्राविधिक कुरा पनि छिनोफानो लगाइसकेको बताउँछन् । मन्त्रालय भागबण्डाका कुरामा पनि वार्ता कमिटीहरुले सहमति जुटाइसकेको उनले बताए । ‘मन्त्रालय भागवण्डाका कुरा त भित्र भइराखेकै छन्, अविश्वास पास भएपछि मुख्यमन्त्रीसँगै शपथ खुवाउने गरी प्रक्रिया चलेको छ,’ उनले भने ।

गण्डकी प्रदेश सभाको विशेष अधिवेशन आज २ बजेबाट सुरु हुँदैछ । नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले अविश्वास प्रस्ताव दर्ता गरेर विशेष अधिवेशन डाक्न समावेदन दिएका थिए । प्रदेश प्रमुख अमिक शेरचनले ६ गते आह्वान गरेअनुसार १३ वैशाख सोमबार विशेष अधिवेशन बस्न लागेको हो ।

विशेष अधिवेशनको पहिलो दिन सोमबारको बैठकमा अविश्वास प्रस्तावका प्रस्तावक तथा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले बोल्नेछन् ।

सोमबार र मंगलबार सांसदहरुले अविश्वास प्रस्तावमाथि छलफल गर्नेछन् । सांसदहरुले बोलेपछि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जवाफ दिने र मतदानको प्रक्रिया अगाडि बढाइने कार्यव्यवस्था परामर्श समितिका सदस्य सांसद कुमार खड्काले जानकारी दिए ।

गण्डकी प्रदेश सभामा सत्तारुढ नेकपा एमालेमा २७ र १ स्वतन्त्र गरी मुख्यमन्त्रीको पक्षमा २८ सांसद छन् । विपक्षी मोर्चामा नेपाली कांग्रेसका १५, माओवादी केन्द्रका १२ (सभामुखसहित), राष्ट्रिय जनमोर्चाका ३ र जनता समाजवादी पार्टीका २ सांसदसहित ३२ सांसद छन् ।

विशेष अधिवेशन सुरु हुन लाग्दा नेपाली कांग्रेस, माओवादीले आफ्ना सांसदलाई पोखरा नछाड्न र अविश्वासको पक्षमा मतदान गर्न ह्विप जारी गरिसकेका छन् ।

तपाईको प्रतिक्रिया