कास्कीमा बुधबारदेखि एक हप्ता निषेधाज्ञा

समाधान संवाददाता, पोखरा
कोरोना संक्रमण बढेपछि कास्कीमा बुधबारदेखि एक साता निषेधाज्ञा लगाइने भएको छ ।
जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको सोमबार बसेको बैठकले १५ गते बिहान ६ बजेदेखि २१ वैशाख राति १२ बजेसम्म निषेधाज्ञा लगाउने निर्णय गरेको कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिए ।
यो अवधिमा अत्यावश्यक कामबाहेक घर बाहिर हिँड्डुल गर्न रोक लगाइएको छ । एम्बुलेन्स, दमकल, खाद्यान्न, दुध, तरकारी, निर्माण सामग्री बोक्ने गाडी सहित अत्यावश्यकबाहेक अरु सबै सवारी साधन आवतजावत बन्द रहने छ ।
फनपार्क, रंगशाला, दोहोरी साँझ, फुटसल, सैलुन, डिस्को, अत्यावश्यकबाहेकका पसल पनि खोल्न पाइने छैन । औषधि पसल भने २४ सै घन्टा खोल्न पाइने छ ।
स्वास्थ्य, सुरक्षा, सञ्चार, विद्युत, खानेपानी, औषधिजन्य उत्पादन तथा विक्री वितरण लगायत अत्यावश्यक सेवाबाहेक अरु सरकारी तथा गैरसरकारी कार्यालय बन्द रहने छन् ।
सवारी पनि जोरबिजोर (जोर गतेमा जोर र बिजोरमा बिजोर) मात्र संचालन गर्न पाइने छ । खाद्यान्न र निर्माण सामग्री पसल बिहान ५ बजेदेखि राति ८ बजेसम्ममात्रै खोल्न पाइने छ ।
होटल तथा रेस्टुरेन्टले बिहान ८ बजेदेखि राति ८ बजेसम्म ‘टेक अवे’ सुविधा मात्रै सञ्चालन गर्न पाउने प्रजिअ गौतमले बताए । बैंक तथा वित्तीय संस्थाले पनि नेपाल राष्ट्र बैंकसँग सहकार्य गरेर सीमति कर्मचारीको उपस्थितीमा सेवा प्रवाह गर्न पाउने छन् । घरमा गरिने पुजापाठजस्ता धार्मिक कार्यक्रममा पनि १५ जनाभन्दा बढी सहभागी हुन पाइने छैन ।

कास्कीमा पछिल्लो दुई सातायता कोरोना संक्रमण ह्वात्तै बढेको छ । अहिले कास्कीमा ६६४ जना सक्रिय संक्रमित छन् ।
कास्कीमा कुल ९ हजार २१० जनामध्ये १२० जनाको मृत्यु भएको छ ।
गण्डकी प्रदेशका अरु जिल्लामा भने संक्रमित थोरै छन् । प्रदेशभर ९३७ सक्रिय संक्रमित रहेको प्रदेश स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए ।
गण्डकीका कुल १७ हजार ८३८ संक्रमितमध्ये १६ हजार ६८६ जना निको भएका छन् । कुल संक्रमितमध्ये २१५ जनाको मृत्यु भएको छ ।









सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
स्याङ्जा आरुचौर एकता समाजको अध्यक्षमा पौडेल
चुनाव आउन ७३ दिन बाँकी : यस्तो छ समानुपातिकतर्फ समावेशी समूहको नयाँ प्रतिशत
कलामय बन्यो कुश्माको ‘शताब्दी घर’ : क्यानभासमा उतारियो इतिहास र प्रकृति
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया