मुस्ताङमा कोरोनाः परीक्षा रोकियो, हवाई सेवा बन्द

समाधान संवाददाता २०७८ वैशाख १४ गते ८:४८

कोरोनाको दोस्रो लहर फैलिने जोखिम बढेपछि मुस्ताङका ५१ सामुदायिक विद्यालयको पठनपाठन र परीक्षा प्रभावित भएको छ

सुन्दरकुमार थकाली, जोमसोम

कोरोनाको जोखिम तथा सन्त्रास बढेसँगै मुस्ताङका विद्यालयमा जारी वार्षिक परीक्षा प्रभावित भएको छ ।

Advertisement

गत वैशाख १० देखि वार्षिक परीक्षा सञ्चालन गर्दै आएको घरपझोङ ४ जोमसोमको धौलागिरी आवासीय माविका केही विद्यार्थी बिरामी भएका छन् ।

विद्यार्थी बिरामी पर्न थालेपछि चलिरहेको वार्षिक परीक्षा मंगलबारदेखि स्थगित भएको छ ।

Advertisement

विद्यालयका सहायक प्रधानाध्यापक अनिरुद्ध गौतमले सरकारद्वारा गठित सिसिएमसीले देशभरका शैक्षिक संस्था तथा वार्षिक परीक्षा तत्काल स्थगित गर्न निर्देशन गरेकाले यो निर्णय भएको बताए ।

बाँकी विषयमा यसअघिको अर्थवार्षिक परीक्षाको मूल्यांकनको आधारमा विद्यार्थीको मूल्यांकन गरिने गौतमले बताए ।

घरपझोङ गाउँपालिका र थासाङ गाउँपालिकाले पनि चाडै विद्यालय बन्द गर्ने उपाय खोजेका छन् ।

एक दिनै २ वटा विषयको परीक्षा गर्ने यहाँका स्कुलहरुको तयारी छ । स्थानीय तहका शिक्षा शाखाले वार्षिक परीक्षा सञ्चालनका लागि यस्तो निर्णय गरेका हुन् ।

मुस्ताङको थासाङमा बिहीबार र घरपझोङ गाउँपालिकामा शुक्रबारबाट वार्षिक परीक्षा भइरहेको छ । वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले भने विद्यार्थीको संख्या न्यून भएकाले नियमित वार्षिक परीक्षालाई निरन्तता दिने जनाएको छ ।

उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा वैशाख १५ गतेदेखि वार्षिक परीक्षा सञ्चालन गर्ने कार्यतालिका सार्वजनिक भएको थियो । यहाँ परीक्षा हुने कि स्थगित हुने भन्ने निर्णय भइसकेको छैन ।

यसअघि मुस्ताङका ५ वटै तहका विद्यालयले वैशाखमा वार्षिक परीक्षा सकेर जेठ १ गतेबाट नयाँ शैक्षिक सत्र सुरु गर्ने निर्णय गरेका थिए ।

कोरोनाको दोस्रो लहर फैलिने जोखिम बढेपछि मुस्ताङका ५१ सामुदायिक विद्यालयको पठनपाठन र परीक्षा प्रभावित भएको छ ।

पोखरा जोमसोम उडान रोकियो

मुस्ताङमा अवस्थित प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ मन्दिर गत शनिबारदेखि बन्द छ ।

पोखरा—जोमसोम हवाई सेवा सोमबारदेखि नै बन्द भएको जोमसोम नागरिक उड्यन कार्यालय मुस्ताङले जनाएको छ ।

नागरिक उड्यन कार्यालय मुस्ताङका अनुसार मुक्तिनाथ मन्दिर कोरोना त्रासका कारण बन्द हुँदा आन्तरिक तथा विदेशी पर्यटक मुस्ताङ नआउने भएपछि एअरलायन्स कम्पनीहरुले सेवा बन्द गरेका हुन् ।

यसअघि कोरोना माहामारीले १ वर्षसम्म बन्द भएको पोखरा जोमसोम हवाइ सेवा गत फागुन २१ गतेबाट सुरु भएको थियो ।

तपाईको प्रतिक्रिया