विपक्षी सांसद भन्छन्ः सत्ता जोगाउन कोरोनाको नाटक गरियो

समाधान संवाददाता २०७८ वैशाख १४ गते १४:०४

अनिष भट्टराई, पोखरा

गण्डकी प्रदेश सभाको आजको बैठक एमालेले अवरुद्ध गरेपछि विपक्षी सांसदहरुले सत्ता जोगाउन सरकारले कोरोनाको नाटक गरेको बताएका छन् ।

मंगलबारको बैठकमा एमाले सांसदले कोरोना परीक्षण नै नगरी बैठक राखिएको भन्दै अवरुद्ध गरेका थिए ।

Advertisement

माओवादी केन्द्रका संसदीय दलका नेता हरिबहादुर चुमानले सरकारले आफैंले गर्नुपर्ने काम सदनलाई थोपरेर केही दिन सत्तामा टिक्न खोजेको बताएका छन् ।

कोरोना नियन्त्रण, परीक्षणको काम सरकारले नै गर्नुपर्ने भएपनि सदन चल्न नदिन चाल चलेको उनले बताए । ‘परीक्षण सदनले होइन, सरकारले गर्ने होइन, कोरोना भन्दै सदन चल्न नदिने यो अलोकतान्त्रिक कदम हो,’ चुमानले भने । आफूहरु सदन चलाउन हरसम्भव प्रयास गर्ने उनको टिप्पणी छ ।

Advertisement

कांग्रेस सांसद दोबाटे विश्वकर्माले सत्ताधारी दलले नै सदन अवरुद्ध गर्नु गैरन्यायीक र अकल्पिनय विषय रहेको बताए । सरकारले आफूले काम नगरी प्रदेश सभा बैठकलाई अवरुद्ध गरेर सत्तालोलुप चरित्र देखाएको उनको ठम्याइँ छ ।

‘१३ गते बैठक राख्ने भनेर भनेपछि सरकारले नै पिसिआर गरेर बैठक राख्नुपथ्र्यो,’ विश्वकर्माले भने, ‘आफूले गर्नुपर्ने काम आफैं नगर्ने अनि संसदमाथि हान्ने काम भएको छ, यो गैरन्यायीक हो, उहाँहरु नाटक गरिरहनु भएको छ ।’

जनता समाजवादी पार्टीकी सांसद धनमाया लामा पोखरेलले सरकारले आफ्नै बदनामी हुने गरी काम गरेको बताइन् । सरकार दिनानुदिन बद्नाम बनिरहेको र सत्ताका लागि जे पनि गर्न सक्छ भन्ने प्रस्टाएको उनले थपिन् ।

‘सत्तामा बस्न जे पनि गर्न सक्छौं भन्ने उदाहरण देखाए, यो सरकारकै बद्नाम हुने काम हो,’ उनले भनिन् । कार्यव्यवस्था परामर्श समितिमा सरकारका प्रवक्ता तथा दोहोरो मन्त्रालय सम्हालेका मन्त्री रामशरण बस्नेतकै सहमतिमा कार्यसूचि बनेपनि उनीहरुले नै सहमति तोडेको लामाले जोडिन् ।

‘हामी एक्लैले कार्यसूचि बनाएर उहाँहरुलाई ल्याएका होइनौं, मन्त्री, सांसदकै सहभागितामा बनाएको हो,’ उनले भनिन्, ‘केही दिन सत्ता लम्बाउने खेल बाहेक केही होइन ।’

गण्डकी प्रदेशको विशेष अधिवेशन सोमबारबाट सुुरु भएको हो । अधिवेशनको पहिलो दिनको बैठकमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले अविश्वास प्रस्ताव पेस गरेका थिए ।

बैठकमा दलहरुबीच को सत्तालोलुप र सुविधाभोगी भन्नेमा बाझाबाझ भएको थियो ।

आजको बैठकमा २५ सांसद बोल्ने कार्यसूचि थियो । आज सांसदहरुले छलफल गरेपछि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जवाफ दिने र भोलि अविश्वास प्रस्तावमा मतदान गर्ने योजना थियो । तर एमाले सांसदहरुले बैठक अवरुद्ध गर्दा मतदान गर्ने दिन लम्बिँदै जाने देखिन्छ ।

गण्डकी प्रदेश सभामा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी एमालेले सदन अवरुद्ध गरेको हो । पिसिआर परीक्षण बिना बैठक राखिएको र कोरोना संक्रमण फैलन सक्ने भन्दै एमालेले बैठक अवरुद्ध गरेको हो ।

एमाले सांसदहरु बैठकको सुरुआतमै उठेर आपत्ति जनाएका थिए । त्यसलगत्तै एमाले सांसद राजीव पहारीले कोरोना परीक्षणबिना बैठक राखिन नहुने बताएका थिए ।

आधा भन्दा बढी सांसदले दोस्रो डोजको खोप पनि नलगाएको अवस्थामा सामाजिक दूरी कायम नगरी बैठक राखिनु खतराजनक हुने उनले बताए ।

‘आधा भन्दा बढी सांसदले दोस्रो डोजको खोप लगाएको अवस्था छैन,’ उनको प्रश्न थियो, ‘हेल्थ प्राटोकल पूरा नगरी, सामाजिक दूरी कायम नगरी बस्दा कसैको मृत्यु हुन गयो भने त्यसको जिम्मेवार को हुने ?’

तपाईको प्रतिक्रिया