गण्डकी विश्वविद्यालयको शैक्षिक भवन निर्माण सुरु
समाधान संवाददाता, पोखरा
छिट्टै पठनपाठनको तयारीमा रहेको गण्डकी विश्वविद्यालयको शैक्षिक भवन निर्माण सुरु भएको छ ।
पोखरा ३२ ज्ञानकुञ्जमा पोखराका मेयर मानबहादुर जिसी र विश्वविद्यालयका कुलपति प्राडा गणेशमान गुरुङले भवन मंगलबार शिलान्यास गरे ।
नेपाल सरकारबाट भोगाधिकार पाएको ३ सय ५४ रोपनी जमिनभित्रको केही भागमा विश्वविद्यालयले शैक्षिक भवन निर्माण थालेको हो । भवन निर्माणको जिम्मा खानी निर्माण सेवाले पाएको छ ।
६ करोड ७४ लाख रुपैयाँमा ९ महिनाभित्र उसले भवन निर्माण पूरा गर्नुपर्ने सम्झौता छ ।
भवन निर्माण पूरा गरी पठनपाठन लगायतका काम पोखरा ३२ बाटै गरिने विश्वविद्यालयका कुलपति प्राडा गणेशमान गुरुङले बताए ।
उनले विश्वविद्यालयलाई स्थानीयको साथ, सहयोगका लागि धन्यवाद दिएका छन् । वडाध्यक्षले वडाको नवनिर्मित भवनसमेत विश्वविद्यालयलाई केही समयलाई दिएर गुन लगाएको चर्चा उनले गरे ।
मेयर मानबहादुर जिसीले प्रदेशमा विश्वविद्यालय बनेपछि ज्ञानको विस्तार, अनुसन्धान र समृद्ध नेपाल निर्माणमा टेवा पुग्ने बताए ।
‘यो विश्वविद्यालय परम्परावादी विश्वविद्यालय नबनाइदिनोस् विनम्र अनुरोध छ,’ उनले भने । विश्वविद्यालय आइसकेपछि लेखनाथ क्षेत्रको विकासमा टेवा पुग्ने विश्वास उनले व्यक्त गरे ।
गण्डकी प्रदेश नीति तथा योजना आयोगका प्रमुख डा. गिरिधारी शर्मा पौडेलले बजारले खोजेको जनशक्ति उत्पादन गर्ने हेतुबाट प्रदेशले विश्वविद्यालय स्थापना गरेको सुनाए ।
‘अरु विश्वविद्यालयले पढाइरहेका विषय डुुप्लिकेसन हुने गरी नपढाउने विश्वविद्यालय हो यो,’ उनले भने ।
गण्डकी विश्वविद्यालयका उपकुलपति प्राडा नवराज देवकोटाले सही किसिमको शैक्षिक गोरेटो विश्वविद्यालयले कोर्ने विश्वास दिलाए । उनले गुणस्तरीय कार्यक्रम ल्याउन लागेको पनि सुनाए ।
नीति तथा वित्त व्यवस्थापन, अर्थ संकलन तथा अन्तर्राष्ट्रिय सम्बन्ध, अनुगमन तथा मूल्यांकन जस्ता विषय सँगसँगै प्राविधिक शिक्षामा विश्वविद्यालयमा जोड रहने उनको भनाइ छ ।
खानी निर्माण सेवाका विदुर गौतमले कोभिडको असर नभए ९ महिनाभन्दा अघि नै काम पूरा गर्ने प्रतिबद्धता जनाए ।
उनले भने, ‘स्थानीयको साथ र सहयोग पाएँ भने भनेभन्दा छिट्टै काम पूरा गर्ने प्रतिबद्धता गर्छु ।’
पोखरा महानगरपालिका वडा नम्बर ३२ अध्यक्ष अक्कलबहादुर कार्कीले स्थानीयको साथ, सहयोग विश्वविद्यालयलाई रहने जनाए ।
करिब ७४ रोपनी क्षेत्रफलमा प्रशासनिक, शैक्षिक, प्रयोगशाला, क्यान्टिन (चमेना गृह) पुस्तकालय, गार्ड हाउस, खेल मैदान लगायत भौतिक संरचना निर्माण हुने छन् ।
विश्वविद्यालयका रजिस्ट्रार कैलाश तिमिल्सिनाका अनुसार पोखरा महेन्द्रपुलको भाडाको घरमा प्रविधिसम्बन्धी र पोखरा ३२ को वडा कार्यालय भवनमा स्पोर्टस् मेनेजमेन्टको पढाइ चाडै सुरु हुँदै छ ।
तपाईको प्रतिक्रिया