अब कांग्रेस नेतृत्वको सरकारः डा कोइराला
समाधान संवाददाता, पोखरा
नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले वर्तमान राजनीतिक अन्योलको निकास दिनकांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्ने बताएका छन् ।
नेपाली कांग्रेस कास्की सभापति कृष्ण केसीका बुवा हर्कबहादुर केसीको १३ औं पुण्यतिथिमा मंगलबार पोखरा २८ देउमाडीमा आयोजित श्रद्धाञ्जली सभामा उनले यस्तो बताएका हुन् ।
महामन्त्री कोइरालाले मुलुकमा जब संकट आउँछ, तब कांग्रेसले नै निकास दिने गरेको सुनाए । ओली सरकारको अकमण्र्यताका कारण यो सरकारलाई अब धेरै दिन राख्न नहुने उनको टिप्पणी छ ।
कोइरालाले मुलुक कोभिड १९ बाट आक्रान्त भएको अवस्थामा ओलीले आफ्नै दुई तिहाइको सरकार भंग गरी मुलुकलाई अराजकता र अस्थिरतातर्फ धकेलेको उनले आरोप लगाए ।
डा. कोइरालाले कांग्रेसको महाधिवेशन समयमै हुनुपर्नेमा जोड दिए । उनले भने, ‘कांग्रेसले महाधिवेशन गर्न सकेन भने संवैधानिक संकट आउँछ ।’उनले हर्कबहादुर केसीले देखाएको बाटोमा हिड्न सकेमात्र समाजवादको लक्ष्य भेटिने उल्लेख गरे ।
कांग्रेस नेता शुक्रराज शर्माले हर्कबहादुर कुशल अभिभावक र प्रजातान्त्रिक भएको बताए ।
पूर्व मन्त्री यज्ञबहादुर थापाले पञ्चायतकालमा पनि प्रजातन्त्रको पक्षमा डटेर लड्ने अभिभावक कांग्रेसले गुमाएको बताए । कांग्रेस स्याङ्जाका नेता राजु थापाले कांग्रेसका अनेकौं योद्धाको बलले नै पार्टीले प्रजातन्त्रको अगुवाइ गर्न सकेको विचार रँखे ।
श्रद्धाञ्जली सभामा नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा नं. २८ का इकाइ सभापति विकास गुरुङ, कांग्रेस कास्की उपाध्यक्ष आइबहादुर गुरुङ, कांग्रेस नेता वीरबहादुर बुढाथोकी, शिवबहादुर अधिकारी, हर्कबहादुरका छोरा प्राध्यापक बाबुराम केसी लगायतले बोलेका थिए ।
तपाईको प्रतिक्रिया