तनहुँका पर्यटकीय एवं धार्मिक क्षेत्रमा प्रवेश गर्न रोक

समाधान संवाददाता २०७८ वैशाख १५ गते ११:५५

तनहुँ, रासस ।

तनहुँका पर्यटकीय एवं प्रसिद्ध धार्मिकस्थलमा पर्यटक र भक्तजनलाई प्रवेशमा रोक लगाइएको छ । पछिल्लो समय पुनः महामारीका रूमा कोभिड–१९ को सङ्क्रमण फैलिँदै जान थालेपछि कम गर्नका लागि प्रवेशमा रोक लगाइएको हो । छाब्दी बाराही मन्दिरमा पूजाअर्चनाका लागि बन्द गरिएको छ ।

जिल्लास्तरी कोभिड सङ्कट व्यवस्थापन समितिले मठमन्दिरलगायत धार्मिक र पर्यटकीयस्थलमा भीडभाड नगर्न निर्देशन दिएपछि सोमबारदेखि नै बन्द गरिएको छाब्दीबाराही मन्दिर व्यवस्थापन समितिका अध्यक्ष प्रेम थापाले जानकारी दिनुभयो ।

Advertisement

त्यसैगरी ढोरबाराही मन्दिरमा आजदेखि भक्तजनलाई प्रवेशमा रोक लगाइएको छ । नित्य पूजाअर्चनाबाहेक भक्तजनलाई प्रवेशमा रोक लगाइएको छ । गत वर्ष चैतदेखि शुरु भएको कोरोना सङ्क्रमण असारपछि क्रमिकरूपमा घट्दै गएपछि मन्दिरमा भक्तजनको चाप बढ्दै गएको पुजारी चिरञ्जीवी लम्सालले बताउनुभयो ।

इलाका प्रहरी कार्यालय बेलचौतराबाट आएको प्रहरी टोली पूजाअर्चना मङ्गलबारबाटै रोक्न भने पनि टाढा–टाढाबाट भक्तजन आएकाले आजदेखि बन्द गर्ने निर्णय गरिएको उहाँले बताउनुभयो । शुक्लागण्डकी नगरपालिका–९ बाजस्थलमा रहेको ढोरबाराही मन्दिर भगवान् विष्णुको तेस्रो अवतारका रूपमा लिइन्छ ।

Advertisement

मन्दिरको दर्शन गरेमा भाकल पूरा हुने, रोगव्यादी निको हुने जनविश्वास छ । मनोकाङ्क्षा पूरा हुने भएकाले उक्त मन्दिरमा पूजाअर्चना र बलि दिनका लागि छिमेकी जिल्ला स्याङ्जा, कास्की, गोरखा, लमजुङ, पाल्पा, नवलपुर, चितवनबाट भक्तजन आउने गर्छन् ।

कोरोना सङ्क्रमण फैलिँदै जान थालेपछि जिल्लाका धार्मिक एवं पर्यटकीयस्थलमा मानिसलाई जमघट नहुन आग्रह गरिएको तनहुँका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलले बताउनुभयो । अनिवार्य मास्क लगाएर हिँड्न र जमघट भएर नबस्नका लागि जनचेतनामूलक कार्यक्रम गर्दै आएको उहाँले जानकारी दिनुभयो ।

जिल्लाका प्रसिद्ध धार्मिकस्थल अकला देवी, तनहुँ कालिका, थानीमाई, आँधीमूल, पर्यटकीयस्थल मानुङकोट, गलेखामकोट, परेवाडाँडा, बन्दिपुरलगायत क्षेत्रमा जमघट नहुन परिपत्रका साथ आग्रह गरिएको जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ ।

तपाईको प्रतिक्रिया