जनता १५ जना भेला हुन नपाउने, १०० जनाको भिडभाड गरी गण्डकी संसद चलिरहने !

समाधान संवाददाता २०७८ वैशाख १५ गते १२:१३

समाधान संवाददाता, पाेखरा ।

जिल्ला प्रशासन कार्यालय कास्कीले घरमा गरिने पूजापाठजस्ता धार्मिक कार्यक्रममा पनि १५ जनाभन्दा बढी सहभागी हुन नपाइने गरी निषेधाज्ञा जारी गरेको छ । तर ६० जना सदस्य, कर्मचारी र मर्यादापालक प्रहरी गरी झन्डै सय जनाको भेला हुने गरी गण्डकी प्रदेश सभाको अधिवेशन भने चलाइएको छ ।

३ जना सांसद र १ जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भइसकेको गण्डकी प्रदेश सभामा तिनै संक्रमित सांसदसमेत प्रवेश गर्न पाउने गरी चलाइँदैछ । संक्रमित सांसदले अविश्वास प्रस्तावको मत विभाजन हुँदा मतदान गर्न पाउने तर बोल्न भने नपाउने गरी संसद चल्दैछ ।

Advertisement

बुधबार १ बजे संसद बस्ने तयारी छ । तर संक्रमित सांसदलाई कसरी व्यवस्था गरिन्छ र मतदानमा कसरी भाग दिलाइन्छ, मत गणना कसरी गरिन्छ भन्ने लगायत प्रश्नहरु एमाले सांसदले उठाएका छन् ।

एमाले संसदीय दलका प्रमुख सचेतक मायानाथ अधिकारीले त्यस्तो कुनै व्यवस्था नै नगरी संसद राखेर जोखिम निम्त्याउन लागिएको बताउँछन् । ‘हामीले कुरा उठाउनसाथ साथीहरु सत्ता लम्ब्याउन लाग्यो भनिहाल्नुहुन्छ,’ उनले भने, ‘यो सत्ता लम्ब्याउने भन्दा पनि संक्रमण फैलन नदिन के गर्ने भन्ने सवाल हो । जनतालाई भिडभाड नगरौं भन्ने अनि हामीले भिड गर्न हुन्छ त ?’

Advertisement

प्रदेश सभा सचिवालयकी उपसचिव सपना सुवेदीले भने संक्रमित सांसदलाई छुट्टै राखिने बताइन् । ‘उहाँहरुलाई मतदान गर्ने व्यवस्था हुन्छ,’ उनले भनिन् ।

संक्रामक रोगसम्बन्धी ऐनले भने संक्रमित व्यक्तिले बाहिरफेर निस्केर रोग फैलाउन नहुने व्यवस्था गरेको छ । सोही ऐनअनुसार कुनै व्यक्तिलाई संक्रामक रोग लागेको शंका लागेमा प्रदेश सरकारलाई निगरानी र नियन्त्रणको आदेश दिन सक्छ । तर संक्रमित सांसदहरु प्रदेश सभासम्म आउनेजाने गर्दा र अरुलाई संक्रमण फैलन सक्छ भन्नेतिर संसदले ध्यान दिएको छैन ।

तपाईको प्रतिक्रिया