सांसद अनुपस्थित भएपछि बैठक स्थगित, एमालेका सांसदले मागे सभामुखको राजीनामा

समाधान संवाददाता २०७८ वैशाख १५ गते १८:१४

अनिष भट्टराई, पोखरा

गण्डकी प्रदेश सभा अनिश्चितकालका लागि स्थगित भएको छ । राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही सम्पर्कविहिन भएपछि उनकै दलकी सांसद पियारी थापाले शाहीको अवस्था सार्वजनिक नहुँदा सम्म सदन स्थगित गर्न पत्र दिएकी थिइन् ।

सोही पत्रानुसार सभामुख नेत्रनाथ अधिकारीले शाहीको अवस्था सार्वजनिक नहुँदा सम्म सदन स्थगित गरिदिएका हुन् ।

Advertisement

प्रदेश सभाको बुधबार बसेको बैठकमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध पेस भएको अविश्वास प्रस्तावमा मतदान हुने कार्यसूची थियो ।

सदनमा बुधबार २० जना सांसदले बोलेपछि मुख्यमन्त्री गुरुङले जवाफ दिने र मतदान गर्ने भनिएपनि सांसद अनुपस्थित भएपछि बैठक स्थगित भएको हो ।

Advertisement

सांसद शाहीले मत नहाल्दा विपक्षी मोर्चाले पेस गरेको अविश्वास प्रस्ताव फेल हुन्छ ।

एमालेका माधव नेपाल पक्षधर सांसद इन्द्रलाल सापकोटाले फ्लोर क्रस गरेको खण्डमा भने सरकार ढल्ने थियो । तर सांसद नआएपछि विपक्षी मोर्चा सशंकित भएर बैठक स्थगनको माग गरेको थियो ।

नमोर्चाका संसदीय दलका नेता कृष्ण थापाले शाहीबारे आफूलाई जानकारी नभएको प्रतिक्रिया दिएका छन् ।

सदन सुरु हुनु अगाडि फोनमा कुरा भएपनि त्यसपछि शाहीसँग सम्पर्क नभएको उनले बताए । ‘उहाँसँग संसद् सुरु हुनुभन्दा अगाडि फोनमा कुरा भएको थियो । मतदान हुँदासम्म आउँछु भन्नुभएको थियो, अहिले कहाँ जानुभयो थाहा भएन,’ उनले भने ।

शाहीलाई खोज्न जनमोर्चा, कांग्रेस र जसपाका ३ सांसद गए पनि उनीहरुले फेला पार्न सकेनन् । शाहीलाई खोज्न जनमोर्चाकी पियारी थापा, कांग्रेसका मेखलाल श्रेष्ठ र जसपाकी धनमाया लामा गए पनि रित्तोहात फर्किएका हुन् ।

’माननीयहरू गाडी लिएर जानु भएको थियो तर, शाही माननीय कतै भेटिनु भएनछ,’ कांग्रेसका एक सांसदले भने ।

६० सदस्यीय प्रदेश सभामा अविश्वासको प्रस्ताव पारित हुन ३१ मत चाहिन्छ । खिमविक्रम शाहीलाई समेत अंक गणितमा सामेल गरेर कांग्रेस नेतृत्वको मोर्चाले ३१ सांसद पुग्ने आँकलन गरेको थियो । यता सत्तारुढ एमालेसँग एक स्वतन्त्र सांसद सहित २८ सांसद छन् ।

शाहीका स्वकीय सचिव मिलन हमालले शाही अस्वस्थ भएर चरक मेमोरियल अस्पतालमा भर्ना भएको बताएका छन् । मध्यान्ह १२ बजे स्वास्थ्यमा गडबडी आएपछि उनलाई अस्पताल भर्ना गरिएको उनले बताए ।

अस्पताल स्रोतले पनि शाही अस्पतालको आईसियुमा रहेको पुस्टि गरेको छ । ‘आईसियुमा हुनुहुन्छ, कोरोनको लक्षण छ,’ अस्पताल स्रोतले भन्यो । तर मंगलबार प्रदेश सभाले गराएको कोरोना परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको थियो ।

सदनमा मतदानका दिन अनुपस्थित हुने शाही एक्ला सांसद भने होइनन् । मनाङ ‘ख’बाट निर्वाचित दीपक मनाङे पनि बुधबार अनुपस्थित थिए ।

उनले आफूलाई मनाङका सांसदले मुख्यमन्त्री गुरुङविरुद्ध मत नहाल्न भनेपछि सदनमा अनुपस्थित भएको प्रतिक्रिया दिएका छन् । ‘मलाई मेरा मनाङका जनताले पिएसविरुद्ध नलाग्न भनेपछि म नगएको हुँ,’ उनले भने ।

एमाले सांसद धनञ्जय दवाडीले इतिहासमै नभएको घटना सभामुखले गण्डकीमा गराएको बताएका छन् । सांसद अनुपस्थित हुँदैमा सदन स्थगित गर्नु दलीय राजनीतिबाट प्रेरित काम भएको र अलोकतान्त्रिक रहेको उनले बताए ।

संसारमै नभएको घटना गण्डकीमा सभामुखले घटाउनुभयो, भोलिबाट एक जना सांसद अनुपस्थित भएपनि स्थगित गर्दै जानुपर्छ,’ उनले भने, ‘होइन भने सभामुखले तत्कालै राजीनामा दिनुपर्छ ।’

तपाईको प्रतिक्रिया