झापाका ३ पत्रकारमा काेराना संक्रमण

समाधान संवाददाता २०७८ वैशाख १६ गते ७:३५

झापा, रासस ।

झापामा तीन पत्रकार र एक प्रदेशसभा सदस्य कोभिड–१९ बाट सङ्क्रमित हुनुभएको छ । नेपाल पत्रकार महासङ्घ झापाका अध्यक्ष एकराज गिरीका अनुसार पत्रकारहरु पुष्प बराल, नरेन्द्र ढकाल र वीरबहादुर दर्नाललाई कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

झापा क्षेत्र नं १ का प्रदेशसभा सदस्य गोपालचन्द्र बुढाथोकीलाई पनि कोरोना सङ्क्रमण भएको छ । सङ्क्रमित चारै जना हाल चिकित्सकसँगको सल्लाहमा होम आइसोलेसनमा रहनुभएको छ ।

Advertisement

राजधानीबाट झापा ल्याइँदै कोरोना सङ्क्रमित कोभिड–१९ बाट सङ्क्रमित बिरामीलाई बेडसिफ्ट गरेर उपचारका लागि काठमाडौँबाट मोफसल ल्याउन थालिएको छ । काठमाडौँमा सङ्क्रमित हुनुभएका नरप्रसाद उप्रेतीलार्ई हेलिकप्टरमार्फत उपचारका लागि झापा ल्याइएको हो ।

काठमाडौंको ह्याम्स हस्पिटलबाट बेडसिफ्ट गरेर सिम्रिक एयरको हेलिकप्टरबाट बुधबार अपराह्न ५ः४५ बजेतिर उहाँलाई बिर्तामोडको बीएन्डसी अस्पतालमा ल्याइएको हो । अस्तपतालका जनसम्पर्क अधिकृत प्रमिश गिरीले काठमाडौँमा सङ्क्रमितको चाप बढेपछि उप्रेतीलाई बेडसिफ्ट गरिएको परिवारका सदस्यको भनाइ उद्धृत गर्दै बताउनुभयो ।

Advertisement

झापाको शिवसताक्षी नगरपालिका–८ स्थायी घर भए पनि उप्रेती काठमाडौँमा बस्दै आउनुभएको थियो । उहाँलाई आइसीयुमा राखेर उपचार थालिएको गिरीले जानकारी दिनुभयो । बीएन्डसी अस्पतालमा हाल कोभिडको उपचारका लागि २५ शय्याको छुट्टै आइसोलेसन वार्ड सञ्चालनमा छ ।

अहिले पाँच कोभिड–१९ का सङ्क्रमितको उपचार भइरहेको छ । बिरामीको चाप बढेमा आइसोलेसनको क्षमता बढाइने गिरीले बताउनुभयो । “राजधानीमा सङ्क्रमितको चाप यति बढ्दै गएको छ कि शय्या पाउन पनि मुस्किल हुँदै गएको अवस्था छ”, गिरीले भन्नुभयो, “बीएन्डसीमा कोरोना सङ्क्रमित र अरु बिरामीलाई सुरक्षित उपचार गर्न भिन्नाभिन्नै ब्लक सञ्चालनमा ल्याएका छौँ ।

काठमाडौँबाट अरु सङ्क्रमितले समेत बेडसिफ्ट गरेर आउनका लागि सम्पर्क गरिरहनु भएको छ ।”

तपाईको प्रतिक्रिया