को हुन् खिमविक्रम शाही ? कस्तो छ विगत ?

अमृत सुवेदी
२०७५ साल मंसिर २६ गते कलेजोसम्बन्धी समस्याले राष्ट्रिय जनमोर्चाका प्रदेश सभा सांसद टेकबहादुर घर्तीको मृत्यु भयो । बागलुङ क्षेत्र नम्बर २ को ‘ख’ बाट चुनाव जितेका घर्तीको उपचारको क्रममा मृत्यु भएपछि यो क्षेत्रमा उपनिर्वाचन हुने भयो ।
मंसिर १४ को उपनिर्वाचनमा प्रदेशसभा सदस्य जनमोर्चाले र वडाध्यक्षमा नेकपाले तालमेल गर्ने सहमति भयो । २०७४ सालको चुनावमा पनि जनमोर्चा र नेकपाले चुनावी तालमेल गरेका थिए । जनमोर्चाले निसीखोला गाउँपालिकामा अध्यक्षमा पराजित खिमविक्रम शाहीलाई उम्मेदवार खडा ग¥यो । शाहीलाई जिताउन नेकपाले पनि चनावी अभियान थाल्यो ।
जनमोर्चालाई प्रदेश सभा छाडेर खिमविक्रमलाई सघाउनुपर्ने भएपछि नेकपाकै कार्यकर्तालाई चित्त बुझेको थिएन । ०७४ सालको स्थानीय निर्वाचनमा नेकपा (माओवादी केन्द्र) बाट ढोरपाटन नगरपालिकाको मेयरमा पराजित शेरमान घर्ती मगरले बागी उम्मेदवारी दिए ।
शेरमान तत्कालीन बोबाङ गाविसमा राष्ट्रिय जनमोर्चाबाटै पूर्वअध्यक्ष बनेका थिए । माओवादी प्रवेश गरेर पछि उनी जिल्ला सदस्यसम्म बनेका थिए । नेकपाले एक्लै चुनाव जित्ने अवस्था हुँदाहुँदै जनमोर्चाका खिमविक्रमलाई टिकट दिएको शेरमानलाई चित्त बुझेको थिएन ।
शेरमानको बागी उम्मेदवारी नेकपाका लागि टाउको दुखाइ बन्यो । ढोरपाटन नगरपालिकाको मेयरमा जोसँग हारेका थिए, उनले शेरमानको उम्मेदवारी फिर्ता गराउने नेतृत्व गरे । उनी हुन्, ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली । नेपाली आफैं पनि माओवादीबाट टिकट नपाएपछि मनोनयनको अघिल्लो दिन एमाले प्रवेश गरेर ढोरपाटनको मेयरमा उम्मेदवारी दर्ता गराएका थिए ।
देवकुमारले खिमविक्रमविरुद्ध परेको उम्मेदवारी फिर्ता गराउन ढोरपाटनदेखि शेरमानलाई हेलिकप्टरमा बागलुङ बजार ल्याइपु¥याए । तर, त्यतिञ्जेलसम्म उम्मेदवारी फिर्ता लिने समय घर्किसकेको थियो । शेरमानले पत्रकार सम्मेलनमार्फत उम्मेदवारी फिर्ता लिएको घोषणा गर्दै खिमविक्रमलाई सहयोग गर्न आह्वान गरे ।
फलस्वरुप शाहीले नेपाली कांग्रेसका उम्मेदवार जीत शेरचनलाई २ हजार ९७ मत अन्तरले पराजित गर्दै प्रदेश सभा छिर्ने मौका पाए । निसीखोला गाउँपालिकामा हारेका खिमविक्रमका लागि यो सोच्नै नसोचेको उपलब्धि बन्यो ।
टेकबहादुर घर्तीको निधनसँगै उपनिर्वाचनमार्फत खिमविक्रमलाई संसद छिर्ने अवसरको ढोका खुल्यो । संसदमा उनी शालीन र साझो सांसदकै रुपमा चिनिन्थे । शाहीले संसदमा हुने छलफलमा कम सहभागिता जनाए ।
नेकपा विभाजनको बाछिटा गण्डकी प्रदेशमा पनि देखिन थाल्यो । नेकपा दुई टुक्रा हुँदादेखि नै गण्डकी प्रदेशका दलहरुको मत पनि विभाजन भइरहेको थियो । सर्वोच्चले एमाले र माओवादी ब्युँताइदिएपछि भने दलबीच कित्ताकाट नै हुन थाल्यो । तर, जनमोर्चाले पनि समर्थन कायमै राखेको अवस्थामा माओवादी समर्थन फिर्ता लिइहाल्यो भने पनि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ आफू जोगिनेमा ढुक्क थिए ।
कांग्रेस, माओवादी र जनता समाजवादीले सत्ता गठबन्धनको तयारी थाल्दा जनमोर्चाका सांसद कृष्ण थापा र खिमविक्रम मुख्यमन्त्रीतिरै लचिलो थिए । जनमोर्चाकी सांसद पियारी थापाले सुरुदेखि यो सरकारको विकल्पमा जानुपर्ने बताउँदै आएकी थिइन् ।
जनमोर्चाको अलमलले अरु दलले पनि मुख्यमन्त्रीमाथिको अविश्वासको प्रस्तावलाई अगाडि बढाउने सकेका थिएनन् । जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीले अविश्वासको प्रस्तावमा मतदान गर्ने र सकेसम्म हस्ताक्षरै गरेर जाने बताएपछि विपक्षी दललाई हौसला मिलेको थियो । जनमोर्चाको आश्वासपछि कांग्रेस, माओवादी र जसपाले अविश्वासको प्रस्तावको प्रक्रिया अगाडि बढाए । जनमोर्चाको केन्द्रीय कमिटी बैठकले निर्णय गरेर अविश्वासको प्रस्तावको पक्षमा उभिन निर्देशन नै जारी गर्यो ।
मुख्यमन्त्रीले अधिवेशन नै अन्त्य गरिदिएपछि वैशाख २ गते अविश्वासको प्रस्ताव दर्ता गराएर विपक्षी दलले विशेष अधिवेशनको पनि माग गरे । प्रदेश प्रमुखले १३ गतेका लागि विशेष अधिवेशन बोलाइदिए । अधिवेशनको पहिलो दिन नै विपक्षी दलका प्रस्तावित मुख्यमन्त्री तथा कांगेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले अविश्वास प्रस्तावमा संसदमा पेस गरे ।
अविश्वासको प्रस्तावमाथि छलफल सकेर कम्तिमा ३ दिनभित्र मुख्यमन्त्री पृथ्वीसुब्बाको छिनोफानो गर्ने तयारी थियो । पहिलो दिन नै कोरोना परीक्षणको माग गरेको सत्तारुढ दल एमालेले दोस्रो दिन संसद बैठक नै अवरुद्ध गर्यो । कोरोना परीक्षण गरी अधिवेशनको तेस्रो दिन बुधबार बैठक बस्ने दलले सहमति गरे । पोजेटिभ देखिए पनि बोल्ने समय उपलब्ध नगराउने र मत हाल्न पाउने सहमति दलहरुको थियो ।
१ जना मर्यादापालकसहित ३ सांसदलाई कोरोना पोजेटिभ देखिएको सार्वजनिक भयो । बाँकी सांसदको कोरोना नेटेटिभ आएकाले संसद बैठक अगाडि बढ्यो । छलफलमा भाग लिने सांसदलाई समय दिएर बुधबारै मुख्यमन्त्रीमाथिको अविश्वासको प्रस्तावमा मतदान गर्ने कार्यसूची बन्यो ।
एमालेका सांसदले बोल्ने सूचीबाट नाम हटाउन थाले । यता बैठकमा भाग लिन ढिलो भए पनि आउँछु भनेका जनमोर्चाका सांसद खिमविक्रम आइपुगेनन् । एकजना सांसदमात्रै पनि नआइदिँदा अविश्वासको प्रस्ताव फेल हुने भएपछि विपक्षी दलमा खलबल सुरु भयो । विपक्षी दलले खिमविक्रमलाई सम्पर्क गर्न खोजे तर सम्पर्क गर्न खोजे तर पार लागेन ।
गण्डकी प्रदेश सभामा सांसद हराएको खैलाबैला भएपछि सभामुखले २० मिनेटका लागि भने स्थगित गरेको संसद बैठक अनिश्चित कालका लागि स्थगित गर्दासम्म खिमविक्रम आइसियुमा भर्ना भएको सार्वजनिक भयो । कोरोना रिपोर्ट नेगेटिभ आएका भनिएका सांसद खिमविक्रम फेरि कोरोना पोजेटिभ कतिबेला देखिए र कतिबेला कोभिड लागेर आइसियुमा भर्ना भए भन्ने प्रश्न धेरैको मनमा उब्जियो ।
पछि उही र उस्तै समयमा २ थरी रिपोर्ट सार्वजनिक भएपछि शंका गर्नेलाई थप बल पुगेको छ । चरक मेमोरियलले तेस्रो परीक्षण पनि गराएर पोजेटिभ नै देखिएका रिपोर्ट सार्वजनिक भएको छ ।
गुमानाम जस्तै सांसद खिमविक्रम बुधबारदेखि एकाएक चर्चाको केन्द्रमा छन् । मान्छेले उनको खोजी गरिरहेका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ माथि परेको आविश्वासको प्रस्तावमा मतदान गर्ने बेला सम्पर्कविहीन भएपछि अस्पतालको आइसियुमा भेटिएका सांसद खिमविक्रम अहिले अनेका शंका र उपशंकाको केन्द्रमा छन् ।
जनमोर्चाले उनको स्वास्थ्य अवस्थाबारे जानकारी गराउन सरकारलाई आग्रह गरिरहेको छ भने जनमोर्चाकै प्रदेशका नेताहरुलाई पनि डाक्टरले भेट्न दिएका छैनन् । यथार्थ के हो त्यो बाहिर आउनुपर्ने जनमोर्चाको माग छ । मुख्यमन्त्री गुरुङ पनि बुधबार साँझ अस्पताल जाँदा शाहीलाई भेट्न पाएनन् ।
यसका बीच मानिसहरुले शाहीको विगतको राजनीतिक छविबारे सोधपुछ र खोजिरहेका छन् । जनमोर्चामा निरन्तर अहिलेको सरकारको विपक्षमा उभिने उद्घोष गर्दै आएकी सांसद पियारी थापा भन्छिन्, ‘अहिलेसम्म पार्टीमा उनले बेइमानी गरेको रेकर्ड छैन । उहाँको स्वभाव र चरित्र पनि त्यस्तो देखिँदैन । एक इमान्दार र शालीन नेताकै रुपमा उहाँलाई चिनिँदै आएको छ ।’
शाहीले बागलुङमा चुनाव जितेर संसद छिरेपछि कहिल्यै पदको दुरुपयोग नगर्ने बताएका थिए । ‘हिजो जनताको अधिकारको कुरा गरेकै हो । अब पनि जनताका समस्यामाथि नै बोल्ने हो । राम्रो काम गर्न सरकारलाई साथ दिने नै हो,’ शाहीले भने, ‘मौकाले सांसद भइएको छ । पदको सदुपयोग गर्छु, दुरुपयोग गर्दिन ।’
गाउँपालिकामा हराएका जनताले सांसद बनाएर पठाएपछि त्यसको मर्यादा राख्ने शाहीको उद्घोष थियो । शाहीका बुबा कम्युनिस्ट राजनीति गर्थे । उनकै प्रेरणाका कारण उनी जनमोर्चासँग जोडिए र निसीखोला बोहोरा गाउँदेखि गण्डकी प्रदेश सभासम्म आइपुगेका हुन् ।
जनमोर्चाको युवा संगठनमा गाविसको नेतृत्व गर्दै बागलुङ उपाध्यक्षसमेत बनेका शाही अहिले जनमोर्चाका केन्द्रीय सदस्य हुन् । ०४० सालदेखि राजनीति गरेका शाहीले उपनिर्वाचनमा नचिताएको सांसदको टिकट पाए र गाउँपालिकामा हार्दाको दुखमाथि सान्त्वना पाएका थिए । अब उनको राजनीतिक भविष्य के हुन्छ ? समयकै गर्भमा छ ।
तपाईको प्रतिक्रिया