अस्पतालकाे शैयाबाट खिमविक्रमले भनेः पार्टी निर्णयप्रति प्रतिवद्ध छु

समाधान संवाददाता २०७८ वैशाख १६ गते १४:०७

समाधान संवाददाता, पाेखरा ।

मुख्यमन्त्री विरुद्धको अविश्वास प्रस्तावमाथि मतदान हुुनुअघिकै छलफलमा अनुपस्थित राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाहीले आफ्नो पार्टीको निर्णयप्रति प्रतिबद्ध रहेको प्रष्ट गरेका छन् ।

संसदमा अनुपस्थित भएर अस्पताल भर्ना भएका उनले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई साथ दिएको आरोप लागेको छ । ६० सदस्यीय गण्डकी प्रदेश सभामा उनी अनुपस्थित हुँदामात्रै मुख्यमन्त्री विरुद्धको अविश्वास प्रस्ताव असफल हुने थियो ।

Advertisement

सोही उद्देश्यबाटै शाही अनुपस्थित भएको आरोप लागेकोमा अस्पतालबाटै बिहीबार विज्ञप्ति जारी गरी पार्टी निर्णयप्रति प्रतिबद्ध रहेको उनले प्रष्ट पारेका हुन् ।

‘पार्टीको निर्णय र संसदीय दलको बैठकमा गरिएको निर्णयमा मेरो पनि सहभागिता रहेका कारण ती निर्णयहरुप्रति मेरो पनि सहमति रहेकाले त्यस विषयमा पाटी निर्णय प्रति प्रतिबद्वता कायमै छ,’ सांसद शाहीले भनेका छन्, ‘अहिले समाचार र सामाजिक सञ्जालमा प्रचार भएका विभिन्न भ्रामक खबरबाट आफ्नो धारणा बनाएर विचार प्रकट नगरी दिनु हुन म सम्पूर्ण दाजुभाइ दिदीबहिनी र मेरा शुभचिन्तकहरुमा प्रष्ट पार्न चाहन्छु ।’

Advertisement

सांसदले हस्ताक्षर गरी स्वकीय सचिव मिलन हमालद्वारा सार्वजनिक विज्ञप्तिमा भनिएको छ,ः

म खिमविक्रम शाही राष्ट्रिय जनर्मोचाको तर्फबाट गण्डकी प्रदेश, बागलुङ जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २, प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर ‘ख’ बाट निर्वाचित प्रदेश सभाको सदस्य हो । मिति २०७८ वैशाख १५ गते सदनको कार्यसूची बमोजिम मुख्यमन्त्री माथिको अविश्वासको प्रस्तावमाथि छलफल र मतदान हुने थियो । तर म सदनमा जाने भनी तयारी अवस्थामा रहेको बेला अचानक बिरामी भई मेरो आफ्नै भाइलाई सम्पर्क गरेर आफ्नो स्वास्थ्य उपचारका लागि अस्पताल लैजाने क्रममा म बेहोस भएछु । म अहिले उपचाररत छु । हाल मेरो स्वास्थ्यमा क्रमिक सुधार आएको महसुस गरेको छु । म थप स्वस्थ भए पछि मेरो बारेमा उठेका कैयौं प्रश्नको बारेमा स्प्रष्ट गर्ने नै छु ।

अहिले समाचार र सामाजिक सञ्जालमा प्रचार भएका विभिन्न भ्रामिक खबरबाट आफ्नो धारणा बनाएर विचार प्रकट नगरि दिनु हुन म सम्पूर्ण दाजुभाइदिदी बहिनी र मेरा शुभचिन्तकहरुमा प्रष्ट पार्न चाहान्छु । साथै पार्टीको निर्णय र संसदीय दलको बैठकमा गरिएको निर्णयमा मेरो पनि सहभागिता रहेका कारण ती निर्णयहरुप्रति मेरो पनि सहमति रहेकाले त्यस विषयमा पाटी निर्णय प्रति प्रतिबद्वता कायमै छ ।

मेरो स्वास्थ्यप्रति गम्भीर भई उपचारमा सहयोग गर्नुहुने स्वास्थ्यकर्मी, स्वास्थ्यप्रति चासो र चिन्ता प्रकट गर्नु हुने मेरा पार्टीका नेता, प्रदेश सभाका माननीयज्यूहरु, अग्रज साथीहरु र सम्पूर्ण शुभचिन्तकमा धन्यबाद प्रकट गर्दछु ।



तपाईको प्रतिक्रिया