मुक्तिनाथ जाने सिँढी बन्दै

समाधान संवाददाता २०७८ वैशाख १७ गते ६:४८

मुक्तिनाथ ‘फुट ट्रेल’को डिजाइन परिवर्तन गरी अहिले धमाधम बनाइँदै छ

सुन्दरकुमार थकाली, जोमसोम

हिन्दू र बौद्ध धर्मालम्बीको साझा तीर्थस्थल मुक्तिनाथ जाने ‘फुट ट्रेल’को डिजाइन परिवर्तन हुँदा दोब्बर खर्च लाग्ने निर्माण कम्पनीले जनाएको छ ।

Advertisement

भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत कालिगण्डकी करिडोर (बेनी¬ जोमसोम कोरला) सडक आयोजनाको १ करोड लागतमा मुक्तिनाथ जाने सिँढी बनाउन थालिएको थियो ।

आर्थिक वर्ष २०६७÷०७७ मा बिनियोजित रेलिङसहितको मुक्तिनाथ ‘फुट ट्रेल’को काम ६५ प्रतिशत सकिएको निर्माण कम्पनीले जनाएको छ ।

Advertisement

मुक्तिनाथको तल्लो गेटदेखि मन्दिरको उपल्लो गेटसम्मको घुमाउँरो ३ सय ३५ मिटर लामो फुट ट्रेललाई घटाएर ३ सय ५ मिटरमा झारिएको थियो ।

मुक्तिनाथ रेलिङसहितको ‘फुट ट्रेल’ निर्माणको जिम्मा खिङ्गा कन्ट्रक्सनले लिएको छ । सुरुआतमा स्थानीय प्रशासन, मुक्तिनाथ विकास संरक्षण समिति, स्थानीय र निर्माण कम्पनीबीच ‘फुट ट्रेल’बारे मतभेद हुँदा लामो समयसम्म निर्माण प्रभावित भएको थिया ।

०७६÷०७७ जेठमा ठेक्का सम्झौता भई ०७८ कार्तिक मसान्तसम्म सक्नुपर्ने फुट ट्रेलको काम सामान्य विवादका कारण रोकिएको थियो ।

त्यसपछि स्थानीय प्रशासनले दिएको निर्देशन अनुसार मुक्तिनाथ ‘फुट ट्रेल’ सिंढी बाटो घुमाउरो तरिकाले नभई सिधै लैजाने गरी डिजाईनमा परिवर्तन गरियो ।

ट्रेल निर्माणका लागि ६८ लाखमा सम्झौता गरे पनि डिजाईन परिवर्तन हुँदा दोब्बर खर्च भएको निर्माण कम्पनीको दाबी छ ।

निर्माण कम्पनीका प्रोपाइटर लाक्पा टसी गुरुङले ‘फुट ट्रेल’ बाटोको सिधै लैजादा करिब २ सय मिटरमा दायाँबायाँ सवबेस उठाउन पर्ने भएकाले दोब्बर खर्च भइसकेको उल्लेख गरे ।

यसअघि निर्माण कम्पनी र मुक्तिनाथ विकास समितिले साबिकको तीर्थयात्री हिड्ने पैदलमार्गकै आधारमा ‘फुट ट्रेल’ बनाउन सहमति जनाएका थिए ।

स्थानीय प्रशासनले भने मुक्तिनाथको तल्लो गेटबाट सिधै मुक्तिनाथको उपल्लो गेटसम्म फुट ट्रेल निर्माण गर्नुपर्ने अडान राखेको थियो । स्थानीय प्रशासनले सिधा ट्रेल निर्माण गर्दा तीर्थयात्रीलाई सहज हुने र ट्रेलको सौन्दर्यसमेत बढ्ने सुझाएको थियो ।

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र १ मुक्तिनाथ ‘फुट ट्रेल’को बीच भागमा स्टिलको रेलिङ राखिनेछ ।

मुक्तिनाथमा तीर्थालु आउजाउ गर्ने फुट ट्रेलको काम गत वर्षको कार्तिक महिनामा सकिने निर्माण कम्पनीले जनाए पनि कोरोना कहर तथा हिमपातका कारण प्रभावित बनेको थियो ।

निर्माण कम्पनीले पछिल्लो समय फुट ट्रेल निर्माणलाई तीव्रता दिएको प्रोपाइटर गुरुङले जानकारी दिए । उनले विभिन्न कारणले ढिला भएको काम जेठको दोस्रो सातासम्म सक्ने बताए ।

मुक्तिनाथ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत दर्शन गरेका थिए । तीर्थालु तथा पर्यटक मुक्तिनाथ जाँदा पैदल मार्ग सहज नहुदा विभिन्न सास्ती हुने गथ्र्यो । मुक्तिनाथ फुट ट्रेल बनेपछि त्यहा पुग्ने तीर्थालुलाई आउजाउमा सहज हुनेछ ।

फुट ट्रेलको दायाँबायाँ राति उज्यालोका लागि डेनिनेटर लाइट जडान गरिनेछ । तर, यो मार्ग अपाङ्ग मैत्री हुने छैन । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र १ मुक्तिनाथमा निर्माणाधीन फुट ट्रेल

तपाईको प्रतिक्रिया