‘मजदुरलाई कोरोनाले किच्यो’

समाधान संवाददाता २०७८ वैशाख १९ गते ७:३२

समाधान संवाददाता, पोखरा

कोरोना संक्रमणको फैलावट रोक्न जिल्लाका कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)ले देशका विभिन्न जिल्लामा लगाएको निषेधाज्ञाको कारण मजदुर थप मारमा परेको ट्रेड युनियनका नेताहरुले बताएका छन् ।

उनीहरुले कोरोनाका कारण केही श्रमिकले रोजगारी गुमाएको दाबीसमेत गरेका छन् ।

Advertisement

नेपाल टे«ड युनियन महासंघ (जिफन्ट) गण्डकीका अध्यक्ष रुद्रबहादुर खत्रीले श्रम क्षेत्रका नियम कानुन कार्यान्वयन नभएको अवस्थामा कोभिडले केही श्रमिकको रोजगारी गुमेको बताए ।

‘कोभिड १९ महामारीलाई परास्त गरौं, मर्यादित रोजगारी र सुरक्षित कार्यथलोका लागि एक होआंै’ भन्ने नाराका साथ जिफन्ट गण्डकीले शनिबार आयोजना गरेको १ सय ३२ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको कार्यक्रममा अध्यक्ष खत्रीले कोरोनाको प्रकोप तथा निषेधाज्ञाको कारण धेरै प्रतिष्ठानले श्रमिकलाई न्यूनतम पारिश्रमिक नदिएको उल्लेख गरे ।

Advertisement

‘कोरोना प्रकोपको कारण दैनिक ज्यालादारी गर्ने मजदुरको जीवन प्रभावित भएको छ,’ अध्यक्ष खत्रीले भने, ‘अनौपचारिक क्षेत्रमा काम गर्ने मजदुर पलायनको अवस्थामा पुगेका छन् ।’

उनले विषम परिस्थितिमा श्रमिकलाई नियमित कामबाट ननिकाल्न र उचित तलबको व्यवस्थापन गर्न उद्योग, प्रतिष्ठानसँग आग्रह गरे ।

जिफन्ट राष्ट्रिय कमिटी उपाध्यक्ष तथा गण्डकी प्रदेश सभाका सदस्य मिना गुरुङले श्रम क्षेत्रका नीतिगत व्यवस्था प्रगतिशील भएता पनि कार्यान्वयन पक्ष कमजोर भएको उल्लेख गरिन् ।

श्रम ऐन तथा योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम ल्याउन जिफन्ट लगायतका श्रमिक संगठनको योगदान रहेको उल्लेख गर्दै उनले ऐन, कानुन कार्यान्वयनका लागि श्रमिकले दबावमुलक कार्यक्रम चलाउनुपर्ने बताइन् ।

उनले राजनीतिक आन्दोलन सकिएपछि आर्थिक समृद्धिका कार्यक्रम सुरुवात हुनुपर्नेमा त्यसो नभएको धारणा राखिन् । पछिल्लो समयको राजनीतिक अस्थिरताले सिंगो मजदुर क्षेत्रलाई असर परेको उल्लेख गरिन् ।

श्रमिक दिवसको अवसरमा प्रदेश सभा सदस्य गुरुङले मजदुर पुण्यप्रसाद उप्रेतीकी छोरी दुर्गा उप्रेतीको शिक्षाका लागि ११ हजार आर्थिक सहयोग प्रदान गरिन् ।

गण्डकी प्रदेश कमिटी सचिव लीलाबहादुर कार्कीले श्रमिकले ८ घण्टा काम ८ घण्टा मनोरञ्जन र ८ घण्टा आरामको व्यवस्थासहित श्रमिकका हक, अधिकार प्राप्तिका लागि संघर्ष गरेको बताए ।

विगतका वर्षका व्यापक मजदुर परिचालन गरी अधिकार प्राप्तिका लागि बुलन्द आवाज उठाउँदै आएको जानकारी दिदै उनले कोरोना भाइरसको बढ्दो संक्रमण भएको कारण भेला जुलुस सभा सम्मेलनमा सरकारले रोक लगाएको कारण जिफन्ट गण्डकीले सिमित मजदुर जम्मा भएर सामाजिक दुरी कायम गरी स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर कार्यक्रम गरेको उल्लेख गरे ।

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) स्याङ्जाले १३२ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा पुतलीबजार १३ का लालकुमारी नेपाली र पुतली बजार १ का पदम गन्धर्वलाई आर्थिक सहयोग गरेको जिफन्ट गण्डकी प्रदेश कमिटी सदस्य सुवास खाती सुनारले जानकारी दिए ।

कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य, स्याङ्जा इन्चार्ज तथा जिल्ला समन्वय समिति स्याङ्जाका प्रमुख सीता सुन्दास, पुतली बजार नगरपालिकामा मेयर सिमा क्षेत्री, उपमेयर महेश पुरी, जिल्ला विकास समितिका पूर्व सभापति रामबहादुर थापा, नेकपा एमाले जिल्ला कमिटी स्याङ्जा सदस्य अन्नत श्रेष्ठ, जिफन्ट स्याङ्जा पूर्व अध्यक्ष मनबहादुर विक, प्रकाश थापा लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया