गण्डकीमा कोरोना भयावहको संकेतः ‘सबैलाई भर्ना गर्न साध्य छैन’

समाधान संवाददाता २०७८ वैशाख २० गते ७:२८

कोरोनाले भयावह रुप लिइरहेको छ । डेढ वर्षसम्म लागेन भनेर वीरता देखाउने अवस्था होइनः निर्देशक डा. शर्मा 

अनुप पौडेल, पोखरा

गण्डकी प्रदेशका कुल संक्रमितमध्ये ९३ प्रतिशत संक्रमित अहिले घरमै छन् ।

Advertisement

अस्पतालमा पनि संक्रमितको संख्या निरन्तर उकालो लागेको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घन्टामा८ संक्रमितको मृत्यु भएको छ ।

पछिल्लो समय गम्भीर अवस्थाका संक्रमित मात्रै अस्पताल पुग्दा मृत्यु दर बढेको छ । गण्डकी मेडिकल कलेजकी मेडिकल सुपरिटेन्डेन्ट डा. टुमाया घले अन्तिम अवस्थामा अस्पताल आउँदा संक्रमितले मृत्युवरण गर्नुपरेको बताउँछिन् ।

Advertisement

‘एकदम गाह्रो हुँदासम्म घरमै बस्ने, अन्तिममा अस्पताल आउनेको मृत्यु भएको छ,’ उनले थपिन्, ‘टाइममा आए बचाउन सक्छौँ, मृत्यु दर एकदम कम हुन्छ । अन्तिममा आए हामी पनि भगवान होइन नि ।’

पछिल्लो १९ दिनमा २२ सय ५५ जनामा कोरोना पुष्टि भएको छ भने २५ जनाले ज्यान गुमाएका छन् ।संक्रमितमध्ये ६०३ जना निको भएका छन् ।

हरेक हप्ता संक्रमित र मृत्यु दर पनि ‘दिन दो गुणा, रात चौगुणा’ भइरहेको स्वास्थ्य निर्देशनालयको तथ्यांकले देखाउँछ । ‘अहिले ३५ बेडमा राखेका छौं । अब अरु बिरामी घट्ने, कोभिडको बिरामी बढ्दै जान थालेको छ,’ मेसु घलेले थपिन्, ‘कोभिडको बिरामीमात्रै राख्नेबाहेक उपाय नहोलाजस्तो छ । बिरामी आएपछि यत्तिकै हेरेर बस्न सकिँदैन ।’

पोखराका अस्पतालमा उपचाररत सबै बिरामी गम्भीर छन् । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले गम्भीरबाहेक अरु बिरामीको भर्ना लिँदैन । अस्पतालका कोभिड फोकल पर्सन डा. शरद बरालले सबै संक्रमितलाई अस्पतालमै उपचार गर्न सक्ने अवस्था नरहेको बताए ।

‘अक्सिजन लगाउन पर्ने बिरामीमात्रै उपचार गरेका छौं । अहिले संक्रमित धेरै भएकाले सबैलाई भर्ना गर्न साध्य नै हुँदैन,’ उनले भने ।

क्षेत्रीय अस्पतालको कोभिड उपचार केन्द्रमा आइतबारसम्म २९ जना गम्भीर बिरामी भर्ना भएका छन् । पहिलो लहरको कोरोनापछि बन्द रहेको अस्पतालको आइसोलेसन सेन्टर गत सातादेखि सञ्चालनमा ल्याइएको हो ।

प्रदेश सरकार मातहतको संक्रामक तथा सरुवा रोग अस्पतालको सबै कोभिड १९ बेड भरिएपछि क्षेत्रीय अस्पतालमा आइसोलेसन पुनः सञ्चालनमा ल्याइएको हो । सरुवा रोग अस्पतालमा ४८ जना कोरोना संक्रमित उपचाररत रहेको अस्पतालका सूचना अधिकारी केदार लामिछानेले जानकारी दिए ।

अहिले गण्डकी प्रदेशमा २०४३ सक्रिय संक्रमित छन् । तीमध्ये १३ सय १५ अर्थात् ६४.३६ प्रतिशत कास्कीका रहेको निर्देशनालयले जनाएको छ ।

दोस्रो लहरले भयावह रुप लिइरहेकाले डेढ वर्षसम्म कोरोना नलागेको भनेर वीरता देखाउने अवस्था नरहेको प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्मा बताउँछन् ।

‘मलाई डेढ महिनासम्म कोरोना लागेन भनेर वीरता देखाउने अवस्था अहिले छैन । प्रशासनले दिएको निर्देशनभन्दा आफ्नो नियमित बानीमा १० गुणा बढी निषेध गर्नुपर्छ,’ उनले सोमबार एक वार्तामा भने।

पोखरा कोरोनाको ‘इपिसेन्टर’ बनेकाले खेलाँची गर्ने अवस्था नरहेको निर्देशक शर्माले बताए ।खुला सीमानाले नेपाललाई अझ प्रभाव पार्ने भएकाले स्वयं सचेत हुन उनले आग्रह गरे ।

‘कोरोना खेलाँची होइन । अस्पतालमा कोरोना जितेर फर्किनुभएकासँग २ मिनेट लिएर अनुभव सुन्नुस्,’ डा. शर्माले थपे, ‘उहाँहरुले दायाँ हेर्दा पनि मृत्यु र बायाँ हेर्दा पनि मृत्यु देख्नुभयो । मृत्यु भए त्यसको प्रभाव कस्तो हुन्छ मृत्यु हुनेको परिवारलाई सोध्नुस् ।’

यो भनेको निकै भयावहको सिर्जना हुन सक्ने संकेत भएको शर्माले बताए । शर्माले भने, ‘यही चाल हो भने अब थेग्न सकिन्नँ ।’

संक्रमणमा रेकर्ड, ८ जनाको मृत्यु
गण्डकी प्रदेशमा एकैदिन ५ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्कीका ३ सय ६८ सहित प्रदेशभर आइतबार ५ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
यो संख्या गण्डकी प्रदेशमा कोरोना पुष्टि भएको हालसम्मकै धेरै हो ।

यसअघि पहिलो लहरमा प्रदेशमा सबैभन्दा धेरै ३ सय ४२ जनामा कोरोना पुष्टि भएको थियो । स्याङ्जाका १०४, नवलपुरका २९, म्याग्दीका २३, तनहुँका १४, मुस्ताङका १३, पर्वतका ९, लमजुङका आठ, बागलुङ र मनाङका ४÷४ जनामा कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशक डा. शर्माले जानकारी दिए ।

गण्डकी प्रदेशका ६ सहित पोखरामा ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले आइतबार कास्कीका ५, पर्वत, रुपन्देही र दाङका कोरोना संक्रमितको मृत्यु पुष्टि गरेको हो । कास्कीको पोखरा महानगरपालिका १६ का ७७ वर्षीय पुरुष, पोखरा २६ का ५८ वर्षीय महिला, पोखरा १६ की ७३ वर्षीय महिला, पोखरा १० की महिला (उमेर नखुलेको), पोखरा १९ का ५४ वर्षीय पुरुषको पोखराका विभिन्न अस्पतालमा शनिबार मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए ।

पर्वतको कुश्मा नगरपालिका ५ की ७६ वर्षीया महिला, लुम्बिनी प्रदेशको दाङ राप्ती गाउँपालिका ५ का ४३ वर्षीय पुरुष र रुपन्देहीको बुटवल उपमहानगरपालिका ३ का ७५ वर्षीय संक्रमितको पोखरामा उपचारकै क्रममा पछिल्लो २ दिनयता मृत्यु भएको हो । गण्डकी प्रदेशमा आइतबारसम्म २३२ जना संक्रमितको मृत्यु भएको छ ।

प्रदेशमा १९ हजार २२१ जनामा कोरोना पुष्टि भएको निर्देशक शर्माले जानकारी दिए । तीमध्ये १६ हजार ९४६ जना निको भएका छन्् भने २३२ जनाको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

पश्चिमाञ्चललाई प्रदेशले ६२ लाख दिने
गण्डकी प्रदेश सरकारले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई ६२ लाख रुपैयाँ दिने भएको छ ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ संयोजकत्वको प्रदेश कोभिड १९ संकट व्यवस्थापन समितिको आइतबार बसेको बैठकले आइसियु र एचडियु लगायत पूर्वाधारका लागि सामाजिक विकास मन्त्रालयमार्फत उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो ।

कोभिड १९ रोकथाम र नियन्त्रण कोषमार्फत उक्त रकम उपलब्ध गराउने निर्णय भएको मुख्यमन्त्री गुरुङले जानकारी दिए । समितिले अक्सिजनका ५ हजार थान सिलिन्डर उपलब्ध गराउन संघको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अनुरोधसमेत गरेको छ ।

‘१० जना जनरल फिजिसियन, १० जना एनेस्थेसिस्ट मानवस्रोत उपलब्ध गराइदिन अनुरोध गर्ने,’ समितिको निर्णयमा भनिएको छ ।

गण्डकी प्रदेशमा कोभिड १९ महामारी बढ्दै गएकाले आइसोलेसन वार्डहरुको अभाव हुन नदिने व्यवस्था मिलाउने समितिको निर्णय छ ।

‘अस्पतालमा तत्काल बेड उपलब्ध हुन नसक्ने अवस्थामा होम आइसोलेसनलाई प्रोत्साहन दिन र होम आइसोलेसनका संक्रमितलाई निशुल्क उपलब्ध गराउनुपर्ने आइसोलेसन किटको व्यवस्था सामाजिक विकास मन्त्रालयले मिलाउने,’ निर्णयमा भनिएको छ, ‘कम्तीमा ३ महिनालाई आवश्यक किटका लागि लाग्ने रकम यकीन गरी व्यवस्थापनका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पेस गर्ने ।’

संक्रमितको प्रभावकारी उपचार गर्न थप प्राविधिक जनशक्ति आवश्यकता पर्ने भएमा सामाजिक विकास मन्त्रालयले सो को आँकलन गरी व्यवस्थापनका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा लेखी पठाउने समितिको निर्णय छ ।

समितिले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोभिड १९ का संक्रमितको प्रभावकारी उपचार गर्न आवश्यक पर्ने चिकित्सक, स्वास्थ्यकर्मी लगायत प्राविधिक जनशक्ति स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग समन्वय गरी यथाशीघ्र पदपूर्ति गर्ने व्यवस्था प्रतिष्ठानले मिलाउने निर्णय गरेको छ ।

कोभिड १९ रोकथामका लागि भिडभाड हुन नदिने, सभा, समारोह, भेला, गोष्ठी र तालिम लगायत कार्यक्रम हुन÷गर्न नदिने व्यवस्था मिलाउन जिल्लाका समितिहरुलाई पत्राचार गर्ने पनि प्रदेश समितिको निर्णय छ ।

तपाईको प्रतिक्रिया