आज गण्डकी प्रदेशको कार्यव्यवस्था बैठक

समाधान संवाददाता २०७८ वैशाख २० गते ७:३३

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले कार्यव्यवस्था परामर्श समितिको बैठक डाकेका छन् ।

१५ वैशाखबाट स्थगित बैठक सुरु गर्न सभामुख अधिकारीले कार्यव्यवस्था परामर्श समितिको बैठक डाकेका हुन् ।

Advertisement

एमाले संसदीय दलका प्रमुख सचेतक मायानाथ अधिकारीका अनुसार सोमबार ११ बजेका लागि बैठक डाकिएको छ । एमाले भने उक्त बैठकमा उपस्थित हुने÷नहुने यकीन छैन ।

मुख्यमन्त्रीसमेत रहेका एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङसँग छलफल गरेर बैठकमा जाने÷नजाने निधो गर्ने अधिकारीले बताए । ‘हामी जाने÷नजाने टुंगो छैन, बैठकभन्दा अघि दलको नेतासँग छलफल गरेर टुंगो लगाउँछौं,’ अधिकारीले भने ।

Advertisement

सभामुख नेत्रनाथ अधिकारीले आइतबारबाट दलहरुसँग छलफल थालेका छन् । स्थगित प्रदेश सभाको बैठक डाक्न उनले दलहरुसँग छलफल थालेका हुन् ।

आइतबार सभामुख अधिकारीले राष्ट्रिय जनमोर्चाका संसदीय दलका नेता कृष्ण थापासँग भेटेका थिए । बिहान ११ बजे सांसद थापा र सभामुखबीच भेटवार्ता भएको थियो ।

भेटमा सभामुख अधिकारीले जनमोर्चाका १५ वैशाखको बैठकमा अनुपस्थित सांसद खिमविक्रम शाहीका बारेमा जानकारी लिएका थिए ।

जनमोर्चाकी सचेतक पियारी थापाले सांसद शाहीको अवस्था अज्ञात रहेको भन्दै निवेदन दिएपछि सभामुखले अविश्वास प्रस्तावमाथिको मतदान प्रक्रिया सुरु नगरी अनिश्चितकालागि बैठक स्थगित गरेका थिए ।

सभामुख अधिकारीलाई राजमो संसदीय दलका नेता थापाले शाही भेटिएको औपचारिक जानकारी गराएका छन् । ‘मैले जानकारी गराएँ, संसद कसरी सुरु गर्ने भन्नेबारे उहाँले दलको राय लिनुभयो,’ सांसद थापाले भने ।

भेटमा सांसद थापाले सदनको गतिरोध रोक्न बैठक यथाशीघ्र छिटो डाक्न अनुरोध गरेकोसुनाए । आफ्नो दलका कारण सदन अनिश्चितकालका लागि स्थगित भएपछि छिटो सुरु गर्न सुझाव दिएको थापाले बताए ।

‘दलको कारण धेरै समय स्थगित भएको छ, अब छिटो सुरु गर्नुस् भनेको छु,’ थापाले समाधानसित भने । सभामुखले छलफलविनै सदन स्थगित गरेको थापाको बुझाइ छ । अर्कोतर्फ राजमोकी सांसद पियारी थापा सांसद हराएपछि खोजीमा लाग्न बैठक स्थगित भएको बताउँछिन् ।

‘कम्तीमा कार्यव्यवस्थाको बैठक राखेर बैठक स्थगित गर्नुपथ्र्यो नि, कि त प्रमुख सचेतकहरुलाई राखेर बुझ्नुपथ्र्यो,’ राजमो संसदीय दलका नेता थापाले भने । सदन स्थगित गर्नेबारे निवेदन दिने बेला सांसद पियारी थापाले दलको कुरा नसुनी निवेदन दिएको उनको भनाइ छ ।

सभामुख नेत्रनाथ अधिकारीले कृष्ण थापासँग छलफल गर्नुअघि कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरलेसँग फोनवार्ता गरेका थिए । ‘सभामुखज्यूले हाम्रा दलका नेतासँग पनि फोनवार्ता गरिसक्नुभएको छ,’ कांग्रेस सांसद कुमार खड्काले भने ।

६० सदस्यीय गण्डकी प्रदेश सभामा एमालेका २७ सांसद छन् । एमालेलाई १ स्वतन्त्र सांसदको साथ छ । कांग्रेसका १५, माओवादीका १२, जनमोर्चाका ३ र जसपाका २ सांसद छन् । अविश्वास प्रस्तावमा ३२ सांसदको साथ छ ।

गण्डकी प्रदेश सभामा कांग्रेस नेतृत्वको विपक्षी मोर्चाले २ वैशाखमा अविश्वास प्रस्ताव पेस गरेका थिए । १५ वैशाखको बैठकको कार्यसूचीमा चढेको अविश्वास प्रस्तावमा मतदान नभई बैठक स्थगित भएपछि सत्ता र विपक्षी पार्टीबीच अविश्वासमा मतदान हुने÷नहुनेमा तर्कवितर्क हुन थालेको छ ।

तपाईको प्रतिक्रिया