तिउरुक्युमा मोटरेबल पुल

समाधान संवाददाता, पोखरा
मादी गाउँपालिकाको सिक्लेस ताङतिङ सडकखण्ड अन्तर्गत तिउरुक्यु खोलामा मोटरेबल पुल बनेको छ ।
गण्डकी प्रदेश सरकारको ५० लाखको लागतमा पुल निर्माण भएको हो । गण्डकी प्रदेश सभा सदस्य मनबहादुर गुरुङले पुल उद्घाटन गरे ।
उनले पुलको निर्माण भएपछि दुबै गाउँका बासिन्दालाई आवतजावतमा सहज हुने बताए । ‘दुबै गाउँलाई जोड्न सडकको मुख्य नदी मादी खोलामा पक्की पुल बन्न सकेको छैन,’उनले भने, ‘मादीको अस्थायी खालको काठेपुल वर्षामा बग्ने खालको छ ।’
उनले ग्रामीण पर्यटनका हिसाबले महत्वपूर्ण दुबै गाउँको समग्र विकासका लागि सडक पूर्वाधार पुल आवश्यक भएको बताए । उनले मादी नदीमा पक्की पुल बनाउन पहल गर्ने प्रतिवद्धता गरे ।
मादी गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङले पुल बनेपछि सडक स्तरोन्नतिका लागि पहल गर्ने उल्लेख गरे । उनले सिक्लेल र ताङतिङबाट पोखरा आउनको लागि सडक पूर्वाधार राम्रो भएपनि अहिलेसम्म दुबै गाउँ जोड्ने स्तरीय सडक बन्न नसकेको बताए ।
उनले दुबै गाउँमा आउन जानका लागि पैदल हिडेर र झोलुङगे पुल तरेर जानुपर्ने बाध्यता अन्त्य भएको दाबी गरे ।
सिक्लेसका बासिन्दा ताङतिङ जाँदा सिल्दुजुरे हुँदै ज्याउँदुको पुल तरेर फेरो बाटो भएर जानु पर्ने थियो ।
अध्यक्ष गुरुङले वार्दी, इदी, सेतीखोला, घट्टेखोला, रुदी दोभान, घ्याराङ खोला, चिप्लीखोला, खिलाङ, मादी, मकैखोला, मदक्युमा १० पक्की पुल बन्दै गरेको जानकारी दिए ।
तपाईको प्रतिक्रिया