सुरक्षित रुपमा बैकिङ सेवा प्रदान गर्न निर्देशन

समाधान संवाददाता २०७८ वैशाख २० गते १८:४०

काठमाण्डाैं, रासस ।

कोरोना संक्रमणलाई ध्यानमा राख्दै विभिन्न जिल्लामा जारी भएको निषेधाज्ञाको पालना गरी सुरक्षित बैकिङ सेवा प्रदान गर्न नेपाल बैंकर्स एशोसिएसशनले सदस्य बैंकलाई निर्देशन दिएको छ ।

विकास बैंकहरुको छाता संगठन डेभलपमेण्ट बैंकर्स एशोसिएशनले सदस्य बैंकलाई निषेधाज्ञा जारी भएका स्थानमा नेपाल राष्ट्र बैंकले दिएको निर्देशनको परिधिभित्र रही सेवा प्रदान गर्न निर्देशन दिएको हो ।

Advertisement

राष्ट्र बैंकको निर्देशनको अक्षरशः पालना गर्दै कर्मचारी तथा ग्राहकको स्वास्थ्यलाई उच्च प्राथमिकता दिई सम्भव भएसम्मका उपाय अवलम्बन गर्न निर्देशन दिइएको एशोसिएशनका अध्यक्ष प्रद्युम्न पोखरेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार सेवा प्रदान गर्न खोलिने बैंकका शाखा तथा वैकल्पिक शाखा खुला हुने समय उल्लेख गरी प्रत्येक दिन बैंकको वेबसाइटमा राख्नुपर्ने, बैंकको प्रधान कार्यालयमा दुई पदाधिकारीलाई सम्पर्क व्यक्ति तोकी नाम, मोबाइल नम्बर र इमेल आइडी एशोसिएशनको सचिवालयमा उपलब्ध गराउने, बैंकको सूचना ग्राहकलाई आदानप्रदान गर्न सम्पर्क व्यक्ति तोक्ने तथा डिजिटल बैंकिङ प्रणालीको उपयोग गर्न ग्राहकलाई आग्रह गर्ने र सम्भव भएसम्मका सञ्चारमाध्यमबाट समेत जानकारी गराउन निर्देशन दिइएको हो ।

Advertisement

एशोसिएशनले ग्राहकलाई सम्भव भएसम्म डिजिटल बैंकिङ प्रणालीको प्रयोग गरिदिनसमेत आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया