कास्कीका ४ पालिकामा नेपाल समूहको छुट्टै कमिटी

समाधान संवाददाता २०७८ वैशाख २१ गते ७:२०

समाधान संवाददाता, पोखरा

नेकपा एमालेको माधव नेपाल समूहले कास्कीमा पालिका कमिटी तथा वडामा कमिटी विस्तार गरेको छ ।

आइतबार भएको जुम भेलाबाट मुक्ति पौडेल अध्यक्ष तथा शुशील बस्नेत सचिव रहेको १ सय २१ सदस्यीय पोखरा महानगर कमिटी गठन भएको हो ।

Advertisement

घननाथ सापकोटा अध्यक्ष तथा दुर्गाबहादुर भुजेल सचिव रहेको मादी गाँउपालिका कमिटी, भरत देवकोटा अध्यक्ष तथा नेत्र सुवेदी सचिव रहेको अन्नपूर्ण गाँउपलिका कमिटी र लालबहादुर परियार अध्यक्ष तथा नारायणप्रसाद पौडेल सचिव रहेको माछापुच्छ«े गाँउपालिका कमिटी घोषणा भएको छ ।

रुपा गाँउपालिकामा भने आन्तरिक तयारी बाँकी रहेकाले छिट्टै कमिटी सार्वजनिक गरिने जनाइएको छ । नेपाल समूहले महानगरका अधिकांश वडामा अध्यक्ष र सचिव घोषणा गरिसकेको छ ।

Advertisement

नेकपा एमाले कास्कीमा नेपाल समूहका अध्यक्ष धनराज आचार्यको अध्यक्षतामा भएको भेलामा नामावली सार्वजनिक गरिएको हो ।

एमाले पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री तुलबहादुर गुरुङले पार्टीलाई नेतृत्व तहवाटै बिधि र विधानविपरीत अगाडि बढाएको दाबी गर्दै कम्युनिष्ट पार्टीको आदर्श, मूल्य र मान्यता बचाउन देशैभर नेकपा एमाले पुनर्गठन गरेको दाबी गरे ।

पार्टी केन्द्रीय सदस्य चूडामणि जंगलीले पार्टीभित्र देखिएको अहंकार र गैरकम्युनिस्ट चिन्तनका कारण लगभग २ तिहाई जनमत प्राप्त पार्टी छिन्नभिन्न हुँदै अधोगतितिर गएको दाबी गरे ।

उनले प्रगतिशील विचार बोक्नेहरुको काँधमा पार्टी बचाउने जिम्मा रहेको उल्लेख गरे ।

भेलाले कोरोना महामारी डरलाग्दो तवरले बढिरहेकोमा चिन्ता व्यक्त गर्दै जनतालाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउन, अस्पतालको क्षमतासहित आईसियु वृद्धि गर्न, अक्सिजन एवं औषधी उपचारको आवश्यक प्रबन्ध गर्न तथा निषेधाज्ञाका कारण जोखिममा परेका गरिब, असहाय, सुकुम्बासी, मजदुरलाई जीवनयापनको व्यवस्था गर्न तिनै तहका सरकारको ध्यान आकृष्ट गरेको छ ।

तपाईको प्रतिक्रिया