मुस्ताङ खण्डमा कालोपत्र

समाधान संवाददाता २०७८ वैशाख २२ गते ७:३२

जिल्लामा भएको निषेधाज्ञा र मुक्तिनाथ मन्दिर बन्दले सडक स्तरोन्नति भने सहज भएको छ

एसके थकाली, जोमसोम

उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना बेनी जोमसोम सडकको मुस्ताङ खण्डमा मंगलबारदेखि कालोपत्र गर्न सुरु भएको छ ।

Advertisement

कालिगण्डकी करिडोरको निर्माणाधीन बेनी जोमसोम ७६ किलोमिटर सडकको मुस्ताङ खण्डमा गरिएको यो पहिलो कालोपत्र हो ।

बेनी जोमसोम सडक खण्ड ४ प्याकेज र जोमसोम कोरला सडक खण्ड ७ प्याकेजमा धमाधम सडक स्तरोन्निति भइरहेको छ ।

Advertisement

चीनसँग सिमाना जोडिएको उत्तरी कोरला नाका जाड्ने यो आयोजनाको मुस्ताङको तल्लो क्षेत्रको कोवाङ खन्तीदेखि कैकु खोलासम्मको १६ किमीमा शर्मा गजुरमुखी जेभीले अस्फाल कालोपत्रे सुरु गरेको प्रोजेक्ट मेनेजर नरेन्द्र न्यौपानेले जानकारी दिए ।

चिसो हावापानी र भौगोलिक विकट मुस्ताङमा आयोजनाले यसअघि कालोपत्रका लागि ल्याब परीक्षणका गर्न केन्द्रमा पठाएको थियो ।

मुस्ताङको सिमाना घासादेखि कोवाङ, खन्ती सम्मको कालोपत्रको लागत ५५ करोड ३० लाख छ ।

कोरोना भाइरसका कारण मुस्ताङका स्थानीय तहमा लकडाउन हँुदा सडक स्तरोन्नति पनि प्रभावित भएको थियो । कोरोना माहामारी केही सहज भएसँगै निर्माण कम्पनीले काम अघि बढाएको थियो ।

कम्पनीले यसअघि ११ किमी चौडा सडकमा कालोपत्र गर्ने तयारी गरे पनि आवश्यक उपकरण जुटाउन समय लागेको जनाएको छ । अहिले यसका लागि आवश्यक जनशक्ति, उपकरण, गिट्टी ,वालुवा र बिटामिनसमेत तयारी रहेको कम्पनीले जनाएको छ ।

निर्माण कम्पनीका प्रोजेक्ट मेनेजर न्यौपानेले भने, ‘सय मिटरमा कालोपत्रको ट्रायल परीक्षण सफल भयो । मौसमले साथ दिएमा १ महिनाभित्रै मुस्ताङ खण्डको १६ किमी अस्फाल कालोपत्र भइसक्छ ।’

आयोजनाको पहिलो प्याकेज शर्मा युनाइटेड, दोस्रो र तेश्रो खण्ड शर्मा गजुरमुखी जेभी र प्याकेज खण्ड सप्तकोशी जलाधार कन्ट्रक्सनले सडक स्तरोन्नतिको जिम्मा लिएका छन् । आयोजनाले बेनी जोमसोम सडकखण्डमा ६० प्रतिशत भौतिक प्रगति भएको जनाएको छ ।

आयोजनाको म्याग्दी खण्डमा बाढी, पहिरो र नदी कटानका कारण सडक स्तरोन्नतिमा कठिनाइ भएको छ । मुस्ताङ प्रवेशद्वारमा कम्पनीले १६ मिटर रक कटिङ गरी सडक चौडा गरिरहेको छ ।

बेनी जोमसोम सडकको चौथो खण्डमा गर्ने भनिएको कालोपत्रको काममा ढिलाइ भएको छ । निर्माण कम्पनीले कोवाङदेखि जोमसोमसम्म गर्ने भनिएको कालोपत्रका लागि आवश्यक उपकरण र जनशक्ति जुटाउन सकेको छैन ।

कोरोनाको दोस्रो लहर फैलिए पनि मुस्ताङमा विकास पूर्वाधारका काम रोकिएका छैनन् । मुक्तिनाथ मन्दिर बन्द हुँदा र यातायातका साधन आउजाउ नहुँदा सडक स्तरोन्नतिको काम भने सहज बनेको छ ।

करिडोर अन्र्तगत जोमसोम कोरला सडक स्तरोन्नतिको काममा ८५ प्रतिशत भौतिक प्रगति भएको आयोजनाले जनाएको छ । जोमसोम कोरला ७ प्याकेजको काममध्ये ३ प्याकेजको काम १ वर्षअघि नै करिडोरलाई हस्तान्तरण भइसकेको छ । यो सडकका ७ प्याकेजमध्ये २ प्याकेजको काम धमाधम भइरहेको छ ।

तपाईको प्रतिक्रिया