सुनसान बन्यो स्याङ्जा

समाधान संवाददाता २०७८ वैशाख २२ गते ७:४८

अर्जुन काफ्ले, स्याङ्जा

कोरोना संक्रमण तीव्र बनेपछि जिल्ला प्रशासन कार्यालय स्याङ्जाले निषेधाज्ञा लागू गरेको छ ।

जिल्लामा कोरोनाको संक्रमण दर बढ्दै गएको र संक्रमण दर न्यूनीकरण गर्ने भन्दै निषेधाज्ञा जारी भएको हो ।

Advertisement

निषेधाज्ञा लागू गरेपछि पुतलीबजार, वालिङ, गल्याङका बजार र सहकारी कार्यालयहरु सुनसान भएका छन् । जिल्लामा कोरोना संक्रमण २ सयभन्दा बढीमा देखिएकाले निषेधाज्ञा लागू गरिएको प्रमुख जिल्ला अधिकारी दीपकराज नेपाल बताउँछन् ।

दोस्रो चरणको कोरोना लहरमा स्याङ्जामा २ सय ६४ जनालाई संक्रमण देखिएको छ ।

Advertisement

जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको समयमा अत्यावश्यक कामबाहेक कुनै व्यक्तिलाई घरबाहिर निस्कन, गोष्ठी, तालिम, सभा, सम्मेलन सेमिनार गर्न निषेध गरेको छ । भीडभाड, सभा, जुलुस र मेला, महोत्सव गर्न तथा खेलकुद प्रतियोगिता आयोजना गर्न पनि रोकिएको छ ।

प्रशासनले एम्बुलेन्स, दमकल, शववाहन, अत्यावश्यक खाद्य सामग्री तथा पशुपंक्षीका दाना, दूध, फलफूल, तरकारी, माछा, मासु, पानी, ग्यास, पेट्रोलियम पदार्थ, निर्माण सामग्री बोकेका सवारी साधनलाई चल्न दिइने जनाएको छ ।

औद्योगिक कच्चा पदार्थ बोकेका सवारी साधन, औषधी तथा स्वास्थ्य सामग्री बोकेका सवारी साधन, अत्यावश्यक सरकारी कामकाजका लागि प्रयोग हुने सवारी, प्रेस तथा सञ्चारकर्मीले प्रयोग गरेका सवारीलाई पनि चल्न दिइएको छ । सिद्धार्थ राजमार्ग हुँदै अन्यत्र जाने यात्रुवाहक सवारी साधनमा निषेधित क्षेत्रमा यात्रु चढाउन र ओराल्न नपाउने व्यवस्था छ ।

तपाईको प्रतिक्रिया