नवनियुक्त प्रदेश प्रमुख किन तानिइन् विवादमा ?

समाधान संवाददाता २०७८ वैशाख २३ गते ७:५९

प्रदेश प्रमुख पदको मर्यादा विपरीत भएको विपक्षी नेताहरुको प्रतिक्रिया

अनिष भट्टराई, पोखरा

गण्डकी प्रदेशकी नवनियुक्त प्रदेश प्रमुख सीता पौडेलले पदभार सम्हालेकी छन् । प्रदेश प्रमुखको कार्यालयमा उनले बुधबार बिहान ११ बजे पदभार सम्हालेकी हुन् । पौडेलले सोमबार साँझै राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिएकी थिइन् ।

Advertisement

सरकारले सोमबार अमिक शेरचनलाई हटाएर पौडेललाई प्रदेश प्रमुख नियुक्त गरेको थियो । माओवादीनिकट शेरचनलाई बर्खास्त गरी एमाले निकट पौडेललाई पद दिइएको हो ।

एमाले निकट प्रदेश प्रमुख आएपछि प्रदेश सभाका विपक्षमाविशेष अधिवेशननै अन्त्य गरिदिने संशय छाएको छ । विपक्षी नेता हरिबहादुर चुमानले विशेष अधिवेशन अन्त्य गर्ने नियतले प्रदेश प्रमुख फेरिएको टिप्पणी गरेका थिए ।

Advertisement

बुधबार पदभार ग्रहण गरेकी पौडेलले पनि यसको छनक दिएकी छन् । समाधानसँगको वार्तामा उनले प्रदेश सभाको गतिरोधको मुख्य जिम्मेवार विपक्षी दल भएको टिप्पणी गरिन् । उनले सभामुखले राजीनामा दिनुपर्ने उल्लेख गरिन् ।

गण्डकी प्रदेशसभा १५ वैशाखमा अनिश्तिकालका लागि स्थगित भएपछि बस्न सकेको छैन । राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही हराएको भन्दै दलकी सचेतक पियारी थापाले निवेदन दिएपछि सभामुखले छलफलबिनै बैठक स्थगित गरिदिएका थिए । अहिलेसम्म प्रदेशसभा कसरी अघि बढ्ने भन्ने निक्र्योल हुन सकेको छैन ।

यो अवस्था आउनुमा सभामुखको दोष रहेको प्रदेश प्रमुख पौडेल बताउँछिन् । प्रदेश प्रमुख पौडेलले सभामुखले छलफल गरी बैठक स्थगित गरेको भए गतिरोध नआउने जनाइन् । ‘कम्तीमा पनि मिलाउनुप¥यो, अहिलेलाई बैठक स्थगित गरौं भनेर सल्लाह गरेको भए यो परिस्थिति आउने थिएन होला नि,’ पौडेलले भनिन् ।

सत्तारुढ एमालेले सभामुखको राजीनामा माग्नुपर्ने बेला आएको उनको भनाइ छ । एमाले सांसदले सभामुखले राजीनामा दिएर सदनलाई निकास दिनुपर्ने बताउँदै आएका छन् । पौडेल पनि सभामुखले समस्या ल्याएकाले राजीनामा माग्नुपर्ने बताउँछिन् ।

‘सभामुखको राजीनामा माग्ने घडी त आइसक्यो त । जिम्मेवारी सबै सभामुखले लिनुपर्छ । कसरी निकास दिने हो, त्यो सभामुखले नै ल्याउनु प¥यो,’ पौडेलले भनिन् ।

हठात् अनिश्चितकालका लागि सभामुखले बैठक स्थगित गर्नुपर्नाको कारण आफूले बुझ्न नसकेको उनले सुनाइन् । ‘सरकारलाई थाहा नदिइकिन कसैलाई थाहा नदिई के त्यस्तो घडी प¥यो कि सभामुखले अनिश्चितका लागि सूचना जारी गरेर लथालिङ पार्ने काम गर्नुभयो ?,’ उनको प्रश्न छ ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध सदनमा टेबुल भएको अविश्वास प्रस्ताव अब निस्क्रियजस्तै भएको उनले दाबी गरिन् । टेबुल भएर मतदानका लागि कार्यसूचीमै चढिसकेको प्रस्तावमा छलफल नभई अनिश्चितका लागि बैठक स्थगित भएपछि अविश्वास प्रस्ताव अब निश्क्रिय जस्तो भएको उनको तर्क थियो ।

‘नियमअनुसार भन्ने हो भने अब अविश्वास प्रस्ताव निश्क्रिय भएको जस्तो अवस्था छ नि त,’ प्रदेश प्रमुख पौडेलले भनिन्,‘छलफल चलिसकेको मतदानमा जान लागेको कुरा एकाएक बन्द गर्दा अब के बुझ्ने त ?’

सदनमा देखिएको गतिरोधमा विपक्षीको पनि हात रहेको उनले टिप्पणी छ । सदन अवरुद्ध हुने काम सत्तारुढ दलले नगरेको र अहिलेपनि सत्तारुढ दल निरन्तरता दिने पक्षमै रहेको उनले जनाइन् । ‘गण्डकी प्रदेश सभा अवरुद्ध गराउने काम त सत्ता पक्षले गरेको होइन । यो अवरुद्ध गराउने काम त प्रतिपक्षीले नै ग¥यो । सत्ता पक्ष त यसलाई कन्टिन्यु गरौं भन्ने पक्षमै छ नि,’ उनले भनिन् ।

आफूले संविधानको परिधिभित्र बसेर प्रदेशमा समन्वय गर्ने बताइन् । प्रदेश सभाको गतिरोध रोक्न समन्वय थाल्ने उनले बताइन् । ‘सदनमा अहिले गतिरोध छ । यसमा म समन्वय गर्नेछु,’ उनले भनिन् ।

गण्डकी प्रदेश सभाका ३ विपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले विज्ञप्ति जारी गर्दै प्रदेश प्रमुख पौडेलको भनाइ भ्रामक र आपत्तिजनक रहेको जनाएका छन् । पौडेलको भनाइले प्रदेश प्रमुख पदको मर्यादा विपरीत भएको पनि विज्ञप्तिमा उल्लेख छ ।

पौडेलले सत्तापक्षको पक्षपोषण हुने गरी अभिव्यक्ति दिएको भन्दै विपक्षी दलले भत्र्सना गरेका छन् । ‘प्रदेश प्रमुखज्यूले दिनुभएको प्रतिक्रिया सर्वथा गलत, भ्रामक छ, संवैधानिक दायराभित्र रहेर विचार अभिव्यक्त गर्न अनुरोध गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ । विज्ञप्तिमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल, माओवादी केन्द्रका सांसद हरिबहादुर चुमान र जनता समाजवादी पार्टीकी धनमाया लामा पोखरेलको हस्ताक्षर छ ।

तपाईको प्रतिक्रिया