मुस्ताङमा महामारीमा धमाधम काम

समाधान संवाददाता २०७८ वैशाख २३ गते ८:१३

५ स्थानीय तह रहेको मुस्ताङमा संघ, प्रदेश र स्थानीय तहका करिब ३ सय विकास योजना निर्माणाधीन छन्

सुन्दरकुमार थकाली, जोमसोम

कोरोना कहरले देशभरको जनजीवन प्रभावित भएका बेला मुस्ताङमा भने पूर्वाधार विकासको काम धमाधम अघि बढेको छ । कोरोनाको दोस्रो लहरले जिल्लाबासीमा आशिंक त्रास फैलिए पनि विकास, निर्माण भने रोकिएको छैन ।

Advertisement

१ वर्ष लामो कोरोना कहरपछि विस्तारै लयमा फर्किदा विकास, निर्माणको कामले गति लिएको थियो । कोरोना महामारी कम हुँदै जाँदा र गर्मीयाम सुरु भएकाले जिल्लामा कामदार भित्रिसकेका थिए ।

५ स्थानीय तह रहेको मुस्ताङमा संघ, प्रदेश र स्थानीय तहका करिब ३ सय विकास योजना निर्माणाधीन छन् । प्रदेश सरकार भौतिक पूर्वाधार विकास कार्यालय मुस्ताङका १४ योजना र खानेपानी, जलस्रोत तथा सिचाइ सबडिभिजन कार्यालयका साना ठूला ३ सय योजना छन् ।

Advertisement

भौगोलिक रुपले विकट मानिएको उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकामा संघीय आयोजना अन्तर्गत लोमान्थाङ ५ को ५ शड्ढयाको आधारभूत अस्पताल र लोमान्थाङ ४ को किम्लिङ युनिफाइट स्कुलको टेन्डर भई ठेक्का सम्झौता हुँदै छ ।

संघीय निर्वाचन क्षेत्र विकास कोषको स्थानीय भौतिक पूर्वाधार साझेदारीको ४ करोड बजेटमध्ये लोमान्थाङमा ६८ लाखको काम भइरहेको छ ।

प्रदेशको सशर्त र समपूरक अनुदानका कार्यक्रम पनि सञ्चालनमा रहेको निमित्त प्रशासकीय अधिकृत सुरेश घिमिरेले जानकारी दिए । लोमान्थाङमा संघ, प्रदेश र स्थानीय तहका ५१ योजनामध्ये ३ दर्जन योजनका काम भइरहेका छन् । स्थानीय उपभोक्ताले जिम्मा लिएका योजना बढी छन् ।

मुस्ताङका ५ वटै तहमा संघ, प्रदेश र स्थानीय तहका ५०÷६० वटा विकास योजनाको काम भइरहेका छन् । राष्ट्रिय योजना आयोगका घरपझोङमा २ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा ४ योजना छन् ।

जोमसोम बजार संरक्षणका लागि बृहत कालिगण्डकी नदी तटबन्ध निर्माणको काम धमाधम भइरहेको छ । तर, आयोगबाटै निर्माण सुरु गरिएको घरपझोङ भ्यु टावर सिंढी बाटोको काम भने रोकिएको छ ।

आयोगको बजेटमा लोघेकर दामोदर कुण्डमा घिलिङ स्कुलको छात्रबास, घमी स्कुलको कक्षाकोठा निर्माण, ढाक्मर नदी तटबन्ध र यारा घारा र ढिमा खेत पर्खाल निर्माणको काम जारी छ ।

आर्थिक वर्ष २०७७÷०७८ मा विनियोजित बजेटको दोस्रो चौमासिक कटेपछि बजेट फ्रिज हुने सम्भावना रहेकाले निर्माणलाई तीव्रता दिइएको हो । वारागुङ मुक्तिक्षेत्र, घरपझोङ र थासाङ गाउँपालिकामा पनि विकास, निर्माणका काम भइरहेका छन् ।

पूर्वाधार विकास कार्यालय मुस्ताङका १४ विकास योजनामध्ये ८ योजनाको काम कोरोना माहामारीका बीचमा रोकिएन । पूर्वाधार विकास कार्यालयको बहुवर्षीय योजना अन्तर्गतका २ सडक पुल र ६ थान सडक योजनाको काम अहिले भइरहेको कार्यालय प्रमुख विष्णु पौडेलले जानकारी दिए ।

थासाङ गाउँपालिकाको धम्पु कोखेठाटी सडक पुल र वारागुङ मुक्तिक्षेत्रको डोल्पा जोड्ने एक्लेभट्टी पाक्लिङ सडक पुलको कामले गति लिएको हो ।

सडक स्तरोन्नतितर्फ घरपझोङ, ठिनी,ढुम्बा र छैरो चिमाङ जोड्ने रिङरोड र उपल्लो मुस्ताङको लोमान्थाङ, सम्जुङ नेचुङ जोड्ने रिङरोड सडकको काम समेत कोरोना माहामारीमा रोकिएन ।

पूर्वाधार कार्यालय अन्तर्गत थासाङको लेते छयो कुञ्जो टिटी ताल सडक र वारागुङ मुक्तिक्षेत्र गापाको कागबेनी झोङ छेङ्गुर मुक्तिनाथ जोड्ने सडक स्तरोन्नतिको कामसमेत जारी छ ।

कार्यालय प्रमुख पौडेलले सडक, पुल, झोलुङ्गे पुल र सडक स्तरोन्नतिका बाँकी ६ योजनाको काम भने जनशक्ति नहुँदा रोकिएको छ । प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गतका ३१ योजनामध्ये थोरैको मात्र काम भएको छ ।

यी योजना ५ लाखदेखि २५ लाखसम्मका छन् । पूर्वाधार विकास कार्यालय प्रमुख पौडेलले कार्यालयको पूर्वाधार विकास योजनाको काम सुरु भए पनि अब कामको गति धिमा हुँदै जाने अनुमान गरे ।

तपाईको प्रतिक्रिया