चाँगुनारायण अस्पतालका ३ डाक्टरले दिए राजीनामा

समाधान संवाददाता २०७८ वैशाख २३ गते २०:२९

रासस, भादगाउ भक्तपुर ।

चाँगुनारायण अस्पतालका मेडिकल सुपरिटेन्डेन (मेस) सहित तीन चिकित्सकले बुधबार राजीनामा दिएका छन् । चाँगुनारायण नगरपालिकाद्वारा सञ्चालित सो अस्पतालका मेसु डा रञ्जीतकुमार दाससहित डा सुलभ केसी र डा जिवेश बास्तोला राजीनामा दिएका हुन् ।

कोरोना भाइरस महामारीको दोस्रो लहर बढेसँगै नगरपालिकाले सो अस्पताललाई कोरोना विषेश अस्पतालमा रुपान्तरण गरेर सञ्चालन गर्ने तयारी गरेको थियो । अस्पतालले अक्सिजनसहित १० शैय्याको कोभिड अस्पताल शुरु गर्न तयारी गरिरहेको अवस्थामा चिकित्सकहरूको राजीनामा आएको हो ।

Advertisement

कोरोना महामारीका बेला चिकित्सकलाई राजीनामा नगर्न आग्रह गर्दा पनि तीनै जनाले राजीनामा दिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्नीप्रसाद अधिकारीले जानकारी दिनुभयो । चिकित्सकहरूले राजीनामा दिए पनि स्वीकृत भने भएको छैन ।

“डाक्टरहरूले राजीनामा दिएका छन् । हामीले उनीहरूलाई यो समयमा राजीनामा दिनु ठिक हैन भन्दै आएका छौँ । राजीनामा स्वीकृत पनि गरिएको छैन”, उहाँले भन्नुभयो ।

Advertisement

मेसु दासले आत्मसम्मानको लागि राजीनामा दिएको बताउनुभयो । उहाँले अस्पतालमा स्वतन्त्रपूर्वक काम गर्ने वातावरण नभएकाले बाध्य भएर राजीनामा दिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “अस्पतालमा स्वतन्त्रपुर्वक काम गर्ने वातावरण छैन । चौतर्फी दबाव आउँछ । निर्णय गर्ने कुनै अधिकार दिएको थिएन । त्यसैले राजीनामा दिएका हौँ ।”

करारका चिकित्सक भन्दै अस्पतालका कर्मचारी र नगरपालिकाका जनप्रतिनिधिहरूले पेल्ने गरेको उहाँले गुनासो गर्नुभयो । नगरपालिकाले अस्पताललाई कोभिड अस्पताल बनाउने निर्णयसँगै नगरपालिका र चिकित्सकबीच सेवा सुविधाको विषयमा मतभेद उत्पन्न भएको थियो ।

चिकित्सकले कोभिडको उपचारको क्रममा करारमा उल्लेख गरिएको भन्दा थप सेवा सुविधा हुनुपर्ने माग गरेका थिए । सो विषयमा पटकपटक छलफल हुँदा नगरपालिकाले नेपाल सरकारले तोकेको सेवा सुविधा उपलब्ध गराउने प्रस्ताव गरेको थियो ।

सोही प्रस्तावमा चिकित्सकले असहमति जनाउँदैँ त्यसभन्दा थप सेवा सुविधा माग गरेका थिए । चिकित्सकको मागका विषयमा बुधबार साँझसम्म नगरपालिकामा छलफल भएको थियो ।

तपाईको प्रतिक्रिया