विकास, समृद्धि, राजनीति र रवीन्द्र

समाधान संवाददाता २०७८ वैशाख २३ गते २०:४८

विकास र समृद्धिलाई अग्रभागमा राख्दै राजनीतिमा क्रियाशील हुने फरक दृष्टान्त रवीन्द्रले देखाएको देखिन्छ ।

प्राडा भरत पहारी

प्रस्थान विन्दु

Advertisement

मुलुकको राजनीति बिग्रहको बाटोमा गइरहेको अवस्थामा विकास, समृद्धि र राजनीतिको विषयमा हामी छलफल गरिरहेका छौं । वास्तवमा हरेक व्यक्ति आत्मकेन्द्रित हुने र आफ्ना स्वार्थहरुमा लिप्त हुने गर्दछ । घटनाहरु सुखद नभएता पनि तिनीहरु अहिलेको समाजका वास्तविकताहरु हुन् ।

संविधान सभाको सदस्यको रुपमा राष्ट्रिय राजनीतिमा क्रियाशील भइरहेको अवस्थामा मुलुकको समग्र अवस्थाप्रति रवीन्द्र गम्भीर भएको र विद्यमान बेथितिलाई अन्त्य गर्न विकास र समृद्धिलाई राजनीतिको लक्ष बनाउनुपर्छ भन्दै अभियान प्रारम्भ गरेको यतिबेला स्मरणनीय छ ।

Advertisement

राजनीतिक वृत्तमा जेलिएको चिन्तन र व्यवहारप्रति संवेदनशील हँुदै रवीन्द्रले नयाँ दिशा दिन खोजेको देखिन्छ ।

सिद्धान्तका व्याख्याहरु र सूत्रहरु महत्वपूर्ण हुन्छन् तर ती सिद्धान्तहरु वास्तविक अवस्थामा घुलन हुन सकेनन् या सिर्जित अवस्थाहरुमा विकास हुँदै गइरहने जीवनशैलीलाई सम्बोधन गर्न सकेनन् भने सिद्धान्तहरु सुन्दर कल्पना मात्र हुनेछन् ।

अहिले देखिएको प्रवृत्ति भनेको जनताको समृद्धिको कुरा गर्ने तर व्यवहारमा पद प्रतिष्ठा र मानमनितोको चाहना राख्ने त्यस्तो नहँुदा असन्तुष्टि र बिग्रहको बाटो हिँड्न हौसिने गरेको पृष्ठभूमिमा विकास र समृद्धिलाई अग्रभागमा राख्दै राजनीतिमा क्रियाशील हुने फरक दृष्टान्त रवीन्द्रले देखाएको देखिन्छ ।

उनले आफ्नो अभियानलाई निरन्तर कायम राखे । संसदमा विकास समितिको नेतृत्व गरे । विकास निर्माणको विषयमा राजनीतिक क्षेत्रको ध्यान आकर्षण गरे । पार्टीहरुका प्रमुख नेताहरुलाई यस विषयमा सोच्न प्रेरित गरे ।

विकास कामहरुको सघन अनुगमन गरे र कामको प्रभावकारिताका लागि सम्बन्धित सबैलाई उत्प्रेरित गरे । विकास र समृद्धिको विषयमा रवीन्द्र अन्तष्करणदेखि संवेदनशील भएको भन्ने कुरा उनले यस विषयमा गहिरो अध्ययन गर्दै पुस्तकसमेत लेखेको बाट पुष्टि हुन्छ । रवीन्द्रले आफूले देखेका, भोगेका, पढेका, सोचेका र गर्न चाहेका विषयहरु समेटेर पुस्तक तयार गरेका थिए ।

विकास, समृद्धि र राजनीतिको अन्योन्याश्रित सम्बन्ध छ । राजनीतिको गन्तव्य नै विकास र समृद्धि हो ।

इतिहासले के भन्छ ?

इतिहास पल्ट्याउने हो भने आदि मानवले सिकार जीवनमा सुखी हुन सिकार गर्ने हतियार र खाना पकाउन आगोको विकास गर्यो । सरल र सहजरुपमा सान्तिपूर्णरुपमा जीवन यापन गर्न प्रयत्नशील भइरह्यो ।

मानव सभ्यताका विभिन्न चरणहरुमा तत तत समयको सुखी र समृद्ध जीवन प्राप्तिका प्रयत्नहरु भइरहे । गोत्र, परिवार तथा नातागोता निर्माण भए । समुदाय, संप्रदाय, राज्य र साम्राज्य निर्माण भए । यी सबै क्रममा त्यति बेलाका शक्तिशालीहरुले सुख र समृद्धिको सपना देखेका थिए ।

सभ्यता अहिले आधुनिक युगमा आइपुगेको छ । ज्ञान विज्ञान र प्रविधिले नयाँ उचाइ प्राप्त गरेको छ । विश्वव्यापीकरणले गर्दा सूचना र प्रविधिमा सबैको पहुँच सम्भव भएको छ ।

करिव ६० लाख वर्षअघि मानव जातिको उत्पत्ति भएता पनि आजको मानव जाति–होमो सेपियन्स करिब २ लाख वर्षअघि पूर्वी अफ्रिकामा भएको र बोधगम्यता र भाषिक विकास करिव ७० हजार वर्षअघि भएको मानवशास्त्रीहरु बताउँछन् (वाइ एन हरारीः२०१४) । प्रकृतिको छनोटको आधारमा वनस्पति र जिवहरु अहिलेको आधुनिक युगमा आइपुगेका छन् ।

मानव जाति आफ्नो ज्ञान र वौद्धिकताले पृथ्वी र प्रकृतिका सिमाहरुलाई पार गर्दै कोषीय संरचनामा गुणात्मक परिवर्तनदेखि आणविक विकास र अन्तरिक्षमा व्यापक हस्तक्षेप गर्ने अवस्थामा पुगेको छ । आधुनिक युगको विकासको क्रममा वनस्पति र जीवहरुको आणुवांशिक संरचनामा नै परिवर्तन हुने अवस्थाले तिनिहरुको विकास प्रकृतिको छनोटको आधारमा सीमित नहुने भएको छ ।

मानव जाति आणुवांशिक परिवर्तनबाट अलौकिक मानवमा प्रतिस्थापित हुने अवस्थामा आइपुगेको छ ।

एकातिर विज्ञान प्रविधिको सिमा व्यापक भइरहेको छ र जीवन र जगतलाई आफु अनुकुल संरचनागत परिवर्तन गर्ने अवस्थामा छ भने अर्कातिर आत्मिक विकासमा आइरहेको संकटले मानव सभ्यताको अस्तित्वमा नै आपद आउने त होइन भन्ने आशंकाहरु उठ्न थालेका छन् विश्वका विभिन्न भागहरुमा विकास भइरहेका कट्टरपंथ, धर्मान्धता, हठधर्मिता, जस्ता प्रवृत्तिहरुले यस्तो आशंकालाई बल पु¥याएको देखिन्छ ।

हाम्रो आफ्नै भौतिक तथा आत्मिक विकास हेर्दा प्रकृतिको सीमाभन्दा बाहिर विज्ञान र प्रविधिको विहंगम विकास कल्पनातित देखिन्छ । भौतिक संरचनाहरुको निर्माणमा भन्दा त्यसबाट प्राप्त हुने आर्थिक लाभ प्रति नीति निर्माताहरुको धेरै चासो देखिने गरेको देखिन्छ ।

समाजमा धैर्य, सहिष्णुता, सहकार्य, समावेशिता, तथा नैतिक आदर्शहरु धुमिल हँुदै गएका छन् भने निहित स्वार्थहरुलाई पूरा गर्न सबै खालका षडयन्त्रहरु हुने गरेका छन् ।

यसबाट मानवजातिको आत्मिक विकासमा संकट आएको भन्नुपर्छ । विश्वका प्रायः सबै देशहरुमा भैरहेका सत्ता संघर्षहरुमा षडयन्त्रहरुनै देखिने गरेका छन । नेपालमा अहिले भैरहेका घटनाहरुलाई यसैको दृष्टान्तको रुपमा लिन सकिन्छ ।

विकासलाई कसरी बुझ्ने ?

चेतना जटिल कुरा हो । हरेक जीवात्माको चेतना हुन्छ । सबै जिवहरुको चेत क्रियाको प्रतिक्रिया दिने तहसम्म सीमित हुन्छ भने मानिसको चेत भने क्रियाको प्रतिक्रिया दिने मात्र होइन त्यसको कारण र परिणामबारे चिन्तन र विश्लेषण गर्ने पनि हो । त्यसैले मानिस विवेकशील प्राणी हो । उसको खुसी र सन्तुष्टि विकास र समृद्धिसँग सम्बन्धित छ ।

विकास र समृध्दिसँग सपनाहरु जोडिन्छन् । सपनाहरु सबैले देख्छन, मुख्य कुरा ती सपनाहरु विपनामा परिणत हुन्छन् की हँुदैन भन्ने हो । वास्तविकतामा ल्याउन सकिने सपनाहरु दिशाहिनताको कारणले मुर्झाउने त होइनन् भन्ने कुरा पनि हो ।

सपना भनेको सुखमय जीवनको कुरा हो, जीवनको खुसीको कुरा हो, सुरक्षा र सान्तिको कुरा हो । यस्तो जीवन प्राप्त गर्ने विधि र प्रक्रिया भनेको विकास हो ।

इतिहासका विभिन्न कालखण्डहरुमा सत्ताधारीहरुले आफू र आफ्नाहरुको सुख र समृध्दिका लागि युध्द विभीषिकाहरु तथा षडयन्त्रहरु गरे । स्रोतहरु संचिति गरे, उपभोग गरे । सत्तामा रहेकाहरुसँग मात्र सम्पत्तिहरु संचित हुँदा सम्पत्तिमा पहुँच नहुनेहरु विभेदमा परे, कष्टसाध्य जीवन जिउन बाध्य भए । विकासको चर्चा गरिरहँदा यो वास्तविकतालाई बिर्सन हुँदैन ।

विकासको सार्वभौम परिभाषा खोज्दा कुनै पनि वस्तु वा व्यक्तिको आकार, चरित्र र विशेषतामा आउने परिवर्तनलाई नै विकास भनिन्छ । परिवर्तन भएको विषय अघिल्लो भन्दा गुणात्मक रूपमा नै फरक हुन्छ र परिवर्तनको यो गति निरन्तर चलिरहन्छ ।

यथास्थितिमा परिवर्तन हुने प्रक्रिया नै विकास हो । यसरी परिवर्तन हँुदै जाँदा सुख, सान्ति, सन्तुष्टि र स्वामित्वको अनुभूति हुने अवस्था सिर्जना हुन्छ र यसलाई समृद्धि भनेर बुझ्ने गरिन्छ ।

विकास र समृद्धि अमूर्त विषय होइन । यसले मानिसको चरित्र र उसमा भइरहने निरन्तर परिवर्तनलाई प्रतिबिम्बित गर्छ र मानिसको विवेक, आकांक्षा र गतिशीलता विकासका आधार हुन् । मानिसका चरित्रहरुको आधारमा विभिन्न दार्शनिकहरुले फरकफरक व्याख्या गरेका छन् ।

पूर्वीय दर्शनले विवेकले नियन्त्रण गर्न सकिने काम, क्रोध, लोभ र मोहले भरिएको प्राणी मानिस हो भन्दछ भने पश्चिमा दार्शनिक अरिस्टोटलले मानिसलाई राजनीतिक प्राणी बताएका छन् । अर्थशास्त्रीहरु निहित स्वार्थ भएको आर्थिक प्राणी हो भनेका छन् मानिसलाई । मानिसका यी सबै चरित्रहरुलाई ध्यान दिन सकियो भने मात्र सकारात्मक परिवर्तन सम्भव हुनेछ ।

विभिन्न क्षेत्रहरुको विकासबारेको बुझाइ फरकफरक हुने गरेका छन् । राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा हुने समग्र परिवर्तनलाई विकास भनेर बुझ्नुपर्छ । तर विकास सम्बन्धी परिभाषा यी क्षेत्रहरु फरकफरक देखिन्छन् ।

राजनीति क्षेत्रले विकास भनेको स्वाधीनता, लोकतन्त्र र त्यसका कार्यविधिहरुमा हुने सकारात्मक परिवर्तन मान्छ भने आर्थिक क्षेत्रले उत्पादनका साधनहरुको उत्पादकत्व, उत्पादन सम्बन्ध र ढाँचामा हुने वृद्धिलाई मान्छ ।

सामाजिक क्षेत्रले विकास भनेको समाजमा धैर्य, सहिष्णुता, सहकार्य, समावेशिता, समन्वय तथा नैतिक आदर्शहरु सकारात्मक भएको अवस्थालाई मान्दछ भने सास्कृतिक क्षेत्रले समाजमा मूल्य, मान्यता र व्यवहारहरु स्थापित भएको अवस्थालाई विकास मान्छ ।

यी सबै परिभाषाहरुको एकीकृत व्याख्याले समाजको अग्रगमनलाई प्रतिनिधित्व गर्छ र विकास भनेको यही हो । राजनीतिको मर्म विकास हो ।
राजनीतिप्रतिको बुझाइ नकारात्मक छ । केही साथीहरु बसेर रमाइलो गरिरहेको बेलामा कुनै एउटा साथीले आफ्नो हितको लागि नानाथरी कुरा गरिरह्यो भने बाँकी साथीहरुले ‘राजनीति नगर है’ भन्छन् ।

कुनै पार्टीका नेता तथा कार्यकर्ताहरु बसेर छलफल गरिरहेको समयमा अलिक बुर्जुग नेताले भनि हाल्छ ‘राजनीति अनेक सम्भावना भएको खेल हो । यहाँ जे पनि हुन सक्छ ।’ मानौं कि राजनीतिमा गर्न हुने र गर्न नहुने भन्ने काम नै हँुदैनन् । एउटा व्यापारीले आफ्नो कारोबार बिग्रिरहेको छ भने साथीहरु र आफन्तसँग भन्ने गर्छ ‘अलिकति राजनीति गरेर व्यापारलाई ठेगानमा ल्याउनु छ ।

‘कुनै झगडा भएको ठाउमा गइयो भने त्यहा भनेको सुनिन्छ ‘राजनीति नगर है हामी सहदैनौ ।’ कुनै चिया पसलमा गफाडीहरुको बीचमा गफ भइरहेको अवस्थामा कसैले भनिहाल्छ ‘धेरै राजनीति नगरौं यार’, मानौ की यो गर्नु हुने काम होइन ।

अर्को प्रवृत्ति पनि सम्वेदनशील छ । कुनै पार्टीका नेताहरु भेट भयो भने उसको विचार सिद्धान्तबारे उसको पार्टीको भनाइ र गराएको बारेमा सुगा रटाइ कुरा गर्छ र अरु कसैको विचार सुन्ने धैर्य देखाउँदैन । उसको दम्भ देखिन्छ । मानिसले यस्ता नेताहरुलाई टाढैबाट ‘ऊ नेता आयो है’ भन्दै हियाउँछन् । नेताहरु पनि सार्वजनिक मिडियामा एकोहोरो र पुष्टि नभएका कुतर्क दिइरहेको देखिन्छन् ।

मानिसहरुको निहित स्वार्थ पूरा गर्ने माध्यमकोरुपमा मात्र सत्ता प्रयोग भइरहेको प्रतित हुन्छ । सार्वजनिक क्षेत्रमा समेत राजनीतिबारे नकारात्मक टिप्पणीहरु भइरहेको देखिन्छ ।

यो विडम्बना हो कि राजनीतिक क्षेत्रमा रहेका नेता तथा कार्यकर्ताहरु विभिन्न मुद्दाहरुमा नीतिगतरुपमा स्वीकार्ने तर विधि र प्रक्रियाहरुमा असहमति र विवादहरु गरिरहने प्रवृत्ति देखिन्छ । आफ्ना निहित स्वार्थहरुमा लिप्त हुने र उही काम आफूले गर्दा ठिक हुने र अर्कोले गर्दा बेठिक हुने देखिन्छ ।

विभिन्न पेसा तथा उद्योग व्यवसायमा रहेकाहरु आफ्ना स्वार्थ पूरा गर्न पार्टीहरुका नेता तथा कार्यकर्ताहरुसँग नजिक हुने र प्रेरित गर्ने, तर त्यस्तो अनुकुलता नहुँदा राजनीति र नेताहरुलाई धारेहात लगाएर गाली गर्ने र राजनीति भनेको फोहरी खेलहो भन्ने टिप्पणीहरु गर्ने गरेको देखिन्छ ।

यी सबै खालका प्रवृत्तिहरुबाट जनस्तरमा समेत नकारात्मक टिप्पणीहरु देखिने गरेका छन् । सहर, गाउँ तथा बस्तीहरु मा दुईचार जना जम्मा हुने बित्तिकै राजनीति र नेताहरुप्रति नकारात्मक टिप्पणीहरु हुने गरेको देखिन्छ ।

यी प्रवृत्तिहरु र टिप्पणीहरु राजनीतिको मर्म अनुरुप छैनन् । राजनीतिले जीवनलाई बदल्ने कुरा गर्छ, समाज बदल्ने कुरा गर्छ । यो सिध्दान्तको कुरा मात्र होइन, मानिसहरुको इच्छा आकांक्षाहरु पूरा गर्ने कुरा हो । आकांक्षाहरु पूरा गर्न वस्तु र सेवाहरु आवश्यक हुन्छ ।

मानिसहरुमा छनोटको स्वतन्त्रता, सामाजिक मर्यादा तथा आफ्ना मुल्य र मान्यताहरुको प्रत्याभूति आवश्यक हुन्छ । समयको गतिसंगै आकांक्षाहरु बदलिरहन्छन । त्यसोहुँदा राजनीति गतिशील प्रक्रिया हो । के भयो भने या के गरियो भने यी आकांक्षाहरु पूरा हुन्छन् ? यक्ष प्रश्न यही हो ।

उत्पादनका साधनहरुको उत्पादकत्व वृद्धि कसरी हुन्छ ? उत्पादित वस्तुहरु र सेवाहरुको वितरण सर्वसुलभ कसरी हुन्छ ? शान्ति, सूरक्षा र सहिष्णुता कसरी स्थापित हुन्छन् ? नैतिक आदर्शहरु कसरी स्थापित हुन्छन् ? यी प्रश्नहरुको समाधान राजनीतिले खोज्ने हो ।

विचार र अभिव्यक्तिहरु सहजरुपमा प्रकट भइरहेका हुन्छन् तर तिनिहरुलाई मानवोचित प्रयोगमा ल्याउन विधि र प्रक्रिया चाहिन्छ । यसलाई प्रविधि भनिन्छ । त्यसो हुँदा राजनीतिसँग प्रविधि अन्योन्याश्रित हुन्छ । वस्तुहरुको उत्पादन तथा वितरण गर्न तत सम्बन्धित पूर्वाधारहरु जरुरी हुन्छ । सान्ति सूरक्षाको लागि भिन्न खालका पूर्वाधारहरुको आवश्यकता हुन्छ ।

सिर्जना र परिवर्तनको लागि शिक्षा तथा सूचनासँग सम्बन्धित पूर्वाधारहरु जरुरी हुन्छ । यी सबै पूर्वाधारहरुको विकास मानिस र मानिस द्वारा गरिने हो । यस्तो काम गर्दा न्यायपूर्ण कसरी गर्ने ? स्रोतहरुको परिचालन कसरी गर्ने ? वस्तुको उत्पादन र वितरणमा हुन सक्ने असन्तुलन र त्यसबाट सृजना हुने विभेदलाई कसरी न्यूनीकरण गर्ने ? यी प्रश्नहरुको समाधान राजनीतिले खोज्ने हो । वास्तविक विकास भनेको यही हो । त्यसैले विकास र राजनीति अन्योन्याश्रित छन् ।

वर्तमान अवस्था र राजनीति

समाजमा गरिबी बढिरहेको छ । सापेक्षित रूपमा गरिबी सबै देशमा हुन्छ । तर, हाम्रो गरिबी त्यस्तो होइन । हाम्रो गरिबी साँझ–बिहान हातमुख जोर्न नै समस्या भएको निरपेक्ष गरिबी हो । देशको जनसंख्याको ठुलो भाग गरिबीबाट पिल्सिएको छ । बेरोजगारी समस्या विकराल छ ।

वार्षिक झन्डै पाँच लाख नयाँ जनसंख्या श्रमबजारमा प्रवेश गर्छन् तर वार्षिक रोजगारीको सिर्जना अधिकतम एक लाखसम्म मात्रै हुने गरेको छ । विद्यमान अर्थ व्यवस्थामा आयात र निर्यातको ठूलो असन्तुलन छ । निर्यातभन्दा आयात करिब १० गुणा हुँदा आर्थिक परनिर्भरता छ ।

नेपाली समाजमा धनी र गरिबबीचको खाडल बढिरहेको छ । यसले गर्दा आर्थिक असमानता व्यापक छ । यी सबै समस्याहरुले गर्दा समाजमा बिग्रहहरु पैदा भएका छन्, असन्तुष्टिहरु देखिएका छन् । यसरी व्यक्त भएका असन्तुष्टिहरुमा विरोधाभास पनि पाइन्छ ।

जनसरोकारका कामहरु स्थानीय तहमानै गर्न गाउँगाउँमा सिंहदरबार पुग्नुपर्छ भनियो, कुशासन र भ्रष्टाचार पनि गाउँगाउँमा पुग्यो भन्न थालियो । यसलाई निराकरण गर्न के गर्नु प¥यो भन्ने कुरामा ध्यान गएको देखिएन । नियम–कानुनको अभाव र अस्पष्टताले काम गर्न सकिएन भनियो तर केकस्ता कानुन भयो भने स्पष्टता हुने हो भन्नेबारे चर्चा गरेको देखिएन ।

कर्मचारीहरुको काम गर्ने तौरतरिका परम्परागत भएकोले समस्या भएको भनियो तर के कसरी काम गर्दा उपयुक्त हुने भन्ने बारेमा ध्यान दिइएन । कर्मचारीतन्त्र अनुत्पादन हुने र नेताहरु सुविधाभोगी र दृष्टिकोण नभएका भनिने तर त्यस्तो अवस्थालाई रुपान्तरित कसरी गर्ने भन्ने विषयमा चर्चा भएको देखिएन ।

समजमा देखिएका सबै बेथितिहरु राजनीतिक संरक्षणमा भइरहेको स्वीकारोक्ति सबैले गर्ने तर शासकीय जिम्मेवारी लिएकाहरु या शक्तिकेन्द्रमा रहेकाहरुले बेथिति हटाउनका लागि पहल नगरेको देखियो ।

विभिन्न क्षेत्रमा रहेका विज्ञहरु समेत सतहि टिप्पणीहरु र मनोगत विश्लेषणहरुमा रमाइरहेको कारणले भ्रमहरु धेरै देखिन्छ । पुष्ट्याइहरु नभएका व्याख्या र विश्लेषणहरुले भ्रममात्र छर्दछन् । यसले विकास र राजनीतिमा प्रतिकुल असर गरेको छ ।

समाजमा विद्यमान हरेक घटनाहरु किन र कसरी घटिरहेका छन् भन्ने कुराको कारणहरुको खोजी गर्ने र तिनिहरुलाई संबोधन गर्दा मात्र यो बेथितिहरु हटाउन सकिन्छ ।

विकास समृद्धि र राजनीति बारे रवीन्द्र

रवीन्द्रले विकास र राजनीतिको बारेमा गंभीर बहस छेडेका छन् । अवको राजनीति न्याय विकास र समृद्धिका लागि हो भन्दै जनताका आधारभूत समस्याहरु समाधान गर्दै आत्मनिर्भर बनाउन जोड दिएका छन् । उनले मानव विकासलाई प्राथमिकतामा राख्नुपर्ने र नेपाली श्रमशक्तिको क्षमता अभिवृद्धि, सशक्तीकरण र प्रतिस्पर्धी बनाउनुपर्नेमा जोड दिएका छन् ।

नेपालको भौगोलिक अबस्थालाई ध्यान दिँदै भूउपयोग र व्यवस्थापन, एकिकृत वस्ति विकास, जनशक्ति उत्पादन, प्रबिधिको विकास र उपयोग, रोजगारी को व्यापक विकास तथा पूर्वाधारहरुको व्यापक विकासमा उनले जोड दिएका छन् ।

ज्ञान र प्रविधिको भूमिकालाई गम्भीररुपमा महसुस गर्दै रवीन्द्रले यस क्षेत्रको क्षमता अभिबृध्दिमा जोड दिएका छन् । विकास भनेको अहिलेको पीडितलाई मात्र होइन, आउदो पीडितलाई समेत प्राकृतिक स्रोत र साधनहरु बचाइ राख्नुपर्छ भन्ने दिगो विकासको सोच रवीन्द्रमा भएको देखिन्छ ।

नेपालको विकासका लागि, विशेष गरी, पूर्वाधार विकासमा रवीन्द्रले जोड दिएका छन् । उनले विद्युत विकास, कृषि क्षेत्रमा यान्त्रिकीकरण गर्न, पर्यटन क्षेत्रको विकास गर्न, सूचना प्रविधिको विकास गर्न तथा द्रुत राजमार्गहरु जस्ता पूर्वाधारहरुमा जोड दिएका छन् । जनताको क्रयशक्ति वृद्धि गर्न उद्यमशीलता विकास गर्नुपर्ने र व्यापक उत्पादन र रोजगारीको लागि औद्योगिक विकास र लगानी वृद्धि गर्न सुझाएका छन् ।

चुरो कुरा के हो ?

मुलुकलाई समृद्ध र जनतालाई सुखी बनाउन राजनीतिक क्षेत्रको सुविचारित पहल र नेतृत्व आवश्यक हुन्छ । सामूहिक पहल र प्रयत्ननै सभ्यता विकासको मुल मन्त्र हो । प्रकृति र समाजमा बहुलता र विविधता हुन्छ, सोही अनुसार बहुल विचारहरु हुन्छन् । यिनीहरुमा अन्तरविरोधहरु हुन्छन् ।

राजनीतिले विज्ञान सम्मत विधिबाट यी अन्तरविरोधहरुको समाधान गर्ने हो । सभ्यताको विकास र समृद्धि भनेको जनताले आफ्ना लागि, आफूले छनोट गरी, आफ्ना आकांक्षाहरुको व्यवस्थापन गर्ने हो । यसलाई नै लोकतन्त्र भनिन्छ ।

मानिसलाई आवश्यक पर्ने वस्तु र सेवाहरु उत्पादन गर्न स्रोतहरु भएर मात्र पुग्दैन, श्रमशक्ति र प्रविधिको प्रभावकारी प्रयोग आवश्यक हुन्छ । एक समयको सिप र ज्ञान तथा प्रविधि अर्को समयमा पुरानो भइसक्छ र समय अनुसारको उपयुक्त उत्पादन दिन सक्दैन । त्यसैले श्रमशक्तिको क्षमता तथा प्रविधिको निरन्तर विकास हुनु पर्दछ ।

अहिलेको युग भनेको ज्ञानको युग हो । विभिन्न पूर्वाधारहरु विकास गर्न तिनिहरुमा अन्तनिहित क्षमताहरुको सुक्ष्म अध्ययन र तिनिहरुको रुपान्तरणका उपयुक्त विकल्पहरु पहिचान गर्नुपर्छ । सतहमा देखिएको विषय या सिद्धान्तको कुरा मात्र गर्दा भ्रम सृजना हुने र विकासको काममा अवरोध हुनेछ ।

जस्तो कि, विज्ञहरुले छलफल गर्दा कुनै पूर्वाधार आवश्यक छ या छैन भनेर छलफल कम गर्ने या गर्दै नगर्ने, तर त्यो पूर्वाधार निर्माणको प्रक्रिया ठिक कि बेठिक भनी बहस हुने र आयोजना माथि नै प्रश्न खडा गरिदिने दृष्टान्तहरु धेरै छन् ।

विकासको कुरा आलोचनात्मक चेतसंग सम्बन्धित छ । यो भनेको कुनै पनि विषयको बुझाइ र गराइमा किन र कसरी भन्ने कुरा खोजिनु पर्छ भन्ने हो । त्यसो गर्दा तथ्यको नजिक पुगिने र निष्कर्ष युक्तिसंगत र विवेकपूर्ण हुनेछ । समाज सामूहिक हितमा अडिएको हुन्छ ।

सामाजिक र सास्कृतिक मुल्य र मान्यताहरु तथा नैतिक आदर्शहरु समाजको अग्रगतिमा लक्षित गरी सामूहिक प्रयत्नबाट विकास गरिएका हुन्छन् । त्यसोहुदा राजनीति तथा अर्थ व्यवस्था सामूहिक हितमा आधारित भएमा मात्र समाज समृद्ध हुन सक्छ । व्यक्तिका हरेक पहलहरु समाजको हित अनुरुप हुनु पर्दछ ।

विकास समृध्दि र राजनीति विषयमा रवीन्द्रको विशिष्ट योगदान थियो र सामाजिक र राजनीतिक क्षेत्रमा क्रियाशीलहरुले समाजको रुपान्तरण गर्न रविन्द्रको दृष्टिकोणलाई आत्मसात गर्नु वान्छनीय देखिन्छ । प्रिय रवीन्द्र, उदाउँदै थियौ, आलोक छर्दै थियौ, अनायास क्षितिजमा हरायौ, तर सधै सम्झनाका तरेलीहरुमा छौं ।

रवीन्द्र अधिकारीको ५२औं जन्म जयन्तीको सन्दर्भमा मिति वैशाख २२ गते आयोजित विचार गोष्ठीमा पहारीद्वारा प्रस्तुत विचार)

तपाईको प्रतिक्रिया