उत्पादनको चिन्ता छैन, सिलिन्डर अभाव

समाधान संवाददाता २०७८ वैशाख २४ गते ८:३४

गण्डकी प्रदेशमा अक्सिजन उत्पादन गर्ने २ उद्योग छन् । बिरामी बढे भएका सिलिन्डरले मागअनुसार पूर्ति गर्न सक्दैन ।

अनुप पौडेल, पोखरा

कोभिड महामारी आउनुअघिसम्म कालिगण्डकी अक्सिजन प्रालि पोखराबाट दैनिक २ सय हारहारी सिलिन्डर अक्सिजन उत्पादन हुन्थ्यो । अहिले दैनिक ४ सय जति सिलिन्डर ग्यास कम्पनीले उत्पादन गरिरहेको छ ।

Advertisement

दोस्रो लहरको कोरोना संक्रमितमा अक्सिजन बढी चाहिए पनि अहिलेसम्म बजारमा अक्सिजनको कमी देखिएको छैन ।

गण्डकी प्रदेशमा सिलिन्डर अक्सिजन उत्पादन गर्ने कम्पनी कालीगण्डकी र पोखरा अक्सिजन प्रालि हुन् । यी दुवै कम्पनी हाललाई कुनै समस्या नभए पनि संक्रमित दर बढिरहे भन्न नसकिने बताउँछन् ।

Advertisement

उत्पादनमासमस्या नहुने तर सरकारले सिलिन्डर व्यवस्थापनमा चासो नदिए बजारमा अक्सिजन अभाव हुनसक्ने उत्पादकको भनाइ छ ।

‘हाम्रो ७ सय जति ग्राहक हुनुहुन्छ । अहिले सबैलाई पु¥याएका छौँ,’ कालिगण्डकी अक्सिजन प्रालिका अध्यक्ष कालिदास बरालले भने, ‘उत्पादन जति पनि हुन्छ । भर्ने भाँडो नै नभए के गर्ने ? प्लास्टिकमा भर्न मिल्दैन ।’

गण्डकी प्रदेशमा ठ्याक्कै कति अक्सिजन सिलिन्डर छ भन्ने यकीन छैन । तर, ५ हजार हारहारीमा सिलिन्डर रहेको अनुमान छ ।

पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, चरक ममोरियल अस्पताल, गण्डकी मेडिकल कलेज, मणिपाल शिक्षण अस्पताल, मेडिप्लस अस्पताल, संक्रामक तथा सरुवा रोग अस्पतालसहित पोखराका प्रायः अस्पतालमा अक्सिजनसहितका संक्रमित हुन्।

कोरोनाको पहिलो लहरमा दीर्घरोगी बढी भए पनि अहिले वयस्क बिरामीसमेत अक्सिजन दिनुपर्ने खालका छन् । पोखराका निजी अस्पताल पनि कोभिडका बिरामीमात्रै राख्न तयार छन् ।

चरक मेमोरियल अस्पतालकी कोभिड फोकल पर्सन मीना थापालेअक्सिजन पर्याप्त उपलब्ध भए अस्पतालमा कोभिडका बिरामीमात्रै राख्न सकिने बताइन् ।

‘अक्सिजन भएन भने बिरामी राख्न सक्दैनौँ । प्रदेश सरकारसँग पनि कुरा भइराखेको छ । अक्सिजन नभए बिरामी राखेर अर्थ छैन । भए अस्पतालभर कोभिडको मात्रै राख्न सक्छौँ,’ उनले सुनाइन् ।

दैनिक ५० देखि ६० सिलिन्डर अक्सिजन खपत भइरहेको थापाले जानकारी दिइन् । चरकमा कोरोना संक्रमितको उपचारका लागि ३७ बेड छुट्याइएकोमा सबै भरिएको छ । सबै संक्रमितलाई अक्सिजन लगाइएको छ । ९ जनाको अवस्था गम्भीर छ ।

सिलिन्डर अक्सिजन उपचारसँगै वर्कसप र हिमाल चढ्न बढी प्रयोग हुन्छ । अक्सिजन उत्पादक कम्पनी पनि अब अन्य ठाउँमा भन्दा अस्पताललाई आफूहरुले प्राथमिकता दिने बताउँछन् ।सिलिन्डरको जोहो गरिदिए बजारमा अक्सिजन अभाव हुन नदिने कालिगण्डकी अक्सिजनका अध्यक्ष बरालले बताए ।

बिरामीलाई चाहिने भएकाले घरमा अक्सिजनका अनावश्यक सिलिन्डर नराख्न उनको आग्रह छ । ‘पैसावाला र अस्पतालले भरी सिलिन्डर दिन भन्छन् ।

१६ हजार डिपोजिट गरेर ल्याएको सिलिन्डर कसैले ३० हजार दिन्छु भने पनि दिएको छैन,’ अध्यक्ष बरालले भने, ‘हामीले बिरामी बचाउनपर्छ, हस्पिटललाई दिने हो । जसरी हुन्छ खाली सिलिन्डर ल्याउनप¥यो, भरिएको दिन्छौँ ।’

५ हजार सिलिन्डर खोज्दै प्रदेश सरकार

गण्डकी प्रदेशका १० जिल्लामा कालिगण्डकी र पोखरा अक्सिजन प्रालिले अक्सिजन पूर्ति गर्छन् । नवलपुरमा भने चितवनकै उद्योगबाट अक्सिजन ल्याइन्छ । कालिगण्डकी अक्सिजनसँग ३ हजार र पोखरा अक्सिजनसँग १५ सय अक्सिजन सिलिन्डर छ ।

त्यसबाहेक सरुवा रोग अस्पतालमा ४१ सहित जिल्लाका अस्पतालमा गरेर ५ सय सिलिन्डर रहेको प्रदेश स्वास्थ्य निर्देशनालयको अनुमान छ । ‘उत्पादनको हिसाबले अहिलेको अवस्था धान्छ । तर, यो पर्याप्त होइन । अझै ५ हजार चाहिन्छ र त्यो भए अस्पताललाई भर्दै दिन सकिन्छ भनेर संघीय मन्त्रालयलाई भनेका छौँ,’ प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले भने ।

संघ सरकारले चीनबाट २० हजार अक्सिजन सिलिन्डर ल्याएर व्यवस्थापन गर्ने तयारी गरिरहेको छ । प्रदेश सरकार केन्द्रकै भरमा बस्दा स्थिति झनै भयावह बन्न सक्ने देखिन्छ । ११ वटै जिल्लामा अक्सिजन प्लान्ट स्थापना गर्न पहल भइरहेको निर्देशक शर्माले बताए ।

अहिले केही जिल्लामा मात्रै अक्सिजन प्लान्ट छ । मनाङ, लमजुङ जिल्ला अस्पताल र मध्यविन्दु जिल्ला अस्पतालमा प्लान्ट स्थापनाका लागि पहल भइरहेको निर्देशक शर्माले बताए ।

तपाईको प्रतिक्रिया