प्रदेश खेलकुद परिषद्को प्रशासनिक भवन

समाधान संवाददाता २०७८ वैशाख २४ गते ९:०२

समाधान संवाददाता, पोखरा

Advertisement

गण्डकी प्रदेश खेलकुद परिषद्ले पोखरा रंगशालामा प्रशासनिक भवनको निर्माण थालिएको छ ।

प्रदेश सरकारको ४० लाख लागतमा स्टील संरचनामा सभाहलसहित ११ कोठाको प्रशासनिक भवन बन्न लागेको हो । गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङले प्रशासनिक भवनको बिहीबार शिलान्यास गरे ।

Advertisement

मन्त्री गुरुङले गण्डकी प्रदेशका ११ जिल्लाका खेलकुदका भौतिक पूर्वाधारहरु र सम्पतिका विषयको प्रदेश सरकारले अध्ययन गरिरहेको बताए ।

‘सबै जिल्लाका खेलकुदका पूर्वाधारहरु सम्पत्तीको खोजविन गरिरहेका छौं,’मन्त्री गुरुङले भने, ‘खेलकुदका संरचना तथा पूर्वाधारको अध्ययन गरी व्यवस्थित ढंगले खेलकुदको विकास गर्ने छौं ।’ उनले जिल्लाका खेलकुदका भौतिक सम्पतिलाई खेलाडी र युवाको उपयोगमा ल्याउने योजनालाई अगाडि सारेको बताए ।

कार्यक्रममा मन्त्री गुरुङले खेलाडीका लागि छात्रावास र मार्सल आर्टकोे सुविधासम्पन्न भवन निर्माणको योजना सुनाए ।

पोखरा रंगशाला भित्र निर्माण भएका पुर्वाधारको उचित उपयोग हुन नसकेकोप्रति लक्ष्य गर्दै मन्त्री गुरुङले भने, ‘यहाँका खेल पूर्वाधारहरु मनोमानी ढंगले चलेका छन भन्ने मैले सुनेको छु । यो खेलाडी उत्पादन गर्ने ठाउँ हो । धनी व्यक्तिको भुँडी घटाउने ठाउँ होइन ।’

उनले विगतमा सामाजिक विकास मन्त्रालयले खेलकुद हेर्ने उल्लेख गर्दै अहिले खेलकुद मन्त्रालय छुट्टै भएकाले खेल क्षेत्रलाई व्यवस्थित विकास गर्न सकिने तर्क गरे । उनले खेलकुदसँगै युवा स्वरोजगार कार्यक्रमलाई समेत व्यवस्थित रुपमा अघि बढाउने प्रतिवद्धता व्यक्त गरे ।

गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तेजबहादुर गुरुङले आगामी तीन महिनाभित्रमा प्रशासनिक भवन निर्माण गर्ने जानकारी दिए ।

नवगठित खेलकुद परिषद्को प्रशासनिक भवनको शिलान्यास हुनु प्रदेशका खेलकुदमा सरोकार राख्ने सबैका लागि खुसीको विषय भएको उल्लेख गर्दै उनले अत्यावश्यक भवन निर्माणपछि परिषद्को काम कारवाहीलाई थप व्यवस्थित बनाउन सहज हुने विश्वास व्यक्त गरे ।

उनले कोभिड १९को प्रकोपमा पनि आवश्यक स्वास्थ्य सुरक्षा सावधानी अपनाएर खेल पूर्वाधार निर्माणलाई अघि बढाउने बताए । कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेशकुमार गुरुङ लगायत खेल पदाधिकारीको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया