हाेला त एमालेमा पुनर्मिलन

समाधान संवाददाता २०७८ वैशाख २४ गते ११:२३

समाधान संवाददाता, पाेखरा ।

जब पर्याे राती तब बुढी ताती भने जस्तै एमालेका नेताहरु संघीय सरकार ढल्ने खतरा बढेपछि पार्टी एकताका लागि कसिएका छन् । तर ठाेस सहमति निस्केकाे छैन् ।

बैशाख २७ गते एमालेका लागि निर्णायक दिन हाे । यही दिन प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासकाे मत लिदै‌छन् । त्यसदिन माधव नेपाल पक्षका सांसदले ओलीकाे पक्षमा मतदान गरेमा सरकार जाेगिन सक्छ अन्यथा सरकार टिक्ने कुनै सम्भावना छैन ।

Advertisement

यस्ताे परिस्थितिमा नेताहरु सकृयताकासाथ जुटेका छन् । ओली र नेपाललाई मिलाउन पार्टीका दाेश्राे तहका नेता मात्र सकृय भएका छैनन्, राष्ट्रपति विद्यादेवी भण्डारीसमेत मध्यरातसम्म संवादमा जुटेकी छन् ।

दुवै पक्षलाई लचिलाे हुन दवाव दिइदैछ । तर काे कति झुक्ने भन्ने कुरा मिल्न सकेकाे छैन । हरेक दिन जसाे एमाले स्थायी कमिटीकाे बैठक बसिरहेकेा छ । आज पनि स्थायी समिति बैठक बस्दैछ । यसअघि दाेश्राे र तेश्राे तहका नेताहरु जुटिरहेका छन् ।

Advertisement

एमालेमा सुरुदेखि नै माधव नेपाल पक्ष र केपी ओली पक्षबीच टकराव नै थियाे । त्यही टकरावकाबीचमा दुनियालाई अचम्म पार्ने गरी अध्यक्ष ओलीले नेकपा माओवादी केन्द्रसँग पार्टी एकतासम्म गर्ने गरी चुनावी तालमेलकाे घाेषणा गरे ।

त्यसबेला माओवादी सुप्रिमाे प्रचण्ड र ओली मिलेर नेपाल समुहलाई पेलेका थिए । केन्द्रीय कार्य समिति सहित पार्टीका अधिकांश कमिटीमा ४० प्रतिशतकाे हिस्सासहित एकता गरेका माओवादी समुह नेपाल समुहलाई पेल्नका लागि प्रयाप्त थियाे ।

त्यसलै प्रदेश सरकार गठन गर्ने बेलामा ओली र प्रचण्ड मिलेर नेपाल समुहलाई पेले र १ ठाउमा पनि मुख्यमन्त्री दिएनन् । संघीय सरकार बनाउने बेलामा पनि दुवै जना मिलेर नेपाल समुह पेलिए ।

त्यही इबी लिएर बसेका माधव नेपालले प्रचण्ड र ओलीकाे सम्बन्ध बिग्रेकाे माैका छाेपेर प्रचण्डलाई साथ दिएर ओलीलाई पेल्न थाले । त्यसका विरुद्ध लागेका ओलीले प्रचण्ड नेपाल दुवै समुहलाई पेलेर एक्लै अघि बढे ।

संसद भ‌ग गरे । चुनाव घाेषणा गरे । त्यसका विरुद्धमा प्रचण्ड नेपाल समुह आन्दाेलनमा गए । कानुनी लडाई लडे । कानुनी लडाईमा प्रचण्ड नेपाल समुहले जिते । त्यसका केही दिन पछि एक अर्काे मुद्दाकाे फैसला गर्दै सर्बाेच्च अदालतले नेकपा एकता भंग गरिदियाे ।

यसपछि फेरि प्रचण्ड अलग र ओली–नेपाल एकै ठाउ हुनु पर्ने अवस्था आयाे । तर पुरानाे रिसइबी कायमै रह्याे र एकले अर्काेलाई सम्मान गर्ने स्थिति बनेन ।

यही परिस्थितिमा पार्टीकाे आधिकारिक लाइन केपी ओलीले चलाउदै आएका छन् भने नेपालले समानान्तर गतिविधि गर्दैछन् । नेकपा एमाले ओलीकाे कब्जामा छ भने पार्टी भत्काउन सक्ने क्षमता नेपालले बाेकेर बसेका छन् ।

यसैकाे परिणाम स्वरुप कर्णाली प्रदेशमा एमालेका सरकार बन्न सकेन । एमालेकै सांसदले फ्लाेर क्रस गरे । याे खतरा जताततै छ । संघीय सरकारदेखि प्रदेश सरकारसम्म सबै गुमाउन सक्ने खतरा बढेकाे बेलामा अन्तिम घडीमा नेताहरु सहमतिका लागि प्रयास गरेका छन् ।

अहिले पनि संवाद जारी छ । नेपाल पक्षले अब माओवादीसँग एकता हुनु अघिकाे स्थितिबाट एमाले अघि बढ्नु पर्ने अडान राखेका छन् भने ओली पक्षले त्याे अडान छाेडेर बिचकाे बाटाेमा सहमति खाेज्दैछन् । यद्यपी ओली र नेपालले औपचारिक रुपमा केही बाेलेका छैनन् ।

एमालेका लाखाैं कार्यकर्ताकाे भविष्य यिनै २ नेताकाे अडान र सहमतिमा अडिएकाे छ । याे अन्तिम र निर्णायक घडीमा सबैकाे प्रतिक्षा र एउटै चासाे छ– हाेला त एमालेमा पुनर्मिलन ।

तपाईको प्रतिक्रिया