गण्डकी सरकारलाई लक्ष्मी हुन्डाईको सहयोग

समाधान संवाददाता २०७८ वैशाख २५ गते ११:२३

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेश सरकारलाई नेपालका लागि हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी हुन्डाईले शुक्रबार स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

सामाजिक विकासमन्त्री नरदेवी पुन मगरलाई लक्ष्मी हुन्डाईका प्रबन्धक भीमसिंह खत्रीले कोरोना उपचारका बेला स्वास्थ्यकर्मीलाई अत्यावश्यक २ हजार सेट पिपिईलगायत स्वास्थ्य सामग्री हस्तान्तरण गरे ।

Advertisement

कोरोना महामारीको दोस्रो लहर सुरु भएसँगै स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीलाई अत्यावश्यक स्वास्थ्य सामग्रीको अभाव हुन नदिन र संक्रमण रोकथाममा मद्दत पुगोस् भनेर हुन्डाई मोटर्स कम्पनी दक्षिण कोरियाको सहयोगमा ५० लाखका स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको प्रबन्धक खत्रीले जानकारी दिए ।

हुन्डाईले गत वर्ष प्रदेश सरकारले स्थापना गरेको कोरोना रोकथाम, नियन्त्रण र उपचार कोषमा १ करोड र ‘फिभर क्लिनिक’ स्थापनाका लागि पनि सहयोग उपलव्ध गराएको थियो ।

Advertisement

कार्यक्रममा सामाजिक विकासमन्त्री पुनले सार्वजनिक तथा निजी संघ, संस्थाको सहयोग र सहकार्यबाट सरकारले नागरिकलाई कोरोनाबाट बचाउने कार्य गर्दै आएको जनाउँदै हुन्डाइ कम्पनीले स्वास्थ्यकर्मीले प्रयोग गर्ने गरी पिपिई सेट उपलब्ध गराएकामा आभार व्यक्त गरिन् । उनले प्राप्त सामग्रीकोसदुपयोग गरिने विश्वास दिलाइन् ।

गण्डकी प्रदेशमा कोरोना संक्रमण वृद्धि भएसँगै अक्सिजन सिलिन्डरको अभाव भएकाले सहयोगी संस्थाबाट सहयोगको अपेक्षा सरकारले गरेको उनले बताइन् ।

उनले भनिन्, ‘गण्डकी प्रदेशमा अक्सिजन प्लान्ट रहे पनि सिलिन्डरको अभाव छ, सरकारको बजेट प्रयोग गरेर खरीद गर्दा लामो प्रक्रियामा जानुपर्ने हुन्छ । त्यसैले तत्कालका लागि सहयोगी संस्थाबाट हामीले सिलिन्डर सहयोगको अपेक्षा गरेका छौँ ।’

मन्त्रालयका सचिव विनोदबहादुर कुँवरले पिपिई सेट आवश्यकताका आधारमा प्रदेशका ११ वटै जिल्लाका स्वास्थ्य संस्थामा खटिएका स्वास्थ्यकर्मीका लागि उपलब्ध गराइने जानकारी दिए ।

मन्त्रालयले प्राप्त स्वास्थ्य सामग्री तत्कालै जिल्लाहरूमा पुग्ने व्यवस्थाका लागि प्रदेश आपूर्ति व्यवस्थापन कार्यालयलाई हस्तान्तरण गरेको छ ।

तपाईको प्रतिक्रिया