खाजा र आइप्याड दिएर यसरी गरे बालकलाई दुराचार

समाधान संवाददाता २०७८ वैशाख २५ गते १७:०२

अमेरिकी नागरिक माइकल नर्मन टेलरको कर्तुत बालकहरुको परिवारलाई थाहा थिएन । बालकहरुले बुझेनन् । स्थानीय प्रशासन, प्रहरी पनि बेखबर थिए । अमेरिकी दूतावासले नै प्रहरीलाई भन्यो

अनिष भट्टराई, पोखरा

अमेरिकी ६२ वर्षीय माइकल नर्मन टेलर २०१८ मा पहिलो पटक नेपाल आए । टेलर २०१८ को अप्रिल दोस्रो साता नेपाल आएका थिए । नेपाल टेक्नेबित्तिकै उनी पोखरा हान्निए ।

Advertisement

पोखरामा मोहम्मद हसिफ (नाम परिवर्तित)ले सञ्चालन गरेको होमस्टेमा बुकिङ गरे । सेप्टेम्बरसम्म पोखरा नै बसे ।

पोखरामा ‘घुम्न’ आएका टेलर प्राय बालबालिकासँग हिँड्थे । बच्चाहरुलाई सामान किनिदिने, मोबाइल चलाउन दिने, खाजा खुवाउने गर्थे । केही पैसा हात लगाएर पठाउँथे ।

Advertisement

यही क्रममा उनले लेकसाइडमा पौडी खेलिरेहका ३ बालक भेटे । कास्कीका जोन आचार्य र कुमार आचार्य र राम आचार्य (सबैको नाम परिवर्तित) सँग पौडी खेल्दा उनको चिनजान भयो । टेलरले ३ बालकलाई चिकन फ्राइड राइस खुवाउन लगे । फेसबुक आइडी साटासाट गरेपछि उनीहरुबीच फेसबुकमा लगातार कुराकानी हुन थाल्यो ।

टेलर बसेको होमस्टेमा पनि २ बालक थिए । अरु बालक ल्याएर सामान किन्ने, पैसा दिने, खाजा खुवाउने गर्ने टेलरको बानी हसिफलाई पनि राम्रो लाग्थ्यो । तर उनलाई ती सामानको आशा थिएन । टेलरसँग हसिफको एउटै आशा थियो । र त्यो हो– आफ्ना दुई बच्चाको अंग्रेजीको ज्ञानमा वृद्धि ।

हसिफले आफ्ना बच्चालाई ती पर्यटकसँग नजिकिन रोकेनन् । तर टेलरले हसिफका छोराहरुलाई खास ख्याल गर्दैनथे । टेलर आफैं ती बालकलाई ‘पिकअप’ गर्न पुगेका थिए ।

टेलरले आचार्यकोख्याल गरेजस्तो गर्थे । आचार्यसँग एकदिन हसिफले सोधे, ‘तिमी कहाँका हौ ? टेलरसँग कसरी चिनजान भयो ?’ जवाफमा आचार्यले पौडी खेल्ने पोखरीमा टेलरलाई भेटेको बताए । आफू कास्कीको नभएको हसिफलाई सुनाए ।

आचार्य दाजुभाइ नै टेलरको प्रलोभनमा परे ।फेसबुकमा कुराकानी गर्दा २०७५ कात्तिकमा टेलरले २ भाइलाई म्यासेज गरे, ‘पौडी खेल्न आऊ ।’ ती दाजुभाइ पौडी खेल्न पुगे । पौडी खेलिसकेपछि टेलरले ३ भाइलाई हसिफले सञ्चालन गरेको होमस्टे लगे । ३ भाइमध्ये पनि टेलरलाई जोनसँग विशेष लगाव थियो ।

होमस्टेमा पुगिसकेपछि टेलरले २ बालकलाई मिठाइ खान दिए । जोनलाई आइप्याड दिए । अमेरिकाबाट नै बालयौन दुराचारको लक्ष्य बोेकेर आएका टेलरलाई त्यो राम्रो मौका लाग्यो । टेलरले नांगै बनाएर आचार्यलाई अप्राकृतिक मैथुन गरे ।

आचार्यलाई आफूमाथि गलत भइरहेको छ भन्ने सुइँको पनि थिएन । बाँकी २ भाइलाई पनि टेलरले उसै गरे ।

टेलरले ती बालकलाई निस्कने बेलामा ५÷५ सय रुपैयाँ दिए । अर्को दिन पनि त्यही होमस्टेमा आउन टेलरले आग्रह गरे । ‘हामीलाई टुमारो टुमारो भन्दै बोलाएको थियो, हामी गएनौं,’ पीडित बालक भन्छन् ।

जोनबाहेक २ बालकसँग उनको सम्पर्क पातलो थियो । टेलरले जोनको मोबाइल नम्बर पनि राखेका थिए । टेलर २०७६ वैशाखमा फेरि नेपाल आए । टेलरले पोखरा आएपछि जोनलाई फोन गरे ।

आफू धम्पुस जान लागेको र जोनलाई पनि लैजान चाहेको बताए । जोनले नाईं भन्न सकेनन् । ३ दिनका लागि जोन टेलरसँग धम्पुस पुगे । त्यहाँ पनि जोनसँग टेलरले पुरानै हर्कत दोहो¥याए । जोनलाई आफूमाथि गलत भएको थाहा थिएन ।

२०७७ चैतमा तेस्रोपटक नेपाल ओर्लेका टेलरले जोनलाई खबर गरे । लेकसाइडको आइरिस पबमा गएर खाजा, रक्सी खुवाए । जोनलाई टेलरले नेपाली बजारमा ३ हजार रुपैयाँ पर्ने घडी उपहार दिए । त्यसबाहेक टेलरले जोनलाई ४ हजार रुपैयाँ पनि दिए ।

टेलरको यो कर्तुत बालकहरुको परिवारलाई थाहा थिएन । बालकहरुले बुझेनन् । स्थानीय प्रशासन, प्रहरी पनि बेखबर थिए ।

अमेरिकी राजदूतावासले प्रहरी प्रधान कार्यालय, काठमाडौंलाई टेलरले पोखरामा दुराचार गरिरहेको हुन सक्ने भन्दै १० चैतमा पत्र काट्यो । त्यसपछि मात्र प्रहरीले टेलरबारे अनुसन्धान अघि बढायो ।

अमेरिकी दूतावासले नेपाल प्रहरीलाई काटेको पत्रमा भनिएको छ, ‘अमेरिकी नागरिक माइकल नर्मन टेलर बालयौन दुराचार गर्न नेपाल आएको देखिन्छ, उसमाथि अनुसन्धान गर्नुहोला ।’

दूतावासले माइकलसँग नजिक भएका बालकहरुबारे पनि जानकारी पठाइदिएको थियो । फेसबुकमा टेलरले गरेका कुराकानी हेरेर दूतावासले ती बालकबारे जानकारी दिएको थियो ।

केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी)को टोली पोखरा आयो । दूतावासले दिएको जानकारी अनुसार ती बालकलाई भेटेपछि सोधपुछ थाल्यो । बालकहरुले आफूसँग भएका घटनाको नालिबेली सुनाए । अनि खुल्यो टेलरले गरिरहेको दुराचारको रहस्य ।

सिआइबीको टोलीले चैत १७ गते उनी बसेको होमस्टेमा छापा मा¥यो । उनको कोठाबाट टडलाफिल नामक औषधी पनि बरामद भएको थियो । यो औषधीले यौन उत्तेजना बढाउने प्रहरीको दाबी छ । टेलर भने आफूले बालकहरुमाथि दुराचार नगरेको दाबी गर्छन् ।

अदालतमा बयान दिँदै टेलरले बालकहरुलाई आफूले चिनेपनि दुराचार नगरेको र आफूले पैसा नदिएको भएर बालकहरुले फसाएको बताए । आफ्नो कोठाबाट भेटिएको औषधी आफूले उच्च रक्तचाप, प्रोस्टेड रोक्न प्रयोग गर्ने गरेको दाबी गरे ।

अदालतले उनलाई कारागार चलान गर्न आदेश गरेको छ । थप प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने गरी उनलाई कारागार चलान गर्न कास्की जिल्ला अदालतले आदेश गरेको हो ।

न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले वैशाख १४ गते उनलाई कारागार पठाउन आदेश दिएको अदालतका सूचना अधिकारी नीलप्रसाद पनेरुले जानकारी दिए ।

तपाईको प्रतिक्रिया