आइसोलेसन चलाउँदै महानगर

समाधान संवाददाता २०७८ वैशाख २६ गते ६:५०
sdr

महानगरले स्वास्थ्यकर्मीसहितको आइसोलेसन सञ्चालन, पिसिआर जाँच पनि गरिरहेको छ

समाधान संवाददाता, पोखरा

कोरोना संक्रमणका बिरामीलाई व्यवस्थापन गर्न पोखरा महानगरपालिकाले आइसोलसन केन्द्र सञ्चालन गर्ने तयारी गरेको छ ।

Advertisement

महानगरपालिकाले वडा नम्बर ५स्थित मालेपाटनको कृषि तालिम केन्द्र र वडा नम्बर ३३ भरतपोखरीको महिला सुरक्षा घरमा आइसोलेसन केन्द्र चलाउन आवश्यक तयारी गरेको कोरोना संक्रमण रोकथाम मुल समितिका सदस्य सचिव किरण कोइरालाले जानकारी दिए ।

महानगरका उपमेयर मञ्जुदेवी गुरुङको संयोजकत्वमा गठन भएको समितिले दुबै स्थानमा तत्काल पूर्ण संख्यामा प्रयोग गर्न सक्ने गरी व्यवस्थापन तथा स्वास्थकर्मी र कर्मचारीको व्यवस्था मिलाउने निर्णय गरेको थियो । मालेपाटनमा ४७ र भरतपोखरीमा ७० जनासम्म बिरामीलाई व्यवस्थापन गर्न सकिन्छ ।

Advertisement

महानगरले वडा नम्बर २१को कृस्ती प्राथमिक स्वास्थ्य केन्द्रमा आइसोलेसन केन्द्र निर्माण गर्ने तयारी गरेको छ ।

कास्की क्षेत्र नम्बर २ अन्तर्गत महानगरको वडा नम्बर २१ कृस्ती–निर्मलपोखरीमा कोरोना संक्रमणको प्रभाव बढिरहेका कारण स्वास्थ्य केन्द्रमा आइसोलेशन निर्माण गर्नका लागि जनस्तरबाट माग भएको थियो ।

पोखरा महानगरपालिका मेयर मानबहादुर जिसी, उपमेयर मन्जुदेवी गुरुङ, वडा नम्बर २१का अध्यक्ष खगराज आचार्यसहित वडाका जनप्रतिनिधि, कर्मचारीको टोलीले स्वास्थ्य केन्द्र निरीक्षण गरेको छ ।

मेयर जिसीले अक्सिजन, आवश्यक समानसहितको आइसोलेसन वार्ड निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे । स्वास्थ्य केन्द्रमा ३ चिकित्सकसहितका स्वास्थ्यकर्मीको दरबन्दी छ ।

नेपाल कम्युनिस्ट पार्टी कास्की नेता झपट रानाभाटले कृस्तीको बयली, मनकामनाटोल, हर्राबोट क्षेत्र र निर्मलपोखरीको फोक्सिङ क्षेत्रमा कोरोना संक्रमणको उच्च जोखिम रहेको बताए ।

‘सबै बिरामी सामान्य अवस्थामा होम आइसोलेसनमा बसेका छन्,’उनले भने, ‘प्राथमिक स्वास्थ्यचौकीमा महानगरले आइसोलेसनको व्यवस्था गरे असामान्य अवस्थाका बिरामीलाई व्यवस्थापन गर्न सहज हुनेछ ।’ उनले विवाह, ब्रतबन्ध लगायतका धार्मिक जमघट बढेका कारण कोरोनाको जोखिम बढेको दाबी गरे ।

होम आइसोलेसनमा बस्न नमिल्ने अवस्थाका बिरामीलाई महानगरले बनाएको आइसोलेसनमा व्यवस्थापन गर्ने जनाएको छ । मेयर मानबहादुर जिसीले समान कोठामा संक्रमित र स्वास्थ्य व्यक्ति बस्नुपर्ने अवस्थामा वा अलग्गै शौचालय व्यवस्था गरी अन्य व्यक्तिसँग घुलमिल नभई बस्न नमिल्ने अवस्थाका व्यक्तिलाई आइसोलेसनको व्यवस्थाका लागि महानगरको स्वास्थ्य महाशाखामा सम्पर्क गर्न अनुरोध गरेका छन् ।

‘आइसोलेसन चलाउन इच्छुक होटलले सम्पर्क गरेमा महानगरले स्वास्थ्यकर्मी खटाई सहयोग गर्ने छ,’मेयर जिसीले भने, ‘पेड आइसोलेसनमा बस्न चाहने व्यक्तिलाई होटलमा स्वास्थ्यकर्मीको निगरानीमा बसी स्वास्थ्यसम्बन्धी परामर्श पाउने छन् ।’

उनले अक्सिजन लगाउँदा बिरामीलाई राम्रो हुने भएतापनि स्वास्थ्यकर्मीको निगरानीबिना अक्सिजनको प्रयोग त्यति राम्रो नहुने उल्लेख गरेका छन् ।

संक्रमित भई घरमै आइसोलेसनमा बसेका बिरामीलाई आवश्यक स्वास्थ्य परामर्शकालागि महानगरको स्वास्थ्य महाशाखामा सम्पर्क गर्न उनले अनुरोध गरेका छन् । कन्ट्रयाक ट्रेसिङको कामलाई समेत महानगरले निरन्तरता दिएको उल्लेख गरे ।

अस्पतालमा हाइफ्लो (तीव्र गतिको) अक्सिजन ग्याँस पाइपसहितको ५० बेड व्यवस्था गरेको छ ।महानगरपालिकाले सञ्चालन गदै आएको कोभिड परीक्षण कार्यलाई निरन्तरता दिएको छ ।

महानगर स्वास्थ्य महाशाखाले हप्ताको ५ दिन सर्वसाधारणको पिसिआर परीक्षण गर्दै आएको छ ।

गत वैशाख २२ गतेदेखि आइतबार पोखरा ५को कृषि तालिम केन्द्रमा, मंगलबार पोखरा २७को लेखनाथ खेल मैदानमा र पोखरा ९को प्रर्दशनी केन्द्रमा सोमबार, बिहीबार र शुक्रबार नियमित रुपमा पिसिआर परिक्षण गरेको महाशाखा प्रमुख हेमन्त शर्मा पौडेलले जानकारी दिए ।

स्वास्थ्य महाशाखाका अधिकृत हरिलाल आचार्यले वडा नम्बर २१, २३ लगायतका परीक्षण गर्दा ४० प्रतिशतमा संक्रमण भेटिएको बताए । महापालिकाले एम्बुलेन्स तथा शववाहनलाई चालु हालतमा राख्ने र अन्य संघ, संस्थाका एम्बुुलेन्स समेत महानगरले सञ्चालन गर्ने र चालक उलपब्ध गराउने निर्णय गरेको छ ।

तपाईको प्रतिक्रिया