दूराचारीको जालो

समाधान संवाददाता २०७८ वैशाख २६ गते ७:१२

सम्पादकीय

गोरो छाला भएको व्यक्ति देख्ने बित्तिकै नेपालीहरु झट्ट विश्वास गरिहाल्छन् । तर गोरो छाला भएकाहरुको मन र व्यवहार कालो हुनसक्ने भन्नेतिर होश राख्न नसक्दा थुप्रै नेपाली ठगिएका छन् वा अपराधको सिकार भएका छन् ।

अमेरिकी नागरिक ६२ वर्षीय माइकल नर्मन टेलरले पनि नेपालीको त्यही सोझोपनाको फाइदा उठाउँदै बालबालिकामाथि अपराध गरेको खुलेको छ । टेलर बालबालिकाहरुसँग साखिल्य पल्टिन्थे ।

Advertisement

बालबालिकाहरु र तिनका अभिभावकले उनीभित्रको राक्षसी अनुहार देख्न सकेनन् । बालबालिका र तिनका अभिभावकको सोझोपनको फाइदा उठाउँदै उनले बालयौन दूराचार गरे ।

बालबालिकाका गोप्य अंगप्रत्यंग छुने र आफ्नो पनि छुन लगाउने गर्दासम्म पनि बालबालिकाहरु हच्चिकिएनन् वा उनको दूराचारी व्यवहारको भेउ पाउन सकेनन् ।

Advertisement

टेलर त्यतिमामात्रै सीमित भएनन्, अप्राकृतिक मैथुनमा उत्रिए । यस्तो हुँदा पनि न अभिभावक न प्रहरी कसैलाई भेउ भयो । तर, उनकै देश अमेरिकाको काठमाडौंस्थित दूतावासले यो पत्तो पायो र नेपाल प्रहरीलाई खबर ग¥यो । टेलर पक्राउ परे । कास्की जिल्ला अदालतको आदेशमा उनी अहिले जेल परेका छन् ।

होमस्टेमा लामो समय बस्न आउनेहरुमध्ये टेलर जस्ता अपराधीहरु पनि हुने गरेका छन् । जसै होमस्टेको अवधारणा आयो, त्यति बेलैबाट यस्ता अपराधी पनि पाहुनाको रुपमा आउन सक्छन् भन्ने होमस्टे सञ्चालकहरुलाई सरोकारवालाहरुले सिकाउनुपथ्र्याे । पर्छ ।

अस्वाभाविक र अनावश्यक व्यवहारप्रति शंका गर्नुपथ्र्याे । गर्नुपर्छ । नचिनेको ठाउँको नचिनेको मान्छेले दुई चार दिने देखाउने मायाप्रेमभित्र ठूलो दुराशय लुकेको हुनसक्छ भनेर पत्तो नपाउनुभन्दा पनि शंकै नगर्ने बानीले थुप्रै नेपाली र बालबालिकाहरुमाथि अपराध हुने गरेको छ ।

टेलर एकजना उदाहरणमात्रै हुन् । होटलमै लामो समय बस्ने पर्यटक अनुहारमा मानिसहरुबाट पनि यस्ता बालयौन दुराचार हुने गरेको छ र यस्ता घटना पोखरामामात्रै दर्जनौंको संख्यामा भएका छन् ।

होमस्टे होस् र होटल वा अपार्टमेन्ट भाडामा दिनेले पाहुनाको व्यवहार र तिनको उद्देश्य, कामकाज निगरानी नगर्ने, लामो समय बस्छ, पैसा तिरिहाल्छ भनेरमात्रै सोच्ने हो भने यस्ता घटना अरु झै दोहोरिन सक्छन् ।

यस्ता बालयौन दुराचारीले नेपालीको सोझोपनाको बारेमा आफ्नै देशमा हुँदा पनि भेउ पाएर नेपाललाई गन्तव्य बनाउने गरेको बेलाबेलाका घटनाबाट उजागर हुँदै आएको छ ।

यस्ता घटनाबाट लिने शिक्षा भनेकै पर्यटक भन्दैमा जोकोहीलाई विश्वास नगर्ने नै हो । बिनाकामकाज र उद्देश्य नेपालमा कोही किन पर्यटक भिसामा बसिरहेको छ भनेर हेर्ने खोज्ने काम अध्यागमन र प्रहरीको हो ।

नेपालको कानुन फितलो देखेरै थुप्रै यस्ता आपराधिक मानसिकता व्यक्तिले भिसा सकिएपछिको आश्रयस्थल नेपाललाई बनाउने गरेका छन् ।

पर्यटक, पर्यटक भनेर जोकोहीलाई पनि नेपालमा सजिलै भिसा दिइहाल्नुभन्दा उसको उद्देश्य र पृष्ठभूमिसमेत बुझेर भिसा दिनेसम्मको प्रक्रियामा देशलाई लैजानुपर्छ । होइन भने थुपै्रखाले अपराधीले नेपाललाई आफ्नो क्रिडास्थल बनाउँछन् । बेलैमा सचेत हुनुपर्छ ।

तपाईको प्रतिक्रिया