‘कारबाही भोग्न तयार छु’

समाधान संवाददाता २०७८ वैशाख २९ गते ८:३१

कुनै पार्टीमा प्रवेश गर्ने योजना पनि होइन, कुनै प्रलोभन पनि होइन । केबल मेरो मन नमानेको मात्र हो । पछि गएर मैले केही पाउने पनि होइन । मैले आफ्नो स्वविवेक प्रयोग गरेको हुँ । कांग्रेसलाई समर्थन गर्न मनले नै नमानेर हो ।

कृष्ण थापा
संसदीय दल नेता, जनमोर्चा गण्डकी

पार्टीले नयाँ सरकारको गठबन्धनलाई सहयोग गर्ने बताइरहँदा तपाईंले हस्ताक्षर गर्न अस्वीकार गर्नुभयो र त्यसको कारण के हो ?

Advertisement

कांग्रेसबाट देशको विकास हुन्छ, समृद्धि आउँछ, जनताको मुक्ति हुन्छ, राष्ट्रियता संरक्षण हुन्छ भन्ने सपना देख्नु वास्तवमा दिवास्वप्न नै हो । म जुन निर्वाचन क्षेत्रबाट विजयी भएँ । त्यहाँ कांग्रेसको शासनकालमा अत्यन्तै ठूलो अन्याय र पीडा मैले खेपेको छु । दर्जनाैं घटनाहरु घटेका छन् । सयौं झुठा मुद्दाहरु छन् । कति साथीहरुले कांग्रेसको यातनाबाट अहिले पनि कष्टकर जीवन बिताइरहनुभएको छ ।

ती कस्ता घटना हुन्, जसले पार्टीको निर्देशन नै उल्लघंन गर्नुप¥यो ?

Advertisement

२०४२ सालमा जैमिनीको जनता माविको घटना, २०४८ सालको जैमिनीको घटना बागलुङको राजनीतिक इतिहासमा कालो दिन हो । जुन दिनले अहिले पनि हामीलाई तर्साईरहन्छ ।

जैमिनी मेला, माघे संक्रान्तिमा लाग्ने धार्मिक मेला हो । त्यो मेलामा ज्ञानेश्वर वैद्यको हत्या भएको थियो । हत्या कसले गरेको भन्ने अज्ञात थियो । त्यही घटनालाई जोडेर मशाल सखाप अभियान चलाइयो । मशालको ४८÷४९ जनालाई झुठा मुद्दा लगाइएको थियो ।

त्यो मुद्दामा पक्राउ परेका हाम्रा साथीहरुलाई ठूलो यातना दिइयो । पैंतालामा पिन कोबियो । पानी माग्दा मुखमा पिसाब फेरियो । हामीले त्यो मुद्दा कांग्रेसकै कारण वर्षौं खेप्नुप¥यो । अहिले पनि कतिप साथीहरुले त्यो मुद्दामा दुख खेपिरहेकै छन् । यस्ता दर्जनौं घटना कांग्रेसका कारणले घटेका छन् ।

जनमोर्चाकै अध्यक्ष चित्रबहादुर केसी बागलुङकै हुनुहुन्छ, यो कुराको ज्ञान उहाँलाई पनि होला ? तर पार्टी नीति नै क्रस गर्नुपर्ने अवस्था तपाईंलाई मात्र किन आयो ?

यो कुराको ज्ञान अध्यक्षज्यूलाई पनि छ । तर, उहाँले अहिले स्थानीय जनताले के भन्छन् ? हामीले खेपेका पीडा के छन् ? हामी के चाहन्छौं भन्ने हेरिदिनु भएन ।

पार्टी नेतृत्वले निर्णय गर्दा जनता र कार्यकर्तासँग जोडिनुभएन । हाम्रा माग अर्कै छन् । हामीलाई समस्या अर्कै छन् । नेतृत्वले लाद्नमात्रै खोज्नुहुन्न, हाम्रा आवाज र बाध्यतालाई पनि सुन्नुहुन्छ भन्ने लागेको थियो ।

संसद छिरेको जनमोर्चा नाकाबन्दीका बेला एक पटकबाहेक सरकारमा गएन र संसदमा पार्टीको निर्देशन विपरीत सांसद उभिएको पनि यो पहिलो पटक हो, तपाईंको प्रतिष्ठामा दाग लाग्यो भन्छ नि नेतृत्व ?

पार्टीको निर्देशन र नीति विपरीत जाने मलाई पनि रहर होइन । म पनि लामो समय त्याग र योगदान गरेरै यहाँसम्म आइपुगेको व्यक्ति हुँ ।

पार्टीको नीतिविपरीत काम भएको यो पहिलो घटना होइन, जनमोर्चामा अन्य घटना पनि छन् यस्ता । यो अवस्था किन आयो भन्ने कुरा पक्कै नेतृत्वले बुझ्ने छ ।

यत्रो वर्ष पार्टीमा गरेको त्याग र योगदानलाई पनि तिलाञ्जली दिएर पार्टी नीतिविपरीत निर्णय गर्दा त सबैभन्दा ठूलो असर त तपाईंलाई नै होला नि ?

एक÷दुई वटा घटनाले राजनीतिक जीवन समाप्त हुन्छ भन्ने मलाई लाग्दैन । राजनीति जीवन जसका निम्ति समर्पण गरें, एउटा घटनालेमात्रै त्यही जीवन सकिएला भन्ने मलाई लाग्दैन ।

तर, पार्टीले अब कारबाही गर्ला, सदस्यबाट पनि निस्कासन गर्छौं भनिरहेको छ नि त ?

कुनै पार्टीमा प्रवेश गर्ने योजना पनि होइन, कुनै प्रलोभन पनि होइन । केबल मेरो मन नमानेको मात्र हो । पछि गएर मैले केही पाउने पनि होइन । मैले आफ्नो स्वविवेक प्रयोग गरेको हुँ ।

पार्टीले कारबाही ग¥यो भने के गर्नुहुन्छ ? एमालेतिर जाने पो हो कि ?

अहिलेको गठबन्धनमा समर्थन नगर्न मलाई ठूलो स्थानीय दबाब पनि छ । त्यसैले गर्दा मैले यो कदम चाल्न बाध्य भएको हुँ । पार्टीले कारबाही गरे भाग्नै पर्ला । तर, अरु पार्टीमा जाने योजना छैन ।

तपाईंको यो कदमलाई सत्ता पक्षसँगको साँठगाँठको रुपमा पनि हेरिएको छ, तपाई बिक्नुभयो भनिएको छ नि ?

औंला उठाउन पाइयो तर न्यायोचित ढंगले हेनुपर्छ । हामीले ३ वर्षसम्म पृथ्वीसुब्बाको सरकारलाई समर्थन गर्दा औंला नउठ्ने, अस्ति २६ गते राजीनामा दिएपछि औंला उठ्नुपर्ने कारण छजस्तो लाग्दैन । हामीले कांग्रेसलाई कम्तीमा २० वर्षसम्म सत्ताभन्दा बाहिर राख्न चाहान्छौं । कम्तिमा कम्युनिस्टहरुको सरकार बनोस् भन्ने चाहन्छौं । त्यसैले यो लाभसँग होइन, सिद्धान्तसँग सम्बन्धित छ ।

वैशाख १५ गते नै मुख्यमन्त्रीको छिनोफानो हुने भनिएको दिन तपाईंकै सांसद खिमविक्रम सम्पर्कविहीन हुनुभयो, पछि सार्वजनिक भयो उहाँ आइसियुमा हुनुहुन्छ, अहिले तपाईंले पार्टी नीति क्रस गर्नु भयो । यसले तपाईंहरुको ‘सेटिङ’ नै हो भन्ने कुरालाई बल पु¥याउँदैन ?

बिरामी भएर हस्पिटलमा जाँदा पनि नियोजित हुने, अर्को निर्णय गर्दा पनि नियोजित नै हुने, यो खास शंकामात्र हो । राजनीतिक भ्रष्टीकरण भएको मुलुकमा शंका गर्नु अस्वाभाविक होइन । तर, त्यस्तो कुनै कारण होइन, मेरो विवेक नमानेको हो ।

पृथ्वीसुब्बालाई बचाउनुपर्छ भन्ने हो कि कांग्रेसलाई बनाउनुहुन्न भन्ने हो तपाईंको मत ?

मूल समस्या कांग्रेसकै हो । कांग्रेसलाई समर्थन गर्न मनले नै नमानेर हो ।

कांग्रेसको ठाउँमा माओवादीको नेतृत्व भए मान्नुहुन्थ्यो ?
के हुन्थ्यो भन्ने कुरा अहिले नभनौं, उधारो कुरा किन गरौं र ? त्यतातिर कुरा नगर्दै राम्रो होला ।

तपाईको प्रतिक्रिया