लेखनाथमा सय बेडको आइसोलेसन निर्माण सुरु

समाधान संवाददाता २०७८ वैशाख २९ गते १२:२८

समाधान संवाददाता, लेखनाथ ।

पोखरा महानगरपालिकाले साविकको लेखनाथ नगरपालिकाको भवनमा एक सय बेडको कोरोना युनिट निर्माण सुरु गरेको छ ।

महानगर अन्र्तगतको शिशुवा अस्पताल मातहत रहने गरी उक्त भवनमा एकसय बेडको कोरोना आइसोलेसन वार्ड निर्माण गर्न लागेको हो ।

Advertisement

आइसोलेसन वार्ड बनाउन महानगरले अक्सिजनको व्यवस्थापन र पाइपलाइनका लागि २५ लाख रुपैयामा बोलपत्र आब्हान गरेको छ ।

भवन बाहिरका केही संरचना परिवर्तन गर्न ८ लाख ५० हजार रुपैयाको अर्को बोलपत्र प्रकाशित गरेको छ । साविक लेखनाथ नगरपालिकाको भवनमा महानगरकै २७ नम्बर वडा कार्यालय बस्दै आएको छ । वडा कार्यालयलाई अन्यत्र सारेर महानगरले जेठको दोश्रो हप्ताभित्र संचालन गर्ने गरी निर्माण कार्यलाई अघि बढाएको हो ।

Advertisement

एकसय बेड राख्न मिल्ने खालको भवन भएकाले महानगरले तत्काल काम शुरु गरेको स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्माले जानकारी दिए । उनले अहिले शिशुवा अस्पताल मातहत रहने गरी कोभिड युनिट संचालन गर्ने र महामारी सकिएपछि अस्पतालकै रुपमा विकास गर्ने गरी कार्य अघि वढाइएको पनि बताए ।

कोभिड युनिटमा चिकित्सकको नेतृत्वमा स्वास्थ्यको टिम खडा गरी संक्रमितको उपचारलाई सहज बनाईने शर्माले बताए । नयाँ संरचना खडा गरेर अघि बढ्न छोटो समय भएकाले उक्त भवनलाई प्रयोगमा ल्याईएको उनले बताए ।

साविक लेखनाथ नगरपालिकाको ३६ रोपनी क्षेत्रफलको उक्त जग्गामा महानगरले यसअघि महानगर अस्पताल र विशिष्टीकृत बाल अस्पताल बनाउने गरी निर्णय गरेको छ ।

कोरोना आइसोलेसन युनिट बन्ने भएपछि वडा कार्यालयले पायक पर्ने ठाँउमा भाडामा घर खोजेको छ । महामारीका बेला आइसोलेसन पनि चाहिएको छ, बनीबनाउ वडा कार्यालय छोडेर भाडामा घर खोज्दै हिड्नु परेको छ, वडा नं। २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङ्गले भने–“अव कार्यकाल सकिन १ बर्ष बाँकी छ, सारै अप्ठ्यारोमा परियो ।” गुरुङ्गले महामारीमा जनता बचाउनु ठुलो कुरा भएको उल्लेख गर्दै, उक्त भवनलाई महामारी पछि महानगर अस्पतालकै रुपमा विकास गर्नु पर्नेमा जोड दिए ।

यता कोभिड युनिटलाई स्वास्थ्य सामाग्री सहयोग गर्ने गरी लायन्स क्लव अफ इन्टरनेशनल ३२५ वि १ ले आर्थिक संकलन अभियान अघि बढाएको छ ।

गण्डकी क्षेत्रका क्लवहरुलाई अभियानमा सहयोग गर्न आब्हान समेत गरेको छ । क्लबले कोभिड कियर बेड र अक्सिजन हाइ फ्लो मेशिन एवं ५० बेड निर्माणका लागि अभियान चलाएको बताएको छ । अभियानमा क्लवका सदस्यहरुले रकम समेत जम्मा सुरु गरेका छन् ।

तपाईको प्रतिक्रिया