मुस्ताङका ३ पालिकामा निषेधाज्ञा

समाधान संवाददाता २०७८ वैशाख ३० गते ७:२७

१ साताका लागि थासाङ, घरपझोङ र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा निषेधाज्ञा

एसके थकाली, जोमसोम

मुस्ताङका ३ स्थानीय तहमा बिहीबार रातिदेखि लागू हुने गरी निशेषआज्ञा जारी गरिएको छ । प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलको अध्यक्षतामा बुधबार बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन समिति (सिसिएमसी)को बैठकले यस्तो निर्णय गरेको हो ।

Advertisement

जिल्लामा कोरोनाको दोस्रो लहर फैलिएको भन्दै यसको रोकथाम तथा नियन्त्रणका लागि १ साताका लागि मुस्ताङको थासाङ, घरपझोङ र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा निषेधाज्ञा जारी गरिएको हो ।

समितिले मुस्ताङ जिल्लामा समेत कोरोना महामारी भयावह बन्दै गएको र यसको रोकथाम तथा न्यूनीकरण गर्ने उद्देश्यले आदेश जारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी जगदीश अर्यालले जानकारी दिए ।

Advertisement

निषेधाज्ञा अवधिभर संक्रमण जोखिम रहेका ३ स्थानीय तहमा अत्यावश्यक सेवाबाहेक सबै क्षेत्र बन्द रहने छन् ।

जिल्ला सिसिएमसीको बैठकले कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै मुस्ताङ भित्रिनेलाई अनिवार्य क्वारेन्टाइन बस्ने प्रतिबद्धता र सुनिश्चिता भएमात्र अनुमति दिने निर्णय गरेको छ ।

कोरोनाको दोस्रो लहरसँगै गत वैशाख ११ देखि बन्द रहेको मुक्तिनाथ मन्दिर जेठ १५ गतेसम्मका लागि बन्द गर्ने सिसिएमसीले निर्णय गरेको छ ।

स्थानीय प्रशासनले कोभिड रोकथाम तथा नियन्त्रणमा प्रभावकारी पहल नगरेको भन्दै नागरिक स्तरबाट आलोचना भएको थियो । मुस्ताङमा बुधबारसम्म सक्रिय कोरोना संक्रमितको संख्या ७६ छ । थासाङमा १६ जना, घरपझोङमा ४५ जना र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा १७ जनामा कारोना संक्रमण पुष्टि भइसकेको छ ।

कोभिडकै कारण १ महिलाले ज्यान गएको छ । मुस्ताङको तल्लो क्षेत्रमा अवस्थित ३ तहमा कोरोना संक्रमण देखा पर ेपनि उपल्लो मुस्ताङमा कोरोना परीक्षण नहुँदा कोरोनाका बिरामी पुष्टि नभएको जिल्ला स्वास्थ्य कार्यालय मुस्ताङले जनाएको छ ।

जिल्लाका स्थानीय तहमा आइसोलेसन स्थापना गरिए पनि अधिकांश बिरामी होम आइसोलेसनमा छन् । यसो हुँदा पलिकाहरुले बनाएका आइसोलेसन खाली छन् । जिल्ला अस्पताल जोमसोममा भने ४ जना कोभिडका बिरामी छन् ।

तपाईको प्रतिक्रिया