इजरायलमा हिंसात्मक झडप, गाजामा इजरायली बमबारी जारी

जेरुसेलम, रासस–एपी
गाजा क्षेत्रबाट इजरायली मूल भूमितर्फ क्षेप्यास्त्र प्रहार भइरहँदा इजरायलभित्रैका अरब र यहूदी समुदायबीच सडकमा हिंसात्मक झडपहरु भएका छन् ।
धेरै वर्षपछि पहिलो पटक देखिएको यस हिंसामा उत्रेका दुबै समुदायले सवारी साधन, रेस्टुराँ र यहूदी प्रार्थनागृह (सिनागग) मा आगो लगाइदिएका छन् । दुबै समुदायको मिश्रित बसोबास रहेको शहर लोडका मेयरले मङ्गलबारको यस हिंसात्मक झडपलाई गृहयुद्ध वा प्यालेस्टिनीको पुनः उदयसँग तुलना गर्नुभयो ।
अरब विज्ञहरु एवं अधिकारवादीहरुले जेरुसेलममा भड्किएको हिंसाका कारण दुबै समुदायबीच हिंसा फैलिएको बताएका छन् । जेरुसेलम घटनाले अर्को गाजा युद्ध निम्त्याउने सम्भावना बढाएको छ ।
बुधबार राति पनि हिंसा पुनः भड्किएको थियो र एकअर्कामाथि प्रतिशोध राखेर आक्रमणहरु भएका थिए । तेल अभिभको बाहिरी इलाकाबाट याममा दक्षिणपन्थी राष्ट्रवादी इजरायलीको ठूलो समूहले अरब व्यक्ति चढेको आशंकामा एउटा कारलाई रोकेर ती व्यक्तिलाई रक्ताम्य हुनेगरी भुइँमा पछारेर बेस्करी कुटपिट गरे । पछि अस्पताल भर्ना गरिएका ती व्यक्तिको स्वास्थ्य अवस्था निकै जटिल रहेको बताइएको छ ।
यसअघि, कालो पहिरनमा उत्रेका इजरायलीले बाट यामकै एउटा अरब व्यक्तिले सञ्चालन गरेको आइसक्रिम पसलका झ्यालका सिसा फुटाइदिएका थिए । अतिवादी यहूदीहरुले टेलिभिजनको प्रत्यक्ष प्रशारणमै “अरबीहरु मर्नुपर्छ,” भन्दै नाराबाजी गरिरहेका थिए ।
उत्तरी शहर टिबेरियाजमा इजरायली झण्डा बोकेका अतिवादीहरुले सम्भवतः अरबी चढेको कारमाथि ढुङ्गामुढा गरिरहेको दृश्य सामाजिक सञ्जालमा राखिएको थियो । इजरायलको च्यानल १३ ले एक जना वरिष्ट प्रहरी अधिकृतलाई उद्धृत गर्दै तटीय शहर अकरमा अरबी व्यक्तिहरुले एक जना यहूदी व्यक्तिमाथि कुटपिट गरेर सख्त घाइते बनाएको खबर प्राप्त भएको जनाएको छ ।
राति अबेर प्रशारण भएको अन्तर्वार्तामा इजरायली राष्ट्रपति रुभेन रिभलिनले देश अहिले गृहयुद्धमा पर्न थालेको बताउँदै नागरिकलाई यस्तो बहुलठ्ठीपन तत्काल रोक्न आग्रह गर्नुभयो ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले यहूदी र अरब दुबै समुदायलाई एकअर्का विरुद्ध आक्रमण नगर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “तपाइँमा रगत उम्लिरहेको होला, त्यससँग मलाई मतलब छैन । तपाइँले कानुन हातमा लिन सक्नुहुन्न ।”
प्रहरीले बुधबार देशका विभिन्न भागमा हिंसात्मक भिडन्तमा सहभागी झण्डै ४०० व्यक्तिलाई गिरफ्तार गरिएको जनाएको छ ।
इजरायलका अरब अल्पसंख्यकले इजरायली राजनीतिमा स्वीकार्यता र प्रभाव बढाउनै लागेको समयमा यस्तो हिंसात्मक घटना भएको छ । इस्लामिक पृष्ठभूमिका अरब पार्टीका प्रमुख मन्सुर अब्बास गत मार्चको चुनावपछि नयाँ सरकार गठनमा राम्रै भूमिकामा देखिनु भएको छ ।
प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको सरकार ढाल्ने गरी निर्माण भएको विपक्षीहरुको गठबन्धनमा अब्बासको पनि मूख्य भूमिका देखिएको छ ।
तर बुधबार एपीसँग कुरा गर्दै अब्बासले हिंसात्मक घटना बढ्न थालेकाले गठबन्धनको विषय अहिले ओझेलमा परेको बताउनुभयो । उहाँले भन्नुभयो, “यदि युद्धबिराम भए हामी नयाँ सरकार गठनका बारेमा फेरि छलफलमा जुट्ने छौं ।” हालैका दिनहरुमा इजरायलमा बसोबास गर्ने अरब नागरिकहरुले जेरुसेलममा प्रहरी दमन बढाइएको र दर्जनौं प्यालेस्टिनी परिवारलाई हटाउने योजना ल्याइएको भन्दै देशव्यापी विरोध प्रदर्शन गरिरहेका छन् ।
इजरायलमा रहेबसेका अरब अल्पसंख्यकले इजरायलको कूल जनसंख्याको झण्डै २० प्रतिशत हिस्सा ओगटेका छन् । उनीहरु मूलतः प्यालेस्टिनी मूलका हुन् । यी समुदायसँग इजरायलको नागरिकता छ र मतदानको अधिकार पनि छ, तर विभिन्न विभेदको सामना गर्नु परिरहेको छ ।
यसैबीच, रमादानको अन्तिम दिनको तयारीमा जुटेका गाजाका प्यालेस्टिनी मुस्लिम समुदाय अहिले इजरायली हवाई कारबाहीको चपेटामा परेका छन् । गाजा क्षेत्रबाट प्यालेस्टिनी विद्रोहीहरुले इजरायलतर्फ एकपछि अर्को क्षेप्यास्त्र प्रहार गरिरहेका छन् भने त्यसको प्रतिशोधमा इजरायलले पनि भिषण सैन्य कारबाही गरिरहेको छ ।
एकअर्काबीच आक्रमणको सिलसिला गत सोमबारदेखि शुरु भएको हो । यसबीचमा इजरायलले हमास लडाकू रहेको भन्दै दुई वटा अग्ला भवन ढालिदिएको छ । उक्त भवनमा निशाना बनाउनुअघि इजरायलले त्यहाँ रहेबसेका सर्बसाधारणलाई भवन खाली गर्न चेतावनी दिएको थियो ।
इजरायली सेनाको भनाईमा सोमबार यतामात्र एक हजार ६०० क्षेप्यास्त्र गाजा क्षेत्रबाट प्रहार गरिएको छ जसमध्ये ४०० वटा गाजा क्षेत्रमै खसेका थिए । इजरायली सेनाले ६०० भन्दा बढी क्षेप्यास्त्र गाजा क्षेत्रमा हमासका लडाकू रहेका ठाउँमा प्रहार गरिएको जनाएको छ ।
हालसम्मको यस आक्रमणबाट ६९ जना प्यालेस्टिनीको मृत्यु भएको छ जसमा १६ जना बालबालिका र ६ जना महिला रहेको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
इस्लामिक जिहाद र हमासले आफ्ना वरिष्ट नेता एवं लडाकूहरु इजरायली हवाई आक्रमणमा मारिएको पुष्टि गरेको छ । जिहादीहरुको आक्रमणमा सात जना इजरायलीको पनि ज्यान गएको छ ।
यसैबीच, संयुक्त राष्ट्रसंघ र इजिप्टले दुबै पक्षबीच युद्धबिरामको प्रयास जारी रहेको जनाएका छन्, तर त्यसतर्फ खासै प्रगति हुन सकेको छैन । इजरायलको च्यानल १२ ले प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको मन्त्रिपरिषदले थप आक्रामक कारबाही गर्न सेनालाई आदेश दिएको जनाएको छ ।
राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गाजा क्षेत्रबाट इजरायलतर्फ अन्धाधुन्ध भइरहेका क्षेप्यास्त्र आक्रमणको निन्दा गर्नु भएको छ । साथै उहाँले इजरायललाई पनि बढीभन्दा बढी संयमता अपनाउन आग्रह गर्नु भएको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायली प्रधानमन्त्रीलाई फोन गरी आत्मरक्षा गर्न पाउने इजरायलको अधिकार रहेको बताउनु भएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले मध्यपूर्वमा तनाब मत्थर पार्ने गरी वरिष्ट कुटनीतिज्ञ त्यसतर्फ पठाइने बताउनु भएको छ ।







फेवातालस्थित तालबाराही मन्दिर पुनर्निर्माण अन्तिम चरणमा
चापाकोटका विद्यार्थीलाई स्टेसनरी
३२ पिन्ट रगत संकलन
म्याग्दीको सौगातः टिमुरका परिकार
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया