मुस्ताङबाट दुई कोरोना संक्रमितको हेलिकोप्टर मार्फत उद्दार

समाधान संवाददाता २०७८ वैशाख ३० गते २०:०६

सुन्दरकुमार थकाली, जोमसोम

कोरोनाको दोस्रो लहरसँगै हिमाली जिल्ला मुस्ताङमा समुदायस्तरमा कोरोना संक्रमणको अवस्था भयावह हुन थालेको छ । पछिल्लो समय मुस्ताङमा १ सय सक्रिय संक्रमित पुग्न लाग्दा जिल्ला अस्पताल जोमसोमबाट ५ जना, वारागुङ मुक्तिक्षेत्र १ बाट १ जना र थासाङ गाउँपालिका ३ बाट २ जनाको रिफर भएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।

मुस्ताङको घरपझोङ, थासाङ र वारागुङ मुक्तिक्षेत्र गाउँपालिका कोरोनाको ‘हटस्पट’ बन्न थालेको हो । बिहीबार जिल्ला अस्पताल जोमसोमबाट कोरोना संक्रमित २ जना बिरामीको हेलिकोप्टर मार्फत उद्दार गरिएको प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलले जानकारी दिइन् ।

Advertisement

उनका अनुसार पछिल्लो १ हप्तामा ६ जना व्यक्तिको मुस्ताङबाट हेलिकोप्टर मार्फत थप उपचारका लागि पोखरा उद्दार गरिएको छ । जिल्ला अस्पताल मुस्ताङका कोभिड—१९ फोकल पर्सन केविन पौडेलले हेलिमार्फत संक्रमित ४५ वर्षीया महिला र ८० वर्षीय पुरुषको पोखरा रिफर भएको बताए ।

मुस्ताङबाट सिम्रिक एअरको अल्टिच्युड हेलिकोप्टरद्वारा अलग÷अलग रुपमा कोरोना संक्रमितको उद्दार गरिएको हो ।

Advertisement

सिम्रिक एअरले कोरोना संक्रमित बिरामीको उद्दार गर्ने उद्देश्यले सुविधा सम्पन्न हेलिकोप्टर परिचालन गरेको छ । सिम्रिक एअरको हेली उद्दार सेवामा अक्सिजनसहित मेडिकल औषधि र स्वास्थ्यकर्मी लगायतको व्यवस्थापन गरिएको छ ।

हिमाली जिल्ला मुस्ताङमा बुधबारसम्म कोरोना संक्रमतिको संख्या ९८ जना पुगेको छ । मुस्ताङको घरपझोङमा ५० जना, थासाङमा २१ जना र वारागुङ मुक्तिक्षेत्रमा २७ व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको सम्बन्धित पालिकाहरुले जनाएका छन् ।

भौगोलिक रुपले विकट र सीमित जनशक्ति रहेको हिमाली जिल्ला मुस्ताङमा कोरोना संक्रमणको जोखिम बढेको जनाउँदै यसको समाधान तथा न्यूनीकरण गर्ने भन्दै जिल्ला प्रशासन कार्यालयले निशेधाज्ञा जारी गरेको छ । जिल्ला बाहिरबाट मुस्ताङ भित्रिने हरेक व्यक्ति अनिवार्य १० दिन क्वारेन्टाईन बस्ने प्रतिबद्धता जनाएपछि मात्र अनुमती दिने जिल्ला सीसीएमसीले निर्णय गरेको छ ।

कोरोनामुक्त उपल्लो मुस्ताङको लोमान्थाङमा स्थानीय बासिन्दालाई कोरोना जोखिमबाट सुरक्षीत रहन जनचेतनामूलक कार्यक्रम गरिएको छ । लोमान्थाङ गाउँपालिकाको स्वास्थ्य शाखाको पहलमा त्यहाँ कार्यरत सुरक्षाकर्मी लगायतको टोलीले कोरोना सर्तकता अभियान सञ्चालन गरेको लोमान्थाङ स्वास्थ्य चौकीकी ईञ्चार्ज पेमा गुरुङले जानकारी दिइन् ।

उनीहरुले स्थानीय बासिन्दालाई कोरोनाबाट बच्न अनिवार्य माक्स र सेनेटाईजरको प्रयोगको साथै भौतिक दुरी कायम गर्ने बिषयमा सुझाएका छन् ।

मुस्ताङमा कोरोना माहामारी समूदाय स्तरमा फैलिएपनि उपल्लो मुस्ताङमा परीक्षण किट तथा जनशक्तिको अभाव हुदा कोरोना परीक्षण नभएको जनाइएको छ । तर ,स्थानीयका अनुसार कोरोना लक्षण भएका बिरामी पर्याप्त भएपनि परीक्षणको पहुँच पुग्न नसकेको हो ।

तपाईको प्रतिक्रिया